काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको आगामी संस्करण ११ दिनपछि सुरु हुँदैछ । एक वर्षअघि यही प्रतियोगिताबाट नेपालका सन्दीप लामिछानेले ब्यावशायीक क्रिकेटमा विश्व यात्राको उडान भरेका थिए । त्यसयता उनी जहाँ जहाँ पुगे, पहिलो रोजाई भएर खेले । क्रिकेट समर्थकको मन जिते, विश्व क्रिकेटमा उदयीमान स्टारको छाप बसाले ।
दिल्ली डेयर डेभिल्सले गत आईपिएलको आफ्नो १२ औँ खेलमा मात्र सन्दीपलाई अवसर दियो जतिबेला यो टोली दोस्रो चरण नपुग्ने निश्चित भइसकेको थियो । लिगका तीन खेल सन्दीपलाई पर्याप्त रह्यो विश्व क्रिकेटको मन जित्न । ती खेलमा सन्दीपले किफायती बलिङ गरे अनि मुख्य बलरको पहिचान बनाए ।
आइपिएलपछि क्यारेबियन प्रिमियर लिग, क्यानडाको ग्लोबल टीट्वेन्टी, टी–टेन अनि अफगानिस्तान प्रिमियर लिग खेल्न पुगेका सन्दीपले खेलेका पछिल्ला तीन व्यावसायिक प्रतियोगिता हुन् बंगलादेश प्रिमियर लिग, बिग बास लिग र पाकिस्तान सुपर लिग । पाकिस्तान सुपर लिगमा सन्दीप आबद्ध लाहोर क्वालान्डर्सको यात्रा सोमबार सकिएसँगै अब उनी आइपिएल खेल्न भारत पुग्नेछन् ।
तर सन्दीप यस्तो बेला भारत पुग्न लागेका छन् जतिबेला उनले पहिलो रोजाइमा मौका पाउलान् त भन्ने आशंका बढेको छ । यसबीचका अधिकांश प्रतियोगितामा उत्कृष्ट बलिङ इकोनोमी र विकेट लिन सक्ने क्षमताका कारण सन्दीप पहिलो रोजाइमा मात्र पर्दैन थिए बरु हरेक प्रतिद्वन्द्वी टोली र ब्याट्सम्यानका लागि टाउको दुखाई बन्थे ।
बिग बास लिगका कारण पीएसएलमा सुरुका तीन खेल गुमाएका सन्दीपले यस प्रतियोगितामा कुल सात खेल खेले । यी खेलमा उनले ११ विकेट लिए । पहिलो चरणमा सर्वाधिक विकेट लिने बलरको सूचीमा सन्दीप पाचौँ स्थानमा रहे । प्रतियोगितामा २४ ओभर ४ बल बलिङ गरेका सन्दीपले १८९ रन खर्चिए । प्रतियोगितामा उनको बलिङ इकोनोमी ७.६६ रह्यो ।
उनले सोमबार मुल्तान सुल्तानविरुद्ध भएको खेलमा २ ओभर चार बलमा २८ रन खर्चिए । उनले विकेट लिन सकेनन् । दुईदिन अघिमात्र भएको खेलमा सन्दीपले इस्लामावाद युनाइटेडविरुद्ध चार ओभरमा ४६ रन खर्चिएर एक विकेट हात पारेका थिए । क्वेटा ग्लाडियटर्सविरुद्धको खेलमा सन्दीपले चार ओभरमा १० रन खर्चिएर चार विकेट हात पार्दै खेल जिवनकै सर्वोत्कृष्ट बलिङ गरेका थिए ।
पीएसएल खेल्न आउनुअघि बिग बासमा मेलबर्न स्टार्सलाई उपविजेता बनाउन महत्वपुर्ण भूमिका खेलेका सन्दीपले त्यहाँ ८ खेलमा ११ विकेट लिएका थिए भने उनको बलिङ इकोनोमी ६.५७ थियो । सुरुका चार खेलमा ८ विकेट लिएपछि सन्दीप बिग बास छाडेर पूर्व सम्झौताअनुसार बंगलादेश प्रिमियर लिग (बिपिएल) खेल्न आएका थिए ।
बिपिएलमा उनले केवल ६ खेल खेलेपछि राष्ट्रिय टोलीका लागि प्रतियोगिता बीचमै छाडे । बिपिएलमा सन्दीपले ६ खेलका २४ ओभरमा १३६ रन खर्चिएर चार विकेट लिएका थिए । त्यहाँ उनको बलिङ इकोनोमी ५.६६ रह्यो । प्रतियोगिताको एक खेलमा उनले चार ओभरमा १६ रन खर्चिएर दुई विकेट लिनु नै त्यहाँ उनको ‘बेस्ट बलिङ फिगर’ रह्यो । राष्ट्रिय टोलीका लागि खेलिसकेर पुन बिग बास खेल्न गएका सन्दीपकै प्रदर्शनमा मेलबर्न स्टार्सले सेमिफाइनल यात्रा तय गर्यो ।
उनले लिग चरणको अन्तिम खेलमा ११ रन खर्चिएर ३ विकेट लिएका थिए। फाइनलमा उनले चार ओभर बलिङ गर्दै १६ रनमात्र खर्चिए पनि मेलबर्न स्टार्सले सामान्य लक्ष्य पनि पुरा गर्न सकेन । व्यावसायिक अन्तर्रा्ष्ट्रिय क्रिकेट प्रतियोगितामा सन्दीपको टिम च्याम्पियन बन्ने सपना अझै पूरा भएको छैन । अब यसका लागि उनले आइपिएललाई लक्ष्य बनाउने छन् ।
अघिल्लो आईपिएलमा सन्दीपले तीन खेलका १२ ओभरमा ७२ रन खर्चिएर लिएको पाँच विकेटले उनलाई यसपटक दिल्ली क्यापिटलले सुरुदेखि नै महत्वपुर्ण हतियारका रुपमा स्वीकार गर्ने निश्चित छ । दिल्ली क्यापिटलले यसपटक आइपिएलको पहिलो खेल २४ मार्चमा मुम्बई इन्डियन्सविरुद्ध वांखेडे रंगशालामा खेल्ने छ ।
सत्यपाटी - ।