सूचनाको शक्ति - The Power Of Information

        

अस्पतालमा उपकरण अभाव

जाजरकोट । जाजरकोट अस्पतालमा डिजिटल एक्सरे नहुँदा दैनिक उपचारमा समस्या भएको छ । बिरामीलाई तत्काल सेवा प्रवाह गर्नका लागि र रोग पत्ता लगाउन डिजिटल एक्सरेको आवश्यकता पर्ने भए पनि जाजरकोट अस्पतालमा सो नहुँदा दैनिक समस्या भएको जाजरकोट अस्पतालका प्रमुख राजेन्द्र लामाले बताए ।

पचास श्ययाको अस्पतालको स्तरोन्नतिसँगै बिरामीको चाप बढे पनि सोअनुसारको सामग्री नहुँदा उपचारमा समस्या आउने गरेको छ । अस्पतालमा चिकित्सक भए पनि उपकरणको अभावमा भने जति सेवा प्रवाह गर्न नसकिएको उनको भनाइ छ । उपचारमा आएकामध्ये ७० प्रतिशत बिरामीको एक्सरे गर्नुपर्ने अवस्था भए पनि पुराना र छिटो, छरितो सेवा प्रवाह गर्न सक्ने खालका उपकरण नहुँदा समस्या भएको अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले बताइन् ।

विसं २०२७ मा निर्माण भएका पुराना भवनमा सेवा दिँदा समस्या भएको अध्यक्ष बस्नेतको भनाइ छ । ‘डिजिटल एक्सरे भएमा बिरामीलाई तत्काल समस्या पत्ता लगाउन सकिन्छ र अन्य एक्सरेभन्दा स्पष्ट देखिने गर्छ,’ अस्पतालका प्रमुख लामाले भने । भिडियो एक्सरे भए पनि पुरानो भएकाले काम गर्दा समस्या आउने गरेका अस्पताल प्रशासनले बताएको छ । त्यस्तै सुत्केरी सेवा दिनका लागि पर्याप्त ठाउँ नहुँदा सास्ती हुँदै आएको छ । ठाउँठाउँमा चिरा परेको पुराना भवनमा सेवा प्रवाह गर्दा गाह्रो भएकोे अध्यक्ष बस्नेतले बताइन् ।

भवनकै अभावमा चिकित्सकलाई राम्रो आवासको व्यवस्था गर्न सकिएको छैन् । जाजरकोट अस्पतालको फार्मेसी सेवा प्रभावकारी नहुँदा दुःख पाएको बिरामीले बताएका छन् । औषधि बिक्री भएको रकमसमेत नियमित जम्मा नहुँदा र जसलाई चाहिन्छ, उसैले लिने गरेको पाइएको छ । तीन वर्षअघि टिकट काटेको रकम अहिलेसम्म अस्पतालको खातामा जम्मा हुन सकेको छैन । अस्पतालबाट उठेको रकम बैंकिङ प्रणालीमार्फत् जम्मा भई काम हुनुपर्नेमा जसले टिकट काट्छ, उसले नै व्यक्तिगत रुपमा चलाउँदा दुरुपयोग भएको हो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार ११:१४