सूचनाको शक्ति - The Power Of Information

        

इथियोपिया विमान दुर्घटनामा गोरखाकी एकता अधिकारीको मृत्यु

काठमाडौं । इथियोपियाको राजधानी अडिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको इथियोपियन एयरलाइन्सको बोइङ ७३७–८ म्याक्स विमान दुर्घटना हुँदा मृत्यु हुने १५७ जनामध्ये एक नेपालीको परिचय खुलेको छ ।

उनी गोरखा घर भई इथियोपियाको विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) मा कार्यरत एकता अधिकारी रहेको भनी जानकारी आएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । अधिकारीको परिवारका निकट सदस्यले पनि यसको पुष्टि गरेका छन् ।

उनी नैरोबीमा हुने डब्लुएफपीको एक बैठकका लागि जाँदै थिइन् । उनी सन् २०१८ को सेप्टेम्बरमा इथियोपिया गएकी हुन् । उनी नेपाल र पपुवा न्युगिनीसहित झण्डै चार वर्षदेखि डब्लुएफपीमा कार्यरत थिइन् । इथियोपियन एयरलाइन्सले यात्रु सूचीमा रहेको नाम र राष्ट्रियता हेरी नेपाली दूतावासलाई जानकारी गराएको थियो ।

इथियोपियामा नेपाली दूतावास छैन । इजिप्टको कायरोस्थित दूतावासले इथियोपिया पनि हेर्ने गर्छ । अधिकारी सेप्टेम्बर २०१८ देखि इथियोपियामा कार्यरत थिइन् । झण्डै चार वर्षदेखि डब्लुएफपीमा कार्यरत उनी हाल अदिसअबाबामा सप्लाई चेन अफिसर थिइन् । इथियोपियन एयरलाइन्सको विमानमा चालक दलका ८ सदस्य र १४९ जना यात्रु सवार थिए ।

विमानमा ३५ देशका नागरिकहरु रहेको एयरलाइन्सले जनाएको छ । इथियोपियन एयरलाइन्सले मृतकका आफन्तहरुलाई दुर्घटनाबारे जानकारी गराइसकेको बताएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुको शव पहिचानका लागि फरेन्सिक इन्भेस्टिगेसन गरिने र पहिचान भइसकेपछि शव परिवारलाई बुझाइने एयरलाइन्सले जनाएको छ ।

राष्ट्रसंघका महासचिवद्वारा समवेदना

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले विमान दुर्घटनामा राष्ट्रसंघका कर्मचारी परेकोमा परिवारजनप्रति समवेदना दिँदै ट्विट गरेका छन् । त्यसैगरी डब्ल्युएफपीका प्रमुख डेभिड बिस्लीले पनि आफ्ना स्टाफको मृत्यु भएकोमा शोकमा रहेको बताएका छन् ।

‘चालकले समस्या भयो भनेका थिए’

इथियोपियन मिडियामा आएको समाचार अनुसार विमानका चालक यारेड गेटाच्युले बोले अन्तर्रा्ष्ट्रिय विमानस्थलको एटिसीलाई विमानमा समस्या रहेको जानकारी गराएका थिए । चालकले विमान फर्काएर अवतरण गराउन अनुमति मागेपछि एटिसीले क्लियरेन्स दिएको केही समयमा नै विमान राडारको सम्पर्कबाट बाहिर भएको थियो ।

दुर्घटना भएको विमान बोइङको नयाँ मोडलको विमान रहेको र चार महिनाअघि मात्रै डेलिभरी दिएको थियो । यो विमान अहिलेसम्म १२ सय घण्टामात्रै उडेको थियो । यही मोडलको लायन एयर विमान पाँच महिनाअघि अक्टोबरमा इन्डोनेसियामा दुर्घटना हुँदा १८९ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार ०८:१८