सूचनाको शक्ति - The Power Of Information

        

पाँच बर्षदेखि स्वास्थ्यकै भवन निर्माण अलपत्र, बेखबर जनप्रतिनिधि

बाँके । विकासे कामको उद्घाटन र शिलन्यास गर्ने तर, त्यसपछि भने वेवास्ता गर्ने प्रवृत्ति पूर्वाधार विकासको बाधक बनेको छ । जसले गर्दा थालिएका विकासका काम अलपत्र मात्रै छैनन् काम गर्ने जिम्मेवारी कसको हो भन्नेमा समेत अलमल देखिएको थालेको छ ।

सोही अलमलको शिकार नेपालगन्ज उपमहानगरपालिकाको वडा नं.१ मा निर्माण भइरहेको शहरी स्वास्थ्य केन्द्रको सरकारी भवन बनेको छ । तत्कालिन जिल्ला जनस्वास्थ्य कार्यालयबाट प्राप्त करिब एक करोड बजेटमा निर्माण थालिएको भवन पाँच बर्षदेखि अहिले पनि अलपत्र र वेवारिसे अवस्थामा छ ।

पूर्वाधार निर्माणका लागि जमिनमा पिलर उठाइएको पाँच बर्ष वितिसक्यो, केही रकम खर्चसमेत भइसक्यो तर, भवन निर्माणको काम अघि बढ्न सकेन । जनस्वास्थ्य कार्यालयका अधिकृत रामबहादुर चन्दले भने, ‘पाँच बर्षदेखि यो योजना पिलरमै सिमित छ ।’ उनका अनुसार भवन नहुँदा स्थानीयको घर भाडामा लिएर कार्यालय सञ्चालन गर्नुपरेको छ ।

‘भवन अभावले सेवा प्रवाह पनि सोचेअनुसार हुन सकेको छैन् । जेनतेन चलेको छ,’ अधिकृत चन्दले भने । जनस्वास्थ्य कार्यालयले सहरी स्वास्थ्य क्लिनिकको भवन निर्माणका लागि भन्दै नेपालगन्ज उपमहानगरपालिका तत्कालिन नगरपालिकालाई उक्त रकम प्रदान गरेको हो । जनस्वास्थ्यको रकम पाएपछि भवन निर्माणका लािग नगरपालिकाले टेण्डर आव्हान गरि एक ठेकेदारलाई निर्माणको जिम्मा दिएको थियो । तर, अहिले ठेकेदारको समेत अत्तोपत्तो छैन ।

उपमहानगरपालिकाले पनि उक्त वेवारिसे भवनको निर्माण पुरा गर्नेतर्फ चासो नदेखाएको अधिकृत चन्द बताउँछन् । उनले भने, ‘जे कामका लागि बजेट दिएको हो त्यो बजेट त्यहि काममा लगाउनुपर्छ । वडा नं. १ मा रहेको उक्त सहरी स्वास्थ्य केन्द्रको भवन अभावकै कारण लामो समयदेखि केन्द्र भाडाको घरमा बस्दै आएको छ ।’

स्वास्थ्यको बजेटमा उपमहानगरपालिकामा थन्किएको छ तर, भवन निर्माण अलपत्र छ । भाडाको घरबाट सेवा प्रवाह गर्नुपरेको छ । यसअघि भवन निर्माणको ठेक्का पाएका दुई दुई जना ठेकेदारसँग सम्झौता रद्द समेत गरिसकेको उपमहानगरले अहिलेसम्म नयाँ टेण्डर खोल्न सकेको छैन । ठेकेदारको खोजी र उपमहानगरपालिकासँग पहल लगायतका बिषयमा जनप्रतिनिधिहरुको भूमिका नदेखिएको स्थानीयहरु बताउँछन् ।

नेपालगन्ज उपमहानगरका उपमेयर उमा थापामगरको बसोबाससमेत रहेको उक्त वडाकै भवन निर्माण अलपत्र र वेवारिसेजस्तै बनेपनि बनाउनेतर्फ ध्यान नदिएको वडा नं. १ का स्थानीय रविन्द्र शाहीले बताए । उपमहानगरपालिका मात्रै होइन वडा नं. १ का वडाअध्यक्ष समेत आफ्नै वडामा यसरी वेवारिसे रहेको पूर्वाधारका बिषयमा अनविज्ञ छन् । उक्त भवन निर्माणका लागि ठेकेदारको खोजी र उपमहानगरपालिकासँग पहल लगायतका विषयमा जनप्रतिनिधिको समेत कुनैपनि भूमिका नदेखिएको स्थानीयको आरोप छ ।

त्यसो त उपमेयर उमा थापामगरको बसोबाससमेत उक्त वडामै बन्न थालेको भवन अलपत्र र वेवारिसे हुँदा पनि उनको ध्यान जान सकेको छैन । पहिलो पटक ठेक्का आह्वान गरिए पनि काम गर्न नसकेको भन्दै ठेकेदारले सम्झौता तोडेको बताउँदै भवन निर्माणका लागि अब फेरि टेण्डर आह्वानको तयारी भइरहेको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले बताए । उनले भने, ‘विगतमा ठेकेदारले काम नगर्दा सम्झौता रद्द गर्नुपरेको हो । अब छिट्टै टेण्डर प्रक्रियामा जाँदैछौं ।’

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतवार ०८:२३