सूचनाको शक्ति - The Power Of Information

        

११ वर्ष १० महिना २४ दिनमै सुत्केरी !

बर्दिया । बर्दियाकी एक बालिका ११ वर्ष १० महिना २४ दिनमै सुत्केरी सुत्केरी भएकी छन् । ‘विहेवारी बीस वर्ष पारी’ भन्ने भनाईलाई पनि यो घटनाले चुनौति दिएको छ । नेपालमा बालिबिवाहविरुद्ध क्रियाशिल रहेका संघसंस्थाका लागि यो घटना थप चुनौतिपूर्ण बनेको छ ।

बालबालिकाका नाममा योजना बनाउने संघसंस्थाको भूमिकालाई यो घटनाले गौण बनाइदिएको सम्वद्धहरुको भनाई छ । ‘बालबालिकाका नाममा योजना बनाउने र त्यसमा रमाउने सरकारी तथा गैरसरकारी संघसंस्थाको लगानी बालुवामा पानीजस्तै भएको छ,’ एक छिमेकीले भने ।

बर्दियाको गेरुवा गाउँपालिका ४ की भावना बस्नेत १२ वर्ष नपुग्दै सुत्केरी भएपछि बालबालिकाका क्षेत्रमा काम गर्ने संघसंस्थामाथि गम्भीर प्रश्न उठेको छ । ०६३ चैत्र १३ गते जन्मिएकी भावनाले ०७५ फागुन ७ गते माइतीकै छाप्रोमा छोरी पूर्णिमालाई जन्माएकी छन् ।

आमा बन्दा उनको उमेर ११ वर्ष १० महिना २४ दिन मात्रै छ । गर्भ रहेको ९ महिनामा घरमै सुत्केरी भएकी भावना र बच्चाको अवस्था सामान्य रहे पनि उमेरका कारण दुवैको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा छ । भावनाको शरीर सुन्निएर ज्वरो आएको छ ।

गाउँकै सरस्वती आधारभूत विद्यालय कक्षा ७ मा पढ्दै गरेका १४ वर्षीय नन्दबहादुर रावतसँगको बालविवाहले भावनालाई यतिखेर कष्टपूर्ण अवस्थामा पुर्याएको हो । एकातिर सुत्केरी अवस्थाको पीडा त छँदैछ, अर्कोतिर उनलाई आर्थिक अभावका दैनिक छाक टार्नसमेत धौधौ भएको छ ।

सुत्केरी अवस्थामा पोषिलो खानेकुरा खानुपर्छ तर, आर्थिक अभावका कारण पौष्टिक आहार त परको कुरा भयो पेटभरि समेत खान पाएकी छैनन् । शरीर कमजोर छ, हिँडडुल गर्न पनि सक्दिन, दुई साताकी सुत्केरी भावनाले आफ्नो पीडा सुनाइन् ।

बच्चालाई प्रयाप्त दूध पुग्दैन । उनलाई माइतीले अहिलेसम्म भित्र्याएका पनि छैनन् । मालिकाफाँटा गाउँपालिका जुम्लास्थित घर भएका नन्दबहादुरको आमा सानैमा बेतेको र बावुले दोस्रो विवाह गरेपछि उनी बर्दियास्थित दिदीको घरमा बसेर पढ्दै थिइन् ।

भावनाले भनिन्, ‘घर पनि छैन, माइतीको पुरानो भान्छाको छाप्रोमा एक्लै बस्दै आएकी छु ।’ जुम्लामा रहेको घर सम्पत्तिको बारेमा केही थाहा नभएको उनले बताइन् । भावनाको यो घटनाले बालबालिकाका क्षेत्रमा काम गर्ने संघसंस्थाहरु कामभन्दा कमाउधन्दामा लागेको सम्वद्धहरुको भनाई छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार २०:१९