सूचनाको शक्ति - The Power Of Information

        

डुडुवामा बन्ध्याकरण शिविर, पहिलो दिन २१ जनाको बन्ध्याकरण

बाँके । बाँकेको डुडुवा गाउँपालिकामा बन्ध्याकरण शिविर सञ्चालन भइरहेको छ । उक्त शिविरमा पुरुषलाई स्थायी बन्ध्याकरण ‘भ्यासेक्टोमी’ तथा महिलाका लागि स्थायी बन्ध्याकरण ‘मिनील्याप’ सेवा प्रदान गरिएको नेपाल परिवार नियोजन संघले बताएको छ ।

शिविरमा आवश्यक विशेषज्ञ चिकित्सक तथा प्राविधिक उपलब्ध गराइएको र पहिलो दिन पुरूष तथा महिला गरी २१ जनाले बन्ध्याकरण गरेको संघका कर्मचारी जुना पौडेलले बताइन् । उनकाअनुसार शुक्रबार र शनिबार दर्ता हुन आएका २१ जनामध्ये शनिबारसम्म १५ जनाले बन्ध्याकरण गरिसकेका छन् । बाँकीको क्रमश बन्ध्याकरण हुँदै जानेछ ।

तथ्याकं अनुसार शनिबार एक जना पुरूष, १४ जना महिलाले बन्ध्याकरण गरेका छन् । शुक्रबार भने ६ जना महिलाले बन्ध्याकरण गरेका थिए । शुक्रबारदेखि भएको शिविर आगामी चैत्र पाँच गतेसम्म चल्ने पौडेलले बताइन् । उक्त शिविर सञ्चालनका लागि डुडुवा गाउँपालिका र बेतहनी स्वास्थ्य चौकीले पनि आर्थिक तथा प्राविधिक सहयोग गरेका छन् ।

चैत ५ गतेसम्म यस क्षेत्रका एक सयबढी नागरिकले बन्ध्याकरण लगायतको सेवा लिने अपेक्षा गरिएको छ । हिरमिनीयाबाट शुरू भएको शिविर २८ गते कोहलपुरमा, २९ गते वनकटवामा हुनेछ । यसैगरी चैत १ गते खजुरामा, वैजापुरमा चैत ३, फतेपुरमा चैत्र ४ र नेपालगन्जस्थित संघको कार्यालयमा चैत ५ गते शिविरको आयोजना गरिएको पौडेलले जानकारी दिइन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार १९:४४