सूचनाको शक्ति - The Power Of Information

        

बाढीपीडितलाई राहत पाउनै सकस

बाँके । बर्षातका कारण आएको बाढीबाट प्रताडित बाँकेको राप्तीपारिका एक हजारबढी पीडितले अझै राहत रकम पाएका छैनन् । सरकारी उदासीनताका कारण बाढीपीडितलाई करिब साढे चार बर्षदेखि राहत रकम पाउनबाट बञ्चित छन् ।

सहरी विकास मन्त्रालयले ०७१ सालका बाढीपीडितलाई सहरी विकास तथा भवन डिभिजन विभागमार्फत वितरण गर्ने गरी विशेष राहत प्याकेजको रकम अहिलेसम्म पनि नपाएको बाढीपीडित संघर्ष समितिका अध्यक्ष जगदिशबहादुर सिंहले बताए ।

मन्त्रालयले जग्गा हुनेलाई रु.तीन लाख र जग्गा नभएकाहरूलाई रु.तीन लाख ५० हजार दिने घोषणा गरेको थियो । शहरी विकास तथा भवन डिभिजन विभाग डिभिजन कार्यालय नेपालगन्जका अनुसार ०७१ को बाढीबाट एक हजार ६५२ परिवार प्रभावित थिए । बाँकेका पीडितलाई मात्र वितरण गर्ने रकम रु.५० करोडभन्दा बढी आउने गरेको छ ।

कार्यालयका इन्जिनियर सुनिलकुमार ठाकुरले ०७४ सालमा ५९० जनालाई प्रतिव्यक्ति रु.५० हजारका दरले पहिलो किस्ता बुझाएको बताए । बाँके र बर्दियाका बाढी पीडितका लागि रु.५९ करोड बजेट आएको बताउँदै इन्जिनियर ठाकुरले पहिलो किस्ता रु.५० हजार, दोस्रो किस्ता रु.एक लाख ५० हजार र तेस्रो किस्ता रु.एक लाखदेखि रु.एक लाख ५० हजार दिने भनिएपनि दोस्रो किस्ता अहिलेसम्म नआएको उनले जानकारी दिए ।

बर्दियामा ३ हजार ५७९ जना बाढी प्रभावित रहेकामा तीन हजार २४८ जनाले पहिलो किस्ताबापत रु.५० हजार बुझेका छन् । राहतका लागि पीडित नआएपछि गएको वर्ष पहिलो किस्ताबापत झन्डै २८ करोड रुपैयाँ फिर्ता पठाएको र त्यसयता दोस्रो किस्ता नआएको इन्जिनियर ठाकुरले बताए । ०७१ सालमा आएको ठूलो बाढीमा मुख्य गरी तत्कालिन होलिया, बेतहनी, गंगापुर, महेहिया, फत्तेपुर क्षेत्र बढी प्रभावित भएका थिए ।

०७४ सालका सबै बाढीपीडितले पनि अझै राहत पाउन सकेका छैनन् । बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलका अनुसार यसअघि रु.१९ करोड विनियोजन गरिएकोमा राप्तीसोनारी–८ र डुडुवा गाउँपालिका–३ मा रकम वितरण हुन सकेको थिएन । उनकाअनुसार जिल्ला विपद् व्यवस्थापन समितिले सबै सम्बन्धित गाउँपालिकामा रकम पठाइसकेको छ । कतिपय स्थानमा आन्तरिक कारणले वितरणमा ढिलाइ भएको हो ।

।संघीय आयोजना कार्यान्वयन ईकाई कार्यालयले यसअघि राहत पाउनका लागि छनौटमा परेका बाँकेका बाढीपीडितका लागि रु.एक अर्ब ३७ करोड ७४ लाख माग गरेको आयोजनाका इन्जिनियर ठाकुरले बताए । ०७३ सालमा छनौटमा परेका बाढीपीडितलाई राहत वितरणका लागि रकम मन्त्रालयसँग माग गरिएको र उक्त रकम आएलगत्तै राहत वितरण गर्ने आयोजनाको तयारी छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार १४:४४