सूचनाको शक्ति - The Power Of Information

        

‘विप्लव’ चुनौती हैनन्, निष्तेज पार्छौं : गृहमन्त्री

सुर्खेत । कर्णालीमा भइरहेको सुरक्षा गोष्ठीमा सहभागी हुन सुर्खेत पुगेका गृहमन्त्री रामबहादुर थापाले अपराधिक तत्वलाई तह लगाउन कठोरतापूर्वक अगाडि बढ्ने बताएका छन् । शनिवार वीरेन्द्रनगर सुर्खेतमा पत्रकारसँग थापा बादलले त्यत्ति ठुलो चुनौतीका रुपमा नभएको भन्दै उक्त निस्तेज भएर जाने दाबी गरे । राज्य शान्ति सुरक्षा कायम गर्न प्रतिवद्ध रहेको भन्दै विध्वंसात्मक गतिविधि गर्ने विस्तार हुने कुनै पनि आधार नभएको भन्दै निस्तेज हुने दावी गरे ।

‘धेरै ठुलो चुनौतीका रुपमा त हैन । राष्ट्रको शान्ति सुरक्षाको निम्ति केही समस्या उत्पन्न गरेको छ । भर्खरै देशव्यापीरुपमा यो ‘विप्लव’ समूहले विध्वंसात्मक गतिविधिहरु विस्तार गरेको छ,’ उनले भने, ‘त्यो किसिमको तत्वहरुको विस्तार हुने कुनै सम्भावना छैन । त्यसको आधार यहाँ नभएको हुनाले छिट्टै नै निस्तेज भएर जान्छन् । राज्यले शान्ति सुरक्षा कायम गर्न प्रतिबद्ध छ । त्यसको विरुद्ध हामी कठोरतापूर्वक अगाडि बढ्ने छौँ ।’

त्यस्तै, कतिपय पक्षबाट संरक्षण दिएको र उन्मुक्ति दिने गरेकाले उनीहरुको हौसला बढेको उल्लेख गरे । ‘कतिपय पक्षबाट संरक्षण दिएको र उन्मुक्ति दिने गरेकाले उनीहरुको हौसला बढेको हो,’ उनले भने, ‘नेपालमा उनीहरुका लागि वस्तुगत आधारहरु छैन । हिजो राष्ट्रिय व्यवस्थामा थुप्रै कमजोरीहरु थिए । त्यसका विरुद्ध जनताले आवाज उठाएका थिए । अहिले त्यो छैन । संघयी गणतन्त्रको स्थापना भइसकेको छ । देश विकास र समृद्धिको दिशामा अगाडि बढिरहेको छ ।’

त्यसैगरी, शान्ति सुरक्षामा केही सामाजिक अपराधिक तत्वहरु बाधक रहेको भन्दै निस्तेज गर्ने र नियन्त्रण गर्ने उनको दावी छ । ‘शान्ति सुरक्षामा केही सामाजिक अपराधिक तत्वहरु बाधक छन् । त्यसलाई पनि केही हदसम्म निस्तेज गरेका छौँ,’ उनले भने, ‘केही तत्वहरु अझै पनि राज्य विरोधी, संविधान विरोधी छिटफुट रुपमा शान्ति सुरक्षामा चुनौती खडा गरिरहेका छन् । त्यसलाई पनि हामीले निश्चितरुपमा निस्तेज गर्नेछौँ र नियन्त्रण गर्ने छौँ ।’

सरकारले एकवर्ष पुरा गरेको भन्दै अन्तरराष्ट्रिय सम्बन्धलाई सुदृढ गर्ने काम सफलतापूर्वक सम्पन्न गरेको बताए । देशका लागि चाहिने आवश्यक कानुन तयार गरेको भन्दै विकासका लागि आवश्यक पूर्वाधार र योजना निर्माण गरिएको उनको तर्क थियो । यही २३ गतेदेखि शुरु भएको सुरक्षा गोष्ठीमा कर्णालीका सुरक्षा निकायलाई थप शान्ति सुरक्षा सम्बन्धी गृहमन्त्री थापाले निर्देशन दिने छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार १३:१८