सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकामा शुक्रबार अनौठो घटना घटेको छ । नारी दिवसको दिन विद्यालयले सार्वजनिक विदा नदिएको र वडा अध्यक्षले गाउँपालिकाको निर्णय नमानेको भन्दै गाउँपालिका उपाध्यक्षले प्रहरीमा जाहेरी दिनुपर्ने अवस्था सिर्जना भएको छ ।
गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला शाहीले वडा नम्बर २ का वडाध्यक्ष हरिबहादुर सिंह ठकुरी, वडासदस्य पुर्णकला बुढा र स्थानीय माध्यामिक विद्यालयका प्रधानाध्यापक हरिनारायण यादव विरुद्ध नारी दिवस मनाउन असहयोग गरेको भन्दै आवश्यक कारबाहीको लागी शुक्रबार प्रहरी चौकीमा निवेदन दिएकी छन् ।
१०९ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुक्रबार उपाध्यक्षको आफ्नै घर रहेको वडा नम्बर २ काफलकोटमा गर्ने भनिएको जनचेतनामुलक कार्यक्रममा कुनै पनि तयारी नगरेको, कार्यक्रम गर्ने स्थानमा ब्यानर समेत नराखिएको र महिलाहरूलाई खबरै नगरेको भन्दै उनीहरू विरुद्ध जाहेरी दिएकी हुन् ।
सिम्ता गाउँपालिकाको १९ फागुनमा बसेको गाउँकार्यपालिकाको बैठकले नारी दिवसका दिन गाउँपालिकाभर विविध जनचेतनामुलक कार्यक्रम गर्ने निर्णय गरेको थियो । सोही अनुसार सम्पुर्ण जनप्रतिनिधिहरूलाई कार्यक्रमका लागी विभिन्न स्थानमा जाने कार्यबिभाजन समेत गाउँपालिकाको बैठकले गरेको थियो । शुक्रबार उपाध्यक्ष चन्द्रकला शाही वडा नम्बर २ अर्थात् काफकोटमा पुग्दा वडाले कार्यक्रमका लागि कुनै पनि तयारी गरेको थिएन ।
कार्यक्रम स्थलमा उपस्थित भएकी शाही आक्रोशित हुदै फर्केकी थिइन् । उनी त्यहाँबाट गाउँपालिकाअन्र्तगत वडा नम्बर ३ आग्रीगाउँमा रहेको प्रहरी चौकीमा पुगेर वडाध्यक्ष सिंह, वडासदस्य बुढा र प्राधानाध्यापक यादवविरुद्ध कारबाहीको माग गर्दै निवेदन दिएको प्रहरी चौकी आग्रीगाउँ (देउलीका) इन्चार्ज प्रहरी सहायक निरिक्षक गोबिन्द विकले बताए ।
‘उपाध्यक्ष शाहीले वडाध्यक्ष हरिबहादुर सिंह, स्थानीय माध्यामिक विद्यालयका प्राधानाध्यापक हरिनारायण यादव र वडासदस्य पूर्णकला बुढाविरुद्ध निवेदन दिनुभएको हो,’ इन्चार्ज बिकले भने, ‘सबै कुरा हामीले भन्दा अप्ठ्यारो हुन्छ, यस बिषयमा प्रहरीले धेरै बोल्न मिल्दैन,’ उनले भने । यसबारेमा प्रतिक्रिया लिन खोज्दा वडाध्यक्ष सिंहले सम्पूर्ण कार्यक्रम वडाको महिला सञ्जाललाई जिम्मा दिएको र सोही अनुसार तयारी गर्न निर्देशन दिएको बताए ।
आफूलाई कार्यक्रमको बारेमा ढिलो जानकारी भएको तथा ब्यानर पनि समयमा नआएको, वडा सञ्जालका महिलाहरू तथा विभिन्न समूहका महिलाहरूलाई जानकारी गराइएको उनले जिकीर गरे । ‘उपाध्यक्ष करिब साढे १२ बजे कार्यक्रम स्थलमा आएपछि त्यसको २ मिटनमै वडा सञ्जालका अध्यक्ष आइपुग्नु भयो,’ अध्यक्ष सिंहले भने । यता गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाहीले महिलाहरूले उत्सवका रुपमा मनाउने विशेष दिनको बेला वडा नम्बर २ मा रहेको कार्यक्रम स्थलमा जाँदा राजनीतिकीकरण गरेको आरोप लगाएकी छिन् ।
उनले भनिन्, ‘म बिहान १० बजे कार्यक्रम स्थल पुगेको थिए । त्यहाँ कुनै तयारी थिएन, सम्पूर्ण देशभरका विद्यालय बन्द हुँदा उक्त वडाको माध्यामिक विद्यालय सञ्चालन रहेको थियो ।’ विद्यालयका प्राधानाध्यापक हरिनारायण यादवलाई किन बन्दको दिन विद्यालय सञ्चालन गरेको भनेर सोध्दा गाउँपालिकाको शिक्षा शाखा प्रमुख ज्योती गैरेले विदा नगर्नु भनेर निर्देशन दिएकाले स्कुल सञ्चालन गरेको यादवले सोझो जबाफ दिएको उपाध्यक्ष शाहीले प्रतिक्रिया दिइन् ।
गाउँपालिकाको सम्पूर्ण कार्यक्रम असफल बनाउन राजनीतिक प्रभाव देखाएर वडाले विद्यालय सञ्चालन गर्न लगाएको उपाध्यक्षको आरोप छ । केही स्कुले छात्राहरू र केही स्थानीय महिलाहरू जम्मा गरेर नारी दिवस सफल पारौं भन्दै नारा लगाउँदा समेत केही शिक्षक र स्थानीयहरूले असफल पारौं भन्दै विरोधका नारा लगाएको शाहीले बताइन् । साढे २ बजेसम्म वडाका महिला सञ्जालको फोन समेत अफ भएको भन्दै उनले भनिन्, ‘वडाले आफू गएको सम्मूर्ण कार्यक्रम बिथोल्ने प्रयास गर्यो, सिगों महिलाहरुको अपमान भयो ।’
‘खासगरी राजनीतिक प्रभावले वडा अध्यक्षले कार्यक्रम असफल बनाउने रणनीति खेलेको उनको भनाइ छ । ‘मैले मेरो लगायत सम्रग सिम्ता गाउँपालिका सरकारको अपमान भएको र नारीहरुको अपमान गरेको भन्दै प्रहरी चौकीमा उजुरी दिएको छु, यस विषयमा छलफल र बहस हुन आवश्यक छ,’ उनले थपिन् । उपाध्यक्ष शाही सोही वडाकै बासिन्दा हुन् । उक्त वडामा नेपाली कांग्रेसबाट वडाध्यक्षसहित सबै सदस्य निर्वाचित छन् । उपाध्यक्ष शाही पूर्वएमालेबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।
सत्यपाटी - ।