काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावल र राष्ट्रिय जनता पार्टी (नेपाल)का नेता राजकिशोर यादवले देश टुक्र्याउने अभियानमा लागेका सीके राउतलाई सरकारले बैधानिकता दिएको भन्दै आपत्ति जनाएका छन् । सीके राउतले संघीयतालाई कमजोर बनाउने अभियान चलाएको तथा देश टुक्र्याउने अभियानमा सक्रिय रहेको भन्दै उनीहरूले षड्यन्त्रको पर्दाफास भएको बताए ।
रावल र यादवले सहमति पत्रमा रहेका कतिपय बुँदा र शब्द अपात्तिजनक रहेको बताए । नेकपाका नेता भीम रावलले सीके राउतसँग भएको ११ बुँदे सहमतिअनुसार अब देश टुक्र्याउने अभियान खुलमखुला रुपमा हुने बताए । उनले दुई तिहाइको बलियो सरकारले सीके राउतलाई बैधानिकता प्रदान गरेको भनदै आक्रोश व्यक्त गरे । उनले सीके राउतसँग नेकपाका ठूला नेता र सरकार नै चुकेको बताए ।
‘स्वतन्त्र मधेस भनिएको छ । नेपालमा स्वतन्त्र मधेस छैन । किन यो शब्द राखियो ?’, रावलले भनेका छन्, ‘देश टुक्र्याउँछु भनेर हिँडेको व्यक्तिसँग वार्ता गर्नु नै गलत थियो । वार्ता गर्नु नै थियो भने देश टुक्र्याउने अभियान गतल थियो भनेर सीके राउतले किन भनेनन् ?’ प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रामबहादुर थापाले आफ्नो मर्यादा र हैसियत भुलेर सीके राउतलाई हिरो मानेर महत्व दिनु गलत भएको रावलले बताए ।
‘सीके राउत कुनै हिरो होइन । देश टुक्र्याउँछु भनेर हिँडेको व्यक्ति हो,’ उनले भने, ‘प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री आफैले सीके राउतलाई यति ठूलो महत्व दिनुको अर्थ के हो ?’ रावलले सीके राउतलाई प्रधानमन्त्री स्वयंले कुनै हिरो जसरी प्रशंसा गर्नु गलत भएको बताए । ‘प्रधानमन्त्री जस्तो व्यक्तिले देश टुक्र्याउने अभियानमा लागेको व्यक्तिको प्रशंसा गर्नुहुँदैन थियो । गम्भीर गल्ती भएको छ,’ उनले भनेका छन् ।
कसैले पहिचान नै नगरेको सीके राउत र उनको अभियानलाई नेपाल सरकारले शुक्रबारबाट पहिचान दिएको नेता रावलले आरोप लगाए । रावलले हिरासतमा आफ्नो कालगतिले मरेका व्यक्तिलाई रोजगारी दिने विषय झन् गम्भिर रहेको बताए । बर्दियाका एकजना सीके राउतका कार्यकर्ता हिरासतमा मरेका थिए । उनको परिवारलाई मानवताको हिसावले क्षतिपूर्ति दिइनु ठीकै भएको भन्दै उनले देश नै टुक्र्याउँछु भनेर हिँडेको व्यक्तिको परिवारलाई रोजगारी दिने सहमति गर्न नमिल्ने बताए ।
उनले भने, ‘भोलिका दिनमा अपराधिमाथि खुसी लाग्यो भने जे पनि गर्ने ? देश टुक्र्याउनेलाई झन् प्रोत्साहन दिने काम सरकारले गरेको छ ।’ देश टुक्र्याउने अभियानमा लागेका सीके राउतसँग गरेको ११ बुँदे सहमतिको मसी सुक्न नपाउँदै सरकारी पक्षले खण्डन गर्दै हिँड्नु परेको नेता रावलले बताए । राजपाका नेता राजकिशोर यादवले सीके राउत र वर्तमान कम्युनिस्ट सरकारको चरित्र उदाङ्गो भएको बताए ।
‘सीके राउत र केपी ओली संघीयतालाई असफल बनाउन हिँडेका व्यक्ति हुन्’, उनले भने, ‘ओली समक्ष सीके राउतले आत्मसर्मपर्ण गरेका छन् । कहाँबाट परिचालित थियो भन्ने कुरा प्रष्ट देखिएको छ ।’ सीके राउतले जहिले पनि संघीयतालाई बद्नाम गर्न खोजेको आरोप यादवले लगाए । उनले भने, ‘केपी ओली र सीके राउतको धार एउटै हो । जनमत संग्रहको कुरा गरेर सीके राउतले भ्रम फिजाइ रहेको छ । सरकार सीके राउतसँग सहमति गरेर आफ्नो चरित्र देखाएको छ ।
सत्यपाटी - ।