सूचनाको शक्ति - The Power Of Information

        

खजुरामा मनाइयो अन्तर्राष्ट्रिय महिला दिवस

बाँके । खजुराबाट बालविवाह अन्त्य गर्ने उद्घोष गर्दै बाँकेको खजुरामा १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । खजुरा गाउँपालिका, स्याक, प्लान नेपाल लगायतको सहकार्यमा दिवस मनाइएको हो । खजुरा गाउँपालिकाको कार्यालयबाट सचेतनामूलक र्यालीको आयोजना गरिएको थियो ।

खजुरा एक नम्बर हुँदै खजुरा बजार भएर र्याली धनौली चौकी पुगेर हाट बजारमा आएर सभामा परिणत भयो । कार्यक्रममा खजुरा ज्ञानोदय नमूना माविका बालिकाले बालविवाह गर्न नहुने सन्देशसहितको सडक नाटक प्रस्तुत गरे । कार्यक्रमलाई सम्बोधन गर्दै खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले बालविवाह अन्त्य गर्नुका साथै महिला अधिकारका लागि गाउँपालिका साथमा रहेको बताए ।

उपप्रमुख एकमाया विकले आर्थिक कारणले पनि महिला विभेदमा परेको भन्दै उत्पादनमुलक काममा जोडिन आग्रह गरिन । उनले खजुरा क्षेत्रका २ जना महिला अटोरिक्सा संचालनमा रहेको बताउँदै त्यस्ता श्रमिक महिलालाई गाउँपालिकाले अर्को वर्ष सम्मान गर्ने उल्लेख गरिन । अब महिलाहरु सृजनात्मक काममा लाग्न थालेको बताउँदै उत्पादनमुलक र सृजनात्मक कामले महिलामा सम्मान थप्ने कुरामा उपप्रमुख विकले विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, वडा नंं. ४ का महिला सदस्य योगमाया खनाल, खजुरा गाउँपालिका महिला सहायक निरीक्षक सुशीला न्यौपानेले घरबाटै विभेद, ज्यालामा विभेद हुँदाहुँदै पनि कतिपय कुरामा महिलाले पाएका अवसरको सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार १५:५६