सूचनाको शक्ति - The Power Of Information

        

महिला दिवस : शहरमा सेल्फी, गाउँमा पौरख

बाँके । शहरका हुनेखाने वा जागिरे महिलाहरु आज विहानै नेपालगन्जमा भेला भए, ब्यानर समाएर तस्वीर खिचे । कोही सेल्फी खिच्दै थिए । आज १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस भएकै कारण सरकारी तथा गैरसरकारी निकायमा कार्यरत महिला तथा पुरुषहरु नारी मुक्ति आन्दोलनको १०९ बर्ष पुगेको अवसरमा नाराबाजी गर्दै नेपालगन्जका विभिन्न गल्लीबाट विपिचौकमा भेला भए ।

कोही त्रिभुवन चौक हुँदै निस्के, कोही धम्बोझी चौक, कोही गणेशमान चौक त कोही विभिन्न सरकारी तथा गैरसरकारी र कलेजहरुबाट कार्यालयबाट आआफ्ना व्यानरसहित नाराबाजी गर्दै विपिचौकमा भेला भए । भेला भएका साक्षर महिला तथा पुरुषहरु कोही झुण्डझुण्ड बनाएर फोटो खिच्दै थिए त कोही सेल्फीमै मस्त देखिन्थे ।

उता उपमहानगरभित्रकै निम्न वर्ग, निरक्षर र बेरोजगार तथा बाँकेका अन्य ग्रामीण क्षेत्रका महिलाहरुलाई भने अन्तर्राष्ट्रिय महिला दिवसका बारेमा पत्तो भएन । दैनिकजसो खेतबारी, भान्सा र अन्य कामकाजमै व्यस्त देखिन्थे । उनीहरुलाई आफ्नै दिवसका बारेमा पत्तोसमेत भएन । दिनभर काम गरेर साँझको छाक टार्ने महिलाहरु सधैंझैं उसैगरी आफ्नो दैनिक कर्ममा लागे ।

किनकी उनीहरुलाई साँझको छाकको जोहो गर्नैपर्ने थियो । शहरका महिलाहरुले खिचिरहेको सेल्फीका बारेमा ग्रामीण क्षेत्रका महिलाहरुलाई कैद गर्न सक्थेन । त्यही भएर पनि होला उनीहरुलाई आफ्नै दिवसका बारेमा जानकारी पनि भएन । निम्न वर्गीय र निरक्षर उनीहरु महिला दिवसकै दिन पनि सधैंझैं आफ्नो कर्ममा व्यस्त भइरहे ।

शहरका जागिरे महिलाहरू विभिन्न सेमिनारहरूमा महिला अधिकारका विषयमा छलफल गरिरहँदा गाउँका महिलाहरु पौरखमा रमाइरहेका थिए । शहरमा नारी दिवस मनाइरहेका बेला कतिपय महिला शहर किनारमै मजदुरी गरिरहेका थिए । उनीहरुलाई कहिल्यै नारी दिवसले छुदैन । नारी दिवस अब सहरमा सुकिलामुकिला भएर होइन ग्रामीण भेगमा यस्ता मजदुर महिलासँग मनाउन जरूरी छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार १५:३७