सूचनाको शक्ति - The Power Of Information

        

बेवारिसे अवस्थामा सिकलसेल एनिमिया जाँच्ने ‘इलेक्ट्रोफोरसिस’ मेशिन

बाँके । भेरी अस्पतालमा रहेका दुईवटा मेशिन दशकदेखि वेवारिसे अवस्थामा छन् । ती मेशिन प्रयोगमा आउन नसक्दा लाखौंको सरकारी लगानी वालुवामा पानी झै भएको छ । तर, अस्पताल उदासीन छ । सेवाग्राहीको स्वास्थ्य परीक्षणका लागि भन्दै ती मेशिन ल्याइएका थिए ।

तर, मेशिन ल्याएदेखि अहिलेसम्म एकजना विरामीले पनि ती मेशिनबाट आफ्नो स्वास्थ्य रिर्पोट तयार गर्न पाएका छैनन् । अस्पतालमा रहेका सिकलसेल एनिमिया जाँच गर्ने इलेक्ट्रोफोरसिस मेसिन दशकदेखि प्रयोगविहीन भएका हुन् । यसले सयौं सेवाग्राही मर्कामा परेका छन् ।

दशकदेखि बिग्रेर थन्किएका ती मेशिन मर्मत गर्नेतर्फ अस्पताल व्यवसाथापन समितिले अहिलेसम्म कुनै चासो देखाएको छैन् । तत्कालिन अञ्चल अस्पताललाई स्वास्थ्य विभागले एउटा मेशिन दशक अघि दिएको थियो । उक्त मेशिन प्रयोगमा नआउँदै बिग्रिएको अस्पतालका निमित्त प्रमुख रूपानन्द अधिकारी बताउँछन् ।

अस्पतालमा रहेको अर्को मेशिन बिग्रिएको छ । उक्त मेशिन जनस्वास्थ्य कार्यालयले अस्पताललाई प्रदान गरेको हो । दुई वटै मेशिन इलेक्ट्रोफोरसिस मेसिन हुन् । लाखौं मूलयका यी मेशिन मर्मत गर्ने र सेवाग्राहीलाई सहज तथा निः शुल्क रूपमा उपचार गर्नेतर्फ अस्पताल उदासीन भइरहेको छ ।

अस्पतालमा भएका मेशिन बिग्रेर प्रयोगमा नआएपछि उपचारका लागि अस्पतालमा आउने सिकलसेलका विरामी मारमा परेका छन् । महँगो रकम तिरेर नीजि क्लिनिकमा स्वास्थ्य परीक्षण गराउन बाध्य हुनुपरेको सिकलसेलको परिक्षणका लागि अस्पताल पुगेका फत्तेपुरमा कान्छा चौधरीले बताए ।

अस्पतालमा निःशुल्क पाइने सेवा निजी क्लिनिकमा दुई हजार रुपैयाँ तिरेर जाँच गर्नुपरेको उनको भनाई छ । अस्पतालमा हप्तामा करिब ७० जना सिकलसेल जाँचका लागि नागरिकहरू आउने गरेको प्याथालोजी विभाग प्रमुख बालकृष्ण अवालले बताए । तर, मेसिन नहुँदा विरामीहरू निजी क्लिनिकमा जाने गरेको उनको भनाई छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार १३:१७