सूचनाको शक्ति - The Power Of Information

        

निगरानीमा सरकारी तथा गैरसरकारी कार्यालय

बाँके । मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्ने सरकारी संस्था नै बदनाम भइरहेका बेला बाँकेमा क्रियाशिल पत्रकारहरुले अख्तियार लगायतका सरकारी तथा गैरसरकारी संघ/संस्थामाथि स्वतन्त्र निगरानी गर्ने भन्दै स्वतन्त्र समूह नै गठन गरेका छन् ।

सरकारी तथा गैरसरकारी संघ/संस्थाहरुमा आर्थिक अपारदर्शीता मौलाइरहँदा निगरानी गर्न उक्त समुह गठन भएको छ । बाँके जिल्लामा बढ्दै गएको आर्थिक अनियमितता र सरकारी कार्यालयमा देखिएको विकृतिको निगरानीसँगै भण्डाफोर गर्ने उद्देश्यले नेपालगन्जमा निगरानी समूह गठन भएको छ ।

सरकारी तथा गैरसरकारी संघ/संस्थाका गतिविधिहरुमाथि स्वतन्त्ररुपमा निगरानी गर्न बाँकेमा क्रियाशिल पत्रकार तथा सामाजिक अभियन्ताहरुको भेलाले विहीबार उक्त समूह गठन गरेको हो । भेलाले सद्भाव दैनिकका कार्यकारी सम्पादक कमल न्यौपानेको अध्यक्षतामा पाँच सदस्यीय समूह गठन गरेको छ ।

समुहको महासचिवमा सत्यपाटी पब्लिकेशनका अध्यक्ष, पत्रकार महासंघ बाँकेका सहसचिव तथा राससमा कार्यरत पत्रकार काशीराम शर्मा रहेका छन् । समुहको सदस्यमा सद्भाव दैनिकका सहसम्पादक विजय मल्ल, महिला तथा बालबालिकाका क्षेत्रमा क्रियाशिल अभियन्ता श्वेता गुरुङ्ग तथा सूचना प्रविधि विषयमा अध्ययनरत लक्ष्मण ढकाल रहेका छन् ।

उक्त समूहले विभिन्न जिल्लामा रहेका स्थानीय तह, सरकारी तथा गैरसरकारी संघ/संस्थाले गर्ने कार्य सम्पादन तथा आर्थिक गतिविधि लगायतका विषयमा निगरानी गर्नेछ । समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आर्थिक रोकथाममा सहयोग पु¥याउनुका साथै आयोगकै काम तथा गतिविधिमाथि निगरानी गर्न सक्ने समूहका अध्यक्ष न्यौपानेले बताए ।

उनले भने, ‘समूह गठन भएसँगै जिल्लामा क्रियाशिल सरकारी तथा गैरसरकारी निकायले सम्पादन गर्ने हरेक गतिविधिको स्वच्छ तथा पारदर्शी ढंगले निगरानी गर्दै जनताका काममा जवाफदेही बनाउन र उनीहरुलाई देश र जनताप्रति जवाफदेही बनाइने छ ।’

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार २१:१९