सूचनाको शक्ति - The Power Of Information

        

बिजुलीसँग खेल्दै सुशीला, हेमा र प्रेमा

बाँके । ‘केटीले पनि बिजुली बनाउने काम गर्छन् ?’ सुशीला डिसीले सुरुका दिनमा यस्ता थुप्रै प्रश्नको सामना गर्नुपर्यो । कतिले त ‘घरघरमा गएर काम गर्नुपर्छ होला । समस्या हुँदैन’ भन्नसम्म भ्याउँथे रे ।

बिजुली बनाउने काम गर्दा अचम्मै भएजस्तो गरी घुरेर हेर्नेहरु थुप्रै भेटिन सुशीलाले । तर यस्ता कुराले उनलाई केही फरक पारेन । किनकी ‘केटी’ पनि हरेक काम ‘केटा’ बराबर भएर काम गर्न सक्छन् भन्ने देखाउनु थियो उहाँलाई ।

बर्दिया मधुवनकी सुशीलाले प्रवेशिका परिक्षा उत्तीर्ण गरेपछि स्थानीय प्राविधिक शिक्षालयबाट सवओभरसियर पढाई सकिन । केटाले मात्र गर्ने भनिएको बिजुली मर्मत, सम्भारको काम केटीले गर्न नौंलो लागे पनि आफै र परिवारका सदस्यले गर्न सुझाव दिएका थिए ।

‘जम्मै काम पुरुषले गर्ने हामी भने सिलाई कटाईमै सीमित हुने हो भने कहिले स्वरोजगार बन्छौं,’ सुशीलाले भनिन्, ‘होइन, अब हामीले पनि फरक काम गर्नुपर्छ भन्ने भित्रि मनबाटै लागेपछि पढेकी हुँ ।’

त्यही सोंचले उनलाई एउटा सफल सबओभरसियर बनाएको छ अहिले । १८ महिने कोर्स सिध्याएपछि सुशीलाले घरछिमेकी काम गरिन् । नयाँ घरको पुरै बिजली बनाउने कामसम्म भ्याइन् । उनको काम देखेपछि गाउँभरी काम दिनेहरुको संख्या पनि बढ्यो ।

‘केटाले गर्ने काम नगर भन्नेहरु पनि थिए,’ सुरुका दिन सम्झदै उनले भने, ‘उनीहरुका कुराले केही फरक पारेन । राम्रो काम गरेपछि तिनीहरुले नै स्यावासी पनि दिन्थे ।’ सुशीला अहिले नेपालगन्जमा रहेको लक्ष्मी भण्डारमा राम्रै तलवमा जागिर खाइरहेकी छन् ।

बर्दियाकै हेमा रानाले पनि दाजुकै आग्रहमा सबओभरसियर पढिन् । परिक्षा दिएर बसेकी उनी अहिले नेपालगन्जमै जागिर गर्दैछिन् । काम गर्दै लोकसेवाको तयारी पनि गरिरहेको बताउने रानाले महिलाहरु परम्परागत कामबाट माथि उक्लनुपर्ने बताइन् ।

उनी भन्छिन्, ‘स्क्रिु ड्राइभर चलाउन हामीलाई पनि आउँछ । जब हामी केटाजस्तै काम गर्न सक्छौ भने किन चुप लागेर बस्ने ?’ परम्परागत सिपमात्र अंगाल्ने हो भने महिला कहिल्यै स्वरोजगार बन्न नसक्ने उनको तर्क छ । उनी भन्छिन्, ‘बिजुलीका काममात्र होइन अब ग्यारेज चलाउने हिम्मत गरे हुन्छ ।’

बिजुलीको काममा दाङ्ग घोराहीकी प्रेमा चौधरीको अनुभव लामै छ । उनीले त ओभरसियरमा ३८ महिने कोर्स गरिन् । लामो समय धेरैका घरमा बिजुली जोडेर उज्यालो दिने काम गरिन् । ‘धेरै केटाको भिडमा एक्ली केटी देख्दा अचम्मै मान्नेहरु कति थिए, कति ।

यस्ता कुरा भए भन्दैमा हामी चुप लाग्ने होइन । हाम्रो समाज नै यस्तै छ । तर बिस्तारै हामी आफैले यस्ता सोंचलाई चिर्नुपर्छ,’ चौधरीले भनिन् । सुशीला, हेमा र प्रेमाजस्ता बिजुलीमा खेल्ने ‘केटी’हरु नेपालगन्जमा अरु पनि छन् ।

जो समाजको परम्परागत सोंचलाई चुनौती दिदै स्वरोगजागरको अभियानमा लागेका छन् । बिद्युतजन्य सामाग्रीको बिक्री बितरणमा नाम कमाएको अमर वलीले सन्चालन गरेको लक्ष्मी बिजुली भण्डारले मात्र तीन जनालाई रोजगारी दिएको छ । उनले केटीहरुको त्यो उत्साहलाई हौसला बढाएका छन् ।

विद्युत मर्मतको काम सिकेपछि महिलाहरु अरुकै काम गर्नुपर्छ भन्ने छैन । आफै पसल खोलेर पनि बस्न सक्छन् । लोकसेवाको तयारी गरेर सरकारी जागिरे पनि बन्न सक्छन् । आफ्नो पसल खोलेर उद्यम गर्ने बाटो त छँदैछ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार १५:४७