सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, ‘त्रिपालमुनिको बास’

सुर्खेत । सुर्खेत कारागार भवन जीर्ण अवस्थामा छ । २०२९ सालमा स्थापना भएको भवनको स्तरोन्नति अझै हुन सकेको छैन । अझ त्यसैमाथि क्षमता भन्दा बढी बस्छन् कैदीबन्दी । ५० जनाको क्षमता भएको कारागारमा झण्डै आठ गुणा बढी कैदीबन्दी बस्न बाध्य छन् । क्षमताभन्दा धेरै कैदीबन्दी भएकै कारण उनीहरु त्रिपालमुनि बस्न बाध्य छन् ।

पक्की भवनको हाताभित्रै त्रिपालको टहरा बनाएर बस्दै आएका छन् । २०७१ देखि पाँच वर्षदेखि पालमुनि बस्दै आएका बाढीपीडितको कथा भन्दा कम छैन कैदीबन्दीको जीवन । बाढीपीडितले जस्तै पालमुनिको जीवन बिताइरहेका छन् सुर्खेतका कैदीबन्दीले । सरी बाढीपीडितले पुसमाघको कठ्याङ्ग्रिँदो सिरेटो या जेठबैशाखको भतभती पोल्ने घाम, चाहे असारे झरी किन नहोस् ।

जस्तोसुकै कष्ट सहन बाध्य छन् । उत्तिकै कष्ट सुर्खेतका कैदीहरुले पनि भोगिरहेका छन् । एउटा पक्की भवन त छ तर त्यो भवनमा कैदीहरु अटाउन सक्ने अवस्था छैन । कारागारमा ५० जनाको क्षमता भए पनि झण्डै साढे दुई सय जना कैदीबन्दीहरु छन् । जीर्ण भवन र त्रिपालको बासले पानी परेको समय कैदीबन्दीको हरिविजोग हुने गर्छ । न पालमा बस्न सक्छन् कैदीबन्दी न जीर्ण भवनमा ।

जसले गर्दा कति दिन त जाग्राम बस्न बाध्य हुन्छन् कैदीहरु । ट्वाइलेटको लाइनदेखि खान र बस्नको पनि समस्या उस्तै छ । कारागारमा हाल झण्डै साढे दुई सय कैदीमध्ये पुरुषको संख्या करिब २२० रहेको छ । जसमध्ये ६९ थुनुवा र १५१ कैदी रहेका छन् । त्यस्तै २० जना महिलामध्ये ३ जना थुनुवा, १७ कैदी र २ नाबालक रहेका छन् ।

कारागारमा महिला कैदीका लागि दुइ कोठा र पुरुषका लागि सात कोठा छन् । बेलाबेलामा सांसद र मन्त्री पुग्ने गरे पनि मर्मतसम्भारमा कसैले चासो नदिएको कारागारका नाइके दाईधिरज पराजुली बताए । आफुहरुलाई कारागारमा यातनागृह जस्तै भएको दुखेसो पोख्दै भने, ‘कारागारको अवस्था नाजुक छ । हावाहुरी र पानी पर्दा रातभर जाग्राम बस्नुपर्छ ।’

पराजुलीले भने, ‘खाना पकाउने भाँडाकुँडा र चुलोको अभावमा समयमा कहिल्यै खान पाउँदैनौँ, कारागार त यातना गृह जस्तै भएको छ । भवन पुरानो हुँदै गएको छ । क्षमताभन्दा बढी हुँदा सुत्ने कोठा हुदैँन । पालो पालो सुत्नुपर्छ । त्रिपालमुनिको बास छ ।’ कारागारमा शौचालय र खानेपानीको समस्या पनि उस्तै छ । पुरुषका लागि ४ वटा र महिलाका लागि एउटा मात्रै शौचालय छ ।

शौचालय पर्याप्त मात्रामा नभएकै कारण लाइन बस्नुपर्ने बाध्यता रहेको कैदीहरुको भनाई छ । क्षमताभन्दा धेरै कैदीबन्दी हुँदा खाने, बस्ने, सुत्ने ठाउँ मात्रै नभएर, शौचालय, पानीको पनि समस्या हुँदै आएको छ । चार गुणा बढी कैदीहरु राख्नुपर्दा थुप्रै समस्या व्यहोर्नुपरेको कारागार कार्यालय सुर्खेतका जेलर लालबहादुर खत्री बताउँछन् । ‘कारागारको क्षमता भन्दा बढी कैदीहरु बस्न बाध्य छन् ।’ जेलर खत्रीले भने, ‘सुत्ने, बस्ने, शौचालय, पानी लगाएतको समस्या छ । शौचालयमा लाइन लागेर बस्नुपर्छ ।’

पटक पटक प्रदेश सरकारका पदाधिकारी कारागार अनुगमनमा गएपनि अझै कुनै पनि पहल थालेको देखिदैन । कर्णालीमा भएका कारागारको स्तरोन्नतिका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयले ३ करोड ११ लाख रुपैयाँ विनियोजन गरेको छ । मन्त्रालयका अनुसार यसै आर्थिक वर्षमा सुर्खेत, सल्यान, कालिकोट, पश्चिम रुकुम र जुम्ला लगायतका कारागार भवन निर्माण प्रक्रिया अघि बढाइने जनाएको छ ।

यस्तो छ कर्णालीमा कारागारको अवस्था

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कार्यालय कर्णाली प्रदेशले सन् २०१८ मा संकलन गरेको तथ्यांक अनुसार कर्णालीका अधिकांश कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी बस्न बाध्य छन् । त्यसैमाथि भएका कारागार भवन पनि जीर्ण अवस्थामा रहेका छन् । जाजरकोटमा २०४५ सालमा निर्माण गरिएको ‘घ’ श्रेणीको कारागारमा पनि क्षमता भन्दा बढी कैदीबन्दी बस्दै आएका छन् । कारागारमा झण्डै ६ गुणा बढी कैदी बन्दी बस्दै आएका छन् ।

कारागारमा १० जनाको क्षमता भएपनि एक जना महिलासहित ५९ जना बस्न बाध्य छन् । अहिले कारागारमा ४४ कैदी र १५ जना थुनुवा गरी ५९ जना रहेका छन् । कारागारमा शौचालय, पिउने पानीलगायतको समस्या भएको कैदी बन्दीको गुनासो छ । रुकुम पश्चिमको ‘घ’ श्रेणीको जिल्ला कारागारमा पनि क्षमताभन्दा बढी कैदी बन्दी राखिएको छ । २०४१ सालमा निर्माण गरिएको कारागारको क्षमता २५ जनाको छ ।

उक्त कारागार पुरानो र जीर्ण बन्दै गएको छ । तर, क्षमता भन्दा बढी कैदी बन्दी बस्दै आएका छन् । ४४ कैदी र ४९ थुनुवा गरी ९३ जना रहेका छन् । पाँच जना महिलासहित चार वर्षका एक बालक पनि छन् । यसरी क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी जबर्जस्त बस्न बाध्य छन् । कारागारमा पिउने पानी, पुस्तकालय अभाव रहेको छ भने सीपमूलक तालिमको व्यवस्था गर्नुपर्ने कैदीहरु बताउँछन् ।

त्यस्तै, सल्यान कारागारको अवस्था पनि उस्तै छ । ‘घ’ श्रेणीको कारागार रहेको सल्यानमा पनि क्षमताभन्दा बढी कैदी बन्दी बस्न बाध्य छन् । कारागारको २५ जनाको क्षमता छ भने अहिले ५४ कैदी र ४१ थुनुवा गरी ९५ जना रहेका छन् । कारागारमा २० जना महिलासहित दुई वर्ष र नौ महिनाका दुई आश्रित बालक रहेका छन् । दैलेखको ‘घ’ श्रेणीको कारागारमा क्षमताभन्दा बढी कैदी बस्न बाध्य छन् । २०७१ मा बनेको भवन तीनमध्ये दुई पुरुष बस्ने भवन जीर्ण अवस्थामा छन् ।

क्षमताभन्दा बढी कैदी बन्दी भएकाले ओचकोच गरी बस्न बाध्य छन् । जिल्ला कारागार ८० जनाको क्षमता छ तर, एक सय १० जना बस्दै आएका छन् । कारागारमा ९१ कैदी र १९ जना थुनुवा बस्दै आएका छन् । जसमध्ये १४ जना महिला रहेका छन् । दुई वर्षका दुई जना बालक समेत आश्रित छन् । कारागारमा शौचालयमा र पुस्तकालय राम्रो व्यवस्था नभएको कैदीबन्दीको गुनासो छ । साथै उनीहरुले सीपमूलक तालिमको व्यवस्था हुनुपर्ने बताउँछन् ।

कालिकोटको ‘घ’ श्रेणीको कारागारमा क्षमताभन्दा झण्डै तीन गुणा बढी कैदी बन्दी छन् । कारागारमा २५ जनाको क्षमता भए पनि ७० जना कैदी र थुनुवा छन् । अहिले कारागागरमा ४७ कैदी र २३ जना थुनुवा गरी ७० जना रहेकोमा ४ जना महिला रहेका छन् । क्षमताभन्दा बढी कैदीबन्दी भएकाले बस्न समस्या भएको गुनासो छ । ‘ङ’ श्रेणीको डोल्पा कारागारको बन्दी क्षमता २५ जनाको छ ।

तर, २० जना कैद तोकिएका र ६ जना कैद नतोकिएका गरी २६ जना छन् । कारागारमा महिला छैनन् । आश्रित बालबालिका पनि छैनन् । २०३२ सालमा निर्माण गरिएको कारगारका तीन वटै भवन जीर्ण अवस्थामा छन् । त्यसैले वर्षमा पानी चुहिन्छ । सीपमूलक तालिमको व्यवस्था नभएको कैदी बन्दीको गुनासो छ । ‘घ’ श्रेणीको मुगु जिल्लाको कारागार कैदीबन्दी बस्ने अवस्थाको छैन ।

कारागार क्षमता १५ जनाको भए भए पनि भवन जीर्ण अवस्थामा भएकाले निर्माणको प्रक्रियामा रहेकाले यहाँका कैदीबन्दी जुम्ला जिल्ला पठाइएको छ । सन् २०१८ मा मुगुबाट जिल्ला अदालतले कैद तोकिएका एक जना पुरुष र थुनवाका लागि १० पुरुष तथा एक महिलालाई जुम्ला कारागार पठाउने आदेश दिएको थियो । ‘घ’ श्रेणीको २५ जना क्षमताको हुम्ला कारागार पनि निर्माणाधीन प्रक्रियामा छ ।

जिल्लामा कारागार नभएकाले कैदी बन्दी प्रहरीको हिरासतमा बस्न बाध्य छन् । दुई जना कैदी र चार जना थुनुवा गरी ६ जना जिल्ला प्रहरीको हिरासत कक्षमा छन् । अहिले कैदी र थुनुवा सवै पुरुषमात्रै छन् । प्रहरीको हिरासतमा रहेका कैदी बन्दीले आफुहरुलाई नुहाउन र शौचालयको समस्या भएको गुनासो गरेका छन् । हुम्लामै १३ वर्षीय बालकलाई प्रहरीले हिरासतमा राखेको छ ।

२०७५ भदौ २० गत चोरीको आरोपमा अनुसन्धानका लागि उमेर पुगेका थुनुवासँग बालकलाई हिरासतमा राखिएको छ । स्थानीय व्यापारी ग्वामसिंह भण्डारी र मुगा बोहोराले दिएको उजुरीपछि बालकलाई दुईवटा चोरी घटनाको अनुसन्धानकाका लागि गिरफ्तार गरिएको प्रहरीको भनाई छ । यता, बालबालिका सम्बन्धी ऐन २०४८ को धारा १५ मा बालबालिकालाई नेल हत्कडी लगाउन, एकान्त काराबासमा राख्न वा कुनै अपराध गरेबापत कैदको सजाय पाएमा उमेर पुगका कैदीको साथमा राख्न नहुने व्यवस्था छ ।

जिल्ला अदालतले २०७५ असोज ८ गते खोजेका बेला उपस्थित गराउने भन्दै अभिभावकको जिम्मा लगाउने आदेश दिएको थियो । त्यसैगरी, जुम्लाको ‘ङ’ श्रेणीको कारागारको क्षमता २ सय जनाको छ । ५९ कैदी र २० जना थुनुवा गरी ७९ जना छन् । कारागारमा तीन जना महिला रहेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार ०८:०१