
डिलप्रसाद शर्मा । सुर्खेत । फागुन २४ गतेदेखि प्रदेशस्तरीय सुरक्षा गोष्ठी वीरेन्द्रनगरमा हुँदैछ । गोष्ठीमा जिल्लाको शान्ति अवस्थाबारे प्रमुख जिल्ला अधिकारीहरुले जानकारी दिनुपर्ने छ । पूर्व तयारीका लागि छलफल र समन्वयमा निकै व्यस्त बनेकी छन्, जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे ।
‘गृहमन्त्री, १० जिल्लाका प्रजिअ र सुरक्षा निकायबीचको बैठक बस्दै छ त्यसको तयारीमा छौँ’, केहीदिन पहिले कार्यभार सम्हालेकी प्रजिअ दुर्गा बञ्जाडेले व्यस्तता देखाउँदै भनिन्, ‘कसरी जुम्लालाई शान्त र अपराधिक गतिविधिविहीन जिल्ला बनाउने योजना तय गर्दैछौँ ।’ कर्मचारी समायोजन भएसँगै प्रदेशहरुमध्ये विकट मानिने कर्णालीको जुम्ला जिल्लामा प्रजिअको जिम्मेवारी सम्हालेकी छन्, बञ्जाडेले ।

गत शुक्रबारदेखि कार्यभार सम्हालेकी उनी कर्णालीकी एक्ली महिला सिडिओ हुन् । १० जिल्ला रहेको कर्णाली प्रदेशका अन्य जिल्लामा पुरुष सिडिओले काम गरिरहेका छन् । ‘नेपाल सरकारको कानुनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने एक निकाय प्रशासन हो, सरकारको प्रतिनिधिका रुपमा म जुम्लामा आएकी छु,’ उनले भनिन्, ‘नेपाल सरकारको कानुन ऐन नियम र परिधि भित्र रहेर पूर्णतया काम गर्नेछु, यसमा महिला भएकै कारण कमजोर दृष्टिकोणका साथ हेर्नेका लागि उदाहरणीय काम गर्नुछ ।’
उनले दबाब, प्रभाव र रवाफका आधारमा नभई कानुनले दिएको अधिकारमा रहेर काम गर्ने बताइन् । ‘व्यक्तिगत कुनै पूर्वाग्रह छैन्, पेशागत परिधिभित्र रहेर काम गर्छु,’ उनले भनिन्, ‘कानुन पालनामा शून्य सहनशिलता अपनाउँनेछु, दबाब हुँदैन भन्ने भन्ने विश्वास छ ।’ प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको सरुवा भएपछि सिन्धुपाल्चोकमा सहायक प्रमुख जिल्ला अधिकारीको कार्यअनुभव बटुलेकी बञ्जाडेले जुम्लामा प्रमुख जिल्ला अधिकारीको कार्यभार सम्मालेकी हुन् । अर्घाखाँची जिल्लाको छत्रकोट गाउँपालिका मरेङ स्थायी घर भएकी उनले जनप्रशासनमा एमफिल र जेन्डर एण्ड डेभलपमेन्टमा कोरियाबाट स्नातकोत्तर गरेकी छन् ।

सुरक्षाका लागि ‘विशेष टाक्स फोर्स’
पछिल्लो समयमा जुम्लाको सदरमुकाम पनि विकसित भएको छ । कर्णालीको प्रमुख पर्यटकीय स्थलका रुपमा रहेको रारा ताल अवलोकनका लागि गन्तव्यसम्म पुग्ने जिल्ला हो, जुम्ला । सडक सञ्जाल जोडिएसँगै जुम्ला विगतका तुलनामा विकासले फड्को मार्दै छ । शहरका रुपमा विकास भइरहेकाले शान्तिसुरक्षाको स्थिति पनि चुनौतीपूर्ण बन्दै गएको छ । जुम्लामा चोरीका घटनाहरु बढेका छन् ।
चोरी, तस्करी तथा अपराधिक गतिविधि निर्मुल पार्न नयाँ सिडिओका रुपमा कार्यभार सम्हालेकी बञ्जाडेले विशेष सुरक्षा संरचना तय गर्ने योजना बनाएकी छन् । ‘भौगोलिक रुपमा टोलीले अध्ययन गर्छ, कहाँ के कस्तो रणनीति अपनाउँदा शान्त समाज निर्माण गर्न सकिन्छ, सोही अनुसार रणनीति तय गर्छाैं,’ उनले भनिन्, ‘शान्ति सुरक्षाका केही रणनीति गोप्य नै राख्नुपर्छ ।’ अपराधिक गतिविधि रोक्न जिल्ला सुरक्षा समितिसँग सहकार्य गरी विशेष टाक्स फोर्स बनाएर काम गर्ने योजना उनको छ ।

प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेको शान्ति सुरक्षा कायम गर्ने, सार्वजनिक सेवालाई सरल, सहज र पहुँच योग्य बनाउने, कानुन शासनको मुर्तरुप दिन सार्वजनिक सेवालाई पारदर्शी, जवाफदेही मितव्ययी बनाउँदै सुशासन कायम गर्ने, अर्धन्यायीक भूमिकाका रुपमा मुद्दा मामिला हेर्ने कार्य दैनिकरुपमा सम्पादनमा केन्द्रित हुने उनले बताइन् । उनले सुरक्षाको अवस्थाका बारेमा पहिलो चरणमा स्थलगत अध्ययन गर्ने तयारी गरेको बताइन् ।
छाउविरुद्ध लड्ने अठोट
कर्णालीका दुर्गम जिल्लामा छाउपडी प्रथा कायम छ । प्राकृतिक रुपमा महिलाहरु रजश्वला हुँदा बार्ने चलन छ । बर्से्नि छाउँगोठमा बस्ने महिलाहरु ज्यान गुमाउन बाध्य छन् । विगतदेखि नै समाजमा जरा गाडेको छाउप्रथा विरुद्ध थुप्रै अभियान कर्णालीमा सञ्चालन भए । त्यसमा जुम्ला पनि एक हो । कर्णालीका महिलाहरु लक्षित गरि सरकारी तथा गैरसरकारी क्षेत्रबाट थुप्रै लगानी तथा जनचेतनामुलक काम भएपनि छाउ उन्मुलन हुन सकेको छैन् ।

जसको विरुद्धमा प्रजिअ बञ्जाडेले अठोट लिएकी छन् । ‘कर्णालीका महिलाहरु विभिन्न कुप्रथाबाट पीडित छन्, छाउपडी पनि व्याप्त छ,’ उनले भनिन्, ‘छाउपडी किन उन्मुलन हुन सकेन ?, मुख्य कारण पत्ता लगाउनुपर्छ । मान्छेले किन छाउ त्याग्न सक्दैन, धर्मसँग जोडिएको छ कि, खास जड के हो ? त्यसमा शसक्त भएर लाग्नुपर्छ ।’ यूवा पुस्ता लक्षित गरि विद्यालयस्तरमा अभियान सञ्चालन गरे केही मात्रामा सहजता हुने उनको योजना छ ।
‘स्थानीय तहसँग छलफल गरेर किशोरकिशोरी शिक्षामा छाउपडि भनेको नियमित प्रक्रिया हो, यो पाप होइन भन्ने सन्देश प्रवाह गर्नुपर्छ,’ प्रजिअ वञ्जाडेले भनिन्, ‘छाउविरुद्ध घरमा आमा, बुवा, दाजु भाइलाई जोडेर अभियान सञ्चालन गर्दा सहज हुन्छ । स्थानीय तह र गैरसरकारी संस्थासँग सहकार्य गरेर काम गर्ने योजना छ ।’ छाउपडीयुक्त समाज परिवर्तन गर्न मुख्य भूमिका रहने उनले बताइन् । लैगिक हिंसाका घटनामा महिला धेरै पीडित हुने भएकाले न्यूनिकरणका लागि पहल कदमी चाल्ने अठोट उनको छ ।

‘चुनौतीलाई अवसरका रुपमा लिएकी छु’
भौगोलिक विकटताका कारण कर्णाली निकै विकट मानिन्छ । भौतिक विकास हुन सकेको छैन् । डोल्पा र हुम्ला सदरमुकामसम्म सडक सञ्जाल जोडिय पनि सञ्चालनमा छैन् । जिल्ला सदरमुकामसम्म सडक पुगेपनि ग्रामिण क्षेत्रमा गाडी पुग्न सकेका छैनन् । भौगोलिक विकटता र दुर्गम भएकै कारण सरकारी कर्मचारी प्रायः काम गर्न कर्णालीका जिल्लामा रुचाउँदैनन् । तर, प्रजिअ बञ्जाडेको पहिलो रोजाइ नै कर्णाली प्रदेश थियो ।
जनतालाई मनदेखि नै सेवा गर्नुपर्छ भन्ने भाव बोकेकी उनले जुम्लामा काम गर्दा आएका चुनौतीलाई अवसरका रुपमा लिने बताइन् । ‘लगातार हिमपातका कारण काम गर्न सकिएको छैन्, यद्यपि भौगोलिक भन्दा प्राकृतिक चुनौती धेरै छन्,’ उनले भनिन्, ‘विगतको अनुभवलाई प्रयोग गर्दै चुनौतीलाई अवसरका रुपमा परिवर्तन गरेर कार्य सम्पादन गर्नेछु ।’ उनीसँग भुकम्पले निकै प्रभावित जिल्ला सिन्धुपालुञ्चोकमा काम गरेको अनुभव छ । भुकम्प गएपछि अपराधिक गतिविधिसँगै चेलिबेटी बेचबिखन धेरै भए सिन्धुपालुञ्चोकमा ।

त्यहाँबाट दुर्गम र विकटताको अनुभव लिएकी उनले कर्णालीमा काम गर्न रहरले नै आएको बताइन् । ‘कर्णालीमा काम गर्ने रहर लागेर आएको हुँ,’ उनले भनिन्, ‘मेरो एक मात्रै माग कर्णाली थियो । यो अवसर हो । सुगममा खटाइएको भए खुशी हुने थिइन होला कर्णालीमा खुशी छु । यहाँको बस्ती, जनसमुदायप्रतिको भावना पहिलेदेखि नै भएकाले काम गर्न पाए उत्कृष्ट काम गर्ने प्रयास रहिरहने छ ।’

#देश सञ्चार
डिलप्रसाद शर्मा - ।