बाँके । विभिन्न मेला, महोत्सव, धार्मिक लगायतका कार्यक्रममा ब्याण्ड बाजा निकै बज्थे । चर्को स्वरमा बज्ने ब्याण्ड बाजाले ध्वनि प्रदुषण उच्च थियो । नेपालगन्जमा ब्याण्ड बाजा नबजेको सायद कुनै दिन हुन्थेन । मुस्लिम र मधेसी समुदायको बाहुल्यता रहेको नेपालगन्जमा दैनिकजसो बज्ने ब्याण्ड बाजा केही दिनदेखि बज्न छाडेका छन् ।
ध्वनि प्रदुषणले नगरबासीमा नकारात्मक असर परेको गुनासो बढेसँगै जिल्ला प्रशासन कार्यालय बाँकेले सर्वपक्षीय छलफल गरेर धार्मिक गुरुहरुलाई ध्वनि प्रदुषण रोक्न अनुरोध ग¥यो । नेपालगन्जमा ध्वनि प्रदुषण नियन्त्रण गर्न प्रशासनको उक्त छलफ टुङ्गोमा पुग्यो । धर्म गुरुहरुले स्थानीय प्रशासनको उक्त प्रयासमा साथ दिँदै ब्याण्ड बाजा बजाउन रोक लगाउने निर्णय गरे ।
‘हर्न निषेधित क्षेत्र’ कार्यान्वयनमा आइसकेको नेपालगन्जमा ब्याण्ड बाजा पनि चुनौतिका रुपमा देखिएको थियो । प्रमुख जिल्ला अधिकारी मदन भुजेलले विभिन्न कार्यक्रम, मेला, महोत्सव, धार्मिक कार्यक्रममा हुने ध्वनि प्रदुषणले नगरबासीमा नकारात्मक असर परेका गुनासो आएपछि विभिन्न सर्वपक्षीय छलफल आयोजना गरी ब्याण्ड बाजा रोक्ने निर्णयमा पुगेको बताए ।
‘ध्वनि प्रदुषणले स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकाले धार्मिक गुरुहरुलाई ध्वनि प्रदुषण रोक्न अनुरोध गरेपछि उहाँहरु पनि यस विषयमा सहमत हुनुभयो,’ प्रजिअ भुजेलले भने, ‘धर्मगुरुहरुले ब्यान्ड बाजा निरुत्साहित गर्ने निर्णय गरेपछि त्यसको मुस्लिम समुदायबाट स्वागत गरिएको छ । यसले नेपालगन्जको ध्वनि प्रदुषण नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने छ ।’
इस्लाम धर्मगुरुहरुले विवाहमा ब्यान्ड बाजाका नाममा फजुल खर्च बढ्दै गएपछि रोक लगाएको प्रतिक्रिया दिएका छन् । ‘विवाहमा ढोल, तमाशा, डिजे गरेर फजुल खर्च रोक्ने निर्णय धर्मगुरुहरुले गर्नुभएको हो,’ मुस्लिम अगुवा मो.हारुनले भने, ‘देखाउनकै लागि बढी अनावश्यक खर्च रोक्ने प्रयास मुस्लिम समुदायमा गरेका हौं ।’
विवाहमा ब्यान्ड बाजा बजाउन रोक लगाउँदै धर्मगुरुहरुले निर्णयको अटेरी गर्दै विवाहमा ब्यान्ड, बाजा बजाइए निकाह (विवाहमा पढाइने मन्त्र) नपढाउने निर्णयसमेत गरेका छन् । ‘फजुल खर्च विरुद्ध धर्मगुरुहरुको निर्णय राम्रो हो,’ हाजी सकिल अहमद कादरीले भने, ‘इस्लाम धर्मगुरुहरुको निर्णय सबै धर्मले अवलम्वन गर्नु उत्तम हुनेछ ।’
उनले ब्याण्ड, बाजा निरुत्साहित गर्ने धर्मगुरुहरुको निर्णयले संस्कृतिका नाममा हुने ध्वनि प्रदुषण नहुने बताए । ‘धर्मगुरुको निर्णय कार्यान्वयनका लागि मस्जिदहरुबाट आह्वान भइसकेको छ,’ उनले भने, ‘यो विवाहमा हुने फजुल खर्च नियन्त्रणका लागि चालिएको पहिलो कदम हो । यसले ध्वनि प्रदुषण निणयन्त्रणमा आउनुका साथै विवाहमा गरिने फजुल खर्चमा समेत नियन्त्रण हुनेछ ।’
सत्यपाटी - ।