सूचनाको शक्ति - The Power Of Information

        

प्रविधिमैत्री बन्दै स्थानीय सरकार

मोबाइल एप्स सार्वजनीक गर्दै खजुरा गाउँपालिकाका प्रमुख किष्मतकुमार कक्षपति । फाइल तस्वीर

मोबाइल एप्स सार्वजनीक गर्दै खजुरा गाउँपालिकाका प्रमुख किष्मतकुमार कक्षपति । फाइल तस्वीर


बाँके । बाँकेका स्थानीय सरकारहरुले मोबाइल एप्समार्फत खुला स्थानीय सरकार सञ्चालनमा ल्याएसँगै सेवाग्राहीहरु लाभान्वित हुने देखिएका छन् । मोबाइल एप्समार्फत सेवा दिन थालेपछि स्थानीय सरकारका कामहरु प्रभावकारी हुनेमा नागरिकहरु विश्वस्त देखिएका छन् । नेपालगन्ज उपमहानगरपालिकाले मोबाइल एप्समार्फत खुला स्थानीय सरकारको अवधारणा अनुसार मोबाइल एप्स सञ्चालनमा ल्याएका हुन् ।

सेवाग्राहीले सञ्चालनमा आएको उक्त एप्लीकेसन डाउनलोड गरेर उपमहानगरका योजना, बजेट, कार्यक्रमबारे मोबाइलमै हेरेर जानकारी लिन थालेका छन् । खुला सरकारको अवधारणा अनुसार बाँकेका स्थानीय सरकारहरुले सेवालाई प्रविधिमैत्री बनाएँगै यसको प्रभावकारिता बढेको सेवाग्राहीको ठहर छ । नेपालगन्ज–१, धम्बोझीका रविन्द्र शर्माले मोलाइलमै उपमहानगरले गरिरहेका कामहरु जानकारी लिन पाइरहँदा कार्यालयमै बाध्यता हटेको बताए ।

उनले भने, ‘एप्समार्फत सबै जानकारी मोवाइलमै आउँछ, किन उपमहानगरको कार्यालयमै धाउनुपर्यो ?’ सेवाग्राहीले उक्त एप्लीकेसन डाउनलोड गरेर उपमहानगरपालिकाका योजना, बजेट, कार्यक्रमबारे आफ्नो मोबाइलमा जानकारी लिन थालेका छन् । उपमहानगरले दिइने समग्र सेवा प्रवाहमा सर्वसाधारणको सहज पहुँच वृद्धि गर्न नयाँ प्रविधि सुरु गरेसँगै सेवाग्राहीलाई सामान्य जानकारीका लागि कार्यालयमै धानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

प्रविधिको पहुँचले उपमहानगरको गतिविधिबारे जानकारी लिन कार्यालय पुग्नुपर्ने छैन । चाहेको सूचना आफ्नै मोबाइलबाटै प्राप्त गर्न सकिन्छ । वेभसाइटमा उपमहानगरपालिकाको प्रोफाइल, बजेट, परियोजना, सेवा, संसाधन, सूचना तथा गतिविधि, नक्सा आदि सम्पूर्ण तथ्य समावेश छन् । वडाका सम्पूर्ण सेवा, योजना प्रगतिसँगै जनताले नगरप्रमुखसँग हटलाइनमा कुरा गर्न सक्नेसम्मको व्यवस्था मिलाइएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवनशम्सेर राणाले सेवालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन केही चुनौती भए पनि प्रविधिले सेवाग्राहीलाई सहज बनाएको बताए । उनले भने, ‘एप्लिकेसनबाट नेपालगन्ज उपमहानगरभित्र भइरहेका विकासका काम, लागत रकम, सडकको अवस्था र नगरका विभिन्न विषयमा जानकारी लिन सकिन्छ । त्यसबाट स्थानीय सरकार पारदर्शी भए–नभएको पनि सेवाग्राहीलाई जानकारी हुन्छ ।’
कुनै कर्मचारीको काम चित्त नबुझे सोही एप्लिकेसनका माध्यमबाट कमेन्ट गर्न सकिने व्यवस्था छ । मेयर डा.राणाले एप्सले सेवाग्राहीलाई सहज र कर्मचारीलाई जिम्मेवार बनाएको बताउँदै जनतालाई घरमै सेवासुविधासँगै भावी रणनीति बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । सूचना र प्रविधिको क्षेत्रमा उपमहानगरलाई अब्बल बनाउने उद्देश्यले आफ्नै बेभसाइटसहितको मोबाइल एप्स निर्माण गरिएको उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरको भनाई छ ।

उनले भनिन्, ‘एप्सको प्रयोग तथा उपयोगिताबारे सेवाग्राही, कर्मचारी र जनप्रतिनिधिलाई कसरी प्रयोग गर्ने भन्ने चुनौति रहे पनि प्रभावकारिता भने बढिरहेको छ ।’ यसको प्रयोगबारे सेवा लिने र दिने दुवैलाई सिकाउन जरुरी रहेको उपमेयर थापा मगरको भनाई छ । सेवाग्राहीको सहजताको लागि वेबसाइडमार्फत् सूचना प्रवाह गर्दै आएका स्थानीय तहले सूचनालाई प्रभावकारी बनाउन र सूचना तथा जानकारी सहजरुपमा जनतासमक्ष पु¥याउन प्रविधिलाई माध्यम बनाएको उनको भनाई छ ।

उपमहानगर प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले नयाँ प्रविधिले जनतालाई घरमै सेवासुविधासँगै भावी रणनीति बनाउन सहयोग पुग्ने बताए । उपमहानगरका जनप्रतिनिधि र कर्मचारीलाई एप्सको प्रयोगको बारेमा पूर्ण ज्ञान हुने गरी अभिमुखिकरण जरुरी रहेको र उपमहानगरको सूचना प्रविधि शाखाले वडाका प्रत्येक टोलमा मोबाइल एप्सको बारेमा सेवाग्राहीलाई जानकारी गराउनुपर्ने आवश्यकता रहेको देखिएको प्याकुरेलले बताए ।

उपमहानगरले एक वर्षअघि काठमाडौंको लिभिङ्ग ल्याब्स नामक संस्थासंगको सहकार्यमा मोबाइल एप्स निर्माण गरी सेवा दिइरहेको छ । प्रविधिको प्रयोगसँगै गोपनीताका कुरा पनि ख्याल गर्नुपर्ने विज्ञहरुको सुझाव छ । ‘नयाँ प्रविधिबाट स्थानीय सरकारका गतिविधिबारे जानकारी दिनु सकारात्मक हो । तर त्यसको दुरुपयोग हुनुहुँदैन,’ सूचना प्रविधि विषयमा स्नात्तकोत्तर गरिरहेका लक्ष्मण ढकालले भने ।

नेपालगन्ज उपमहानगरका सूचना प्रविधि अधिकृत घनश्याम बर्माले उपमहानगरपालिकाका योजनाहरुको नक्शाङ्कन गरी एप्समा राखिएको जानकारी दिए । सूचना प्रविधि अधिकृत बर्माले भने, ‘नेपालगन्ज उपमहानगरपालिकाको मोवाइल एप्समा उपमहानगरपालिकाका महत्वपूर्ण गतिविधिहरुलाई राख्ने गरिएको छ । तर यसको प्रयोगको बारेमा भने टोलटोल र वडातहमा पुगेर अभिमुखिकरण गर्न जरुरी देखिएको छ ।’

बाँकेमा कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकाले पनि मोबाइल एप्स सञ्चालनमा ल्याइसकेका छन् । जानकी, नरैनापुर र राप्तीसोनारीले मोबाइल एप सञ्चालनको तयारी गरेका छन् भने डुडुवाले प्रकृया सुरु गर्ने जनाएको छ । एप्स सञ्चालनमा ल्याउन नसकेका बाँकी स्थानीय केही सामाजिक सञ्जालमार्फत महत्वपूर्ण र जनसरोकोका विषयसँग सम्बन्धीत सूचना तथा जानकारीहरु सार्वजनिक गर्दै आएका छन् ।

कोहलपुर नगरपालिकाका आइटी शाखा प्रमुख राजेश चापागाईले नगरपालिकामा हुने गतिविधि, क्रियाकलाप, योजना तथा आयोजनाका बारेमा सर्वसाधारणलाई जानकारी दिन मोबाइल एप निर्माण गरी प्रयोगमा ल्याएको बताए । उनले भने, ‘नगरपालिकाको वेभसाइट र मोबाइल एप्स निर्माण गरी सञ्चालनमा आइसकेको छ । अब सेवाग्राहीलाई यसको प्रयोगको बारेमा जानकारी गराउन अभिमूखिकरण गर्नुपर्ने देखिएको छ ।’

उनले एन्ड्रोइड फिचरमा विकास गरिएको एप्समा नगरपालिकाको प्रोफाइल, नीति तथा कार्यक्रम एवं बजेट, गौरवका आयोजनाहरू, नगरपालिका तथा वडाहरूका नागरिक वडापत्र, उजुरी तथा गुनासाहरू समावेश गरिएको बताए । भर्खरै सुरुवात भएका कारण सेवाग्राहीले यसको उपयोगिताको बारेमा अन्यौल देखिएकाले अभिमूखिकरण गर्नुपर्ने उनको भनाई छ । उनले एन्ड्रोइड मोबाइलको प्लेस्टोर एप्लिकेशनमार्फत् गाउँपालिकाले प्रवाह गर्ने सेवा, सुविधा हेर्न सकिने जानकारी दिए ।

घरमै बसेर सेवाग्राहीले आफ्नो स्थानीय तहका सम्पूर्ण गतिविधिबारे जानकारी लिन सक्ने, पालिकाबाट प्रवाह गरिने सेवा, सुविधालगायतका हरेक विषयवस्तुलाई समावेश गरिएकाले मोबाइल एप्सको यथेष्ट प्रयोग गरी लाभान्वित हुनसक्ने दाबी गर्दै स्थानीय तह सूचना तथा प्रविधिमैत्री हुन खोजिरहेका छन् । मोबाइल एप्सलाई अध्यावधिक गरी नयाँ फिचर्सहरू थप्दै जाने खजुरा गाउँपालिकाका प्रमुख किष्मतकुमार कक्षपतिले बताए ।

उनले भने, ‘भविष्यमा थप सुविधायुक्त एप्स बनाइने छ । गाउँपालिकाले प्रबाह गर्ने सेवाको जानकारी घरमै बसेर लिन सकिने गरी मोबाइल एप सञ्चालनमा ल्याएको हो ।’ उनले सूचना तथा जानकारी र सेवा हेर्न सकिने गरी मोबाइल एप सञ्चालनमा ल्याएको बताए । ‘एपमार्फत् गाउँपालिकाले दिने सेवा, कार्यक्रम, सूचना तथा जानकारी, सुझाव तथा गुनासो, समस्या दर्ता, वडा विवरण, महत्वपूर्ण स्थानहरूको जानकारी र आपतकालीन नम्बर उपलब्ध हुनेछ,’ कक्षपतिले भने ।

स्थानीय तहहरुले आफूले दिनेसेवा प्रवाहलाई मोवाइल एप्ससँग जोड्दै प्रविधिमैत्री बनाइरहेका छन् । जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले मोबाइल एप्समार्फत् सबै वडाका जनताले गाउँपालिकाले प्रदान गर्ने सेवा घरमा बसीबसी सजिलै बुझ्न सक्ने दावी गरे । उनले भने, ‘कुनैपनि योजनाको कार्यान्वयनको अवस्था के कस्तो छ भनेर मोबाइलबाटै बुझ्न सकिन्छ भने ती योजनाहरुसँग सम्बन्धित गुनासा पनि एप्लिकेशनमार्फत नै गर्न सकिन्छ ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर सुनारले मोवाइल एप्समार्फत नै सेवा प्रदान गर्न वडाध्यक्ष र सचिवहरूको लागि तालिम दिए पश्चात मोवाइलबाटै सेवा दिन थालिएको बताए । मोबाइल एप्समार्फत गाउँपालिकाका बारे कुनै गुनासा, जिज्ञाशा तथा प्रतिक्रिया दिन सकिने र एप्समार्फत नै गाउँपालिकाका तर्फबाट जिज्ञासा समाधान गरिने उनले बताए । सुनारले भने, ‘जनता र गाउँपालिका दुबैका लागि यो अत्यन्त प्रभावकारी देखिएको छ ।’

सूचनामैत्री बनाउन बाँकेका स्थानीय तहले वेबसाइटसमेत सञ्चालनमा ल्याएका छन् । स्थानीय तहले अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, कार्यकारी प्रशासकीय अधिकृत, महत्वपूर्ण फोन नम्बर, सूचना अधिकारी लगायतको नाम र सम्पर्क नम्वर वेबसाइडमा राखेका छन् । स्थानीय तहहरुले महत्वपूर्ण सूचना, जानकारी, नागरिक बडापत्र, प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, कार्यक्रम र अभियानको जानकारीसमेत वेबसाइटमार्फत् दिँदै आएका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतवार १४:२५