सूचनाको शक्ति - The Power Of Information

        

फागुन २३ देखि विराट ज्ञान महायज्ञ

पोखरा । मादी गाउँपालिका–५ सुनपँदालीस्थित ओमकारेश्वर शिव मन्दिरमा यही फागुन २३ गतेदेखि ३० गतेसम्म श्रीमद्भागवत विराट ज्ञान महायज्ञ हुने भएको छ । ओमकारेश्वर शिवालय सेवा समितिको आयोजनामा हुन लागेको महायज्ञ छ फिटका १०८ वटा जलधारासहितको शिवलिङ्ग र विष्णु श्यया बनाउनका लागि अर्थ सङ्कलन गर्ने उद्देश्यका साथ हुन लागेको हो ।

मन्दिर सञ्चालनका लागि अक्षयकोष स्थापना गर्ने तथा संस्कृत विश्वविद्यालय स्थापनाका लागिसमेत पहल गर्ने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका अध्यक्ष भूपेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । महायज्ञ सम्पन्न गर्न गठित मूल आयोजक समितिसहित विभिन्न २७ वटा उपसमितिले तयारी गरी रहेको छ ।

युवा पण्डित कमलनयन गौतमले भागवत वाचन गर्ने महायज्ञबाट रु दुई करोड सङ्कलन गर्ने लक्ष्य रहेको महायज्ञ मूल आयोजक समितिका सचिव कृष्णप्रसाद गौतमले जानकारी दिए । कास्कीको प्राचीन मन्दिर भएर पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेकाले महायज्ञले मन्दिरको प्रचारप्रसारमा समेत टेवा पु¥याउने विश्वास लिइएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार ११:३९