सूचनाको शक्ति - The Power Of Information

        

विदेश भ्रमणमा जान जनप्रतिनिधिबीच गोलाप्रथा !

बाँके । विदेश भ्रमणमा जानका लागि नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधिहरुबीच गोलाप्रथा गरिएको छ । विदेश भ्रमणका लागि उपमहानगरपालिकामा आएको कोटामा को जाने भन्ने बिषयमा चर्को विवाद भएपछि गोलाप्रथाबाट छनौट गरिएको हो ।

उपमेयर उमा थापा मगरले फेरि पनि आफू नै जान पाउनुपर्ने अडान लिएपछि उपमहानगरपालिकामा काँग्रेस निकट जनप्रतिनिधिहरुबीच विवाद बढेपछि गोलाप्रथा गरिएको हो । उपममहानगरमा आएको स्वीजरल्याण्ड, थाइल्याण्ड र दुबई भ्रमणको कोटाका लागि विवाद चर्केपछि उपमहानगरपालिकाका जनप्रतिनिधिबीच गोलाप्रथा गरिएको नेपालगन्ज–११ का वडाध्यक्ष उज्जवलसिंह राठौरले जानकारी दिए ।

‘जनप्रतिनिधिबीच विवाद चर्केपछि गोलाप्रथा गरेका छौं,’ वडाध्यक्ष राठौरले भने, ‘उपमेयर थापाले आफू नै जान पाउनुपर्ने अडान राखेपछि गोलाप्रथा गर्नुपरेको हो ।’ उपमेयरले जिद्दी गरेपछि उपमहानगरपालिका र काँग्रेस पार्टीमा समेत विवाद बढेपछि मतदान गर्नुपरेको उनले बताए । उनले भने, ‘काँग्रेस समर्थित जनप्रतिनिधिबीच गोलाप्रथा नै भयो ।’ गोलाप्रथा अनुसार उपमेयर थापा मगर नै छनौटमा परेकी छन् ।

वडाध्यक्ष राठौरले भने, ‘एकपटक अमेरिका गएर आइसकेका कारण उपमेयरले यसरी फेरि जान पाउनुपर्ने भनि अडान लिन नहुने हो । जिद्दी गर्नेसँग कसको के लाग्छ ?’ भ्रमणका लागि आएको कोटामा यसअघि पनि उपमेयर थापा अमेरिका गएकी थिइन् । ‘कसैले एकपटक पनि नपाउने कोही लगातार विदेश भ्रमणमा गइरहने, यो राम्रो भएन,’ राठौरले भने ।

अमेरिका गएर स्थानीय तह सञ्चालनका बिषयमा बहस गरे पनि नेपाल फर्केपछि त्यहाँ सिकेका कुनै पनि उपलब्धी नेपालगन्जमा लागु गर्न नसकेको भन्दै काँग्रेस निकट जनप्रतिनिधिले नै असन्तुष्टि व्यक्त गरेका छन् । ‘फेरि त्यस्तै प्रतिनिधिलाई पठाउँदा के फाइदा ?’ वडाध्यक्ष राठौरले भने, ‘सहभागीता बाहेक उहाँसँग अरु अपेक्षा गर्न सकिदैन ।’ गोलाप्रथाबाट उपमेयर थापासहित काँग्रेस निकट वडाध्यक्षहरु विन्दुभुषण बस्नेत र सीताराम बर्मा विदेश भ्रमणका लागि छनौटमा परेका छन् ।

विदेश भ्रमणका लागि आएका १० वटा कोटामध्ये नेकपा, तीन काँग्रेस र राप्रपालाई क्रमशः तीन/तीन र एउटा फोरमको भागमा परेको थियो । काँग्रेस बाहेकका दलहरूले सहमतिकै आधारमा नामावली दिए पनि उपमेयरको जिद्दीले काँग्रेस निकट जनप्रतिनिधिबीच मतदान भएको थियो । उपमहानगरमा व्यापक विवाद भएपछि गोलाप्रथा गरिएको बताउँदै काँग्रेसभित्रै आन्तरिक विवाद भएकोले सबै कुरा बाहिर भन्न नमिल्ने काँग्रेस नेता तथा वडा नं. १२ का वडाध्यक्ष बुद्धिसागर सुवेदीले बताए ।

उपमहागरपालिकामा बिदेश जानका लागि आएको कोटामा काँग्रेसका जनप्रतिनिधिबीच सहमति हुन नसक्दा मतदान गर्नुपरेको खबरले आगामी रणनीतिका सम्बन्धमा पार्टीलाई सोच्न बाध्य बनाएको काँग्रेसका बाँके सचिव तप्त पौडेलले बताए । उनले भने, ‘बिदेश जानकै लागि गोलाप्रथा हुँदा यसले राम्रो सन्देश दिएन, आगामी दिनमा यस विषयमा पार्टीले मापदण्ड तय गर्नेछ ।’

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार ०७:४०