सूचनाको शक्ति - The Power Of Information

        

मन्त्री अधिकारीको शव अन्तिम श्रद्धाञ्जलीका लागि पोखरा प्रदर्शनी केन्द्रमा

पोखरा । ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको शव अहिले अन्तिम श्रद्धाञ्जलीका लागि पोखराको प्रदर्शनी केन्द्रमा राखिएको छ । मन्त्री अधिकारीको शव केहीबेर अगाडि पोखरा ल्याइएको हो । यसअघि मन्त्री अधिकारीसहित दुर्घटनामा मृत्यु हुने सातै जनाको शव सामूहिक श्रद्धाञ्जलीका लागि काठमाडौँको टुँडिखेलमा राखिएको थियो ।

जिल्ला पार्टी र परिवारको आग्रहमा उनको शव अन्त्यष्टिका लागि पोखरा ल्याइएको हो । बुधबार मन्त्री अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङको पाथिभरास्थित सिस्नेखोला क्षेत्रमा दुर्घटना भएको थियो। सो दुर्घटनामा मन्त्री अधिकारीसहित एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसिचव युवराज दाहाल, मन्त्रीका अंगरक्षक अर्जुनकुमार घिमिरे र प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभया र हेलिकोप्टर क्याप्टेन प्रभाकर केसीले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार १४:२०