सूचनाको शक्ति - The Power Of Information

        

चोकमै छरपष्ट भयो नेपालगन्ज उद्योग वाणिज्य संघको अर्को कुकर्म !

बाँके । पछिल्लो समयमा आर्थिक अपारदर्शीताको आरोप खेपिरहेको नेपालगन्ज उद्योग वाणिज्य संघको अर्को कुकर्म बाहिर आएको छ । सभागृह भन्दै मेला महोत्सवको आम्दानीमा हिनामिना गरिरहेको वर्तमान नेतृत्वले नेपालगन्जका चोेकचोकमा नेपालको राष्ट्रिय झण्डाको अपमान गरिरहेको छ । नेपालगन्जको मुटु त्रिभुवन चोकमा राष्ट्रिय झण्डालाई तोरणसँगै बाँधेर कच्याककुचुक पारिएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघले आगामी प्रादेशिक महोत्सवका लागि भन्दै राष्ट्रिय झण्डाको गरिमामाथि खेलवाड गर्दै आफूखुसी गरेको छ । नेपालको झण्डालाई अपमानित गर्दै संघले नेपाल र नेपालीकै इज्जतमाथि खेलवाड गर्दासमेत स्थानीय प्रशासन भने मौन छ । आगामी प्रादेशिक महोत्सव सञ्चालनका लागि प्रचारप्रसार गर्ने क्रममा नेपालगन्जको त्रिभुवन चोकमा रहेको राष्ट्रिय झण्डालाई स्वतन्त्ररुपमा फहरिन नदिई झण्डालाई संघले अंकुस लगाएको हो ।

आन, मान र शानले भरिएको नेपालको राष्ट्रिय झण्डालाई नै स्वतन्त्ररुपमा फहरिन नदिई तोरणसँगै कच्याककुचुक पारेर बाँधिएको छ । तोराणसँगै कच्याककुचुक पारेर त्रिभुवन चोकमा बन्दी बनाइएर बाँधिएको झण्डाले करिब एक सय मिटर पूर्वतर्फ रहेको नेपालगन्ज उद्योग वाणिज्य संघको कुकर्मलाई गिज्याइरहेको छ ।

उद्योग वाणिज्य संघले राष्ट्रिय झण्डामाथि गरेको अत्याचार नेपालगन्जमा मात्र सिमित भएन । यसले सामाजिक सञ्जालमा समेत खुबै चर्चा बटुलिरहेको छ । राष्ट्रिय झण्डाको पहिचान र मूल्य मान्यतामाथि संघले अभद्र व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा उद्योग वाणिज्य संघले गरेको कुकर्ममाथि व्यंग्य गरिएको छ ।

पत्रकार कमलराज न्यौपाने झण्डाको तस्वीर फेसबुकमा राख्दै लेख्छन्, ‘महोत्सवको नाममा राष्ट्रिय झण्डाको अवस्था । धन्य हो, नेपालगन्ज उद्योग वाणिज्य संघ ।’ आफूलाई असली राष्ट्रवादी संज्ञा दिने नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य नेतृत्व संघले प्रादेशिक महोत्सवका नाममा चोकको स्वरुप विगार्दै झण्डाको गरिमामाथि खेलवाड गरेको स्थानीय राजु थापा बताउँछन् ।

राष्ट्रकै प्रतिकको रुपमा रहेको झण्डाको दुरुपयोग गर्नु जघन्य अपराधको रुपमा लिने गरिन्छ । ‘साँझ विहान त्यही बाटो हिड्ने संघका अध्यक्ष वैश्य मैलो भएको झण्डा फेर्न अप्ठेरो मान्छन्, झण्डाको ईज्जतमाथि खेलवाड गरि खोक्रो राष्ट्रवाद झल्काउछन्,’ एक स्थानीयले भने, ‘राष्ट्रिय स्वाधीनताको प्रतीक र पहिचानको परिचायक राष्ट्रिय झण्डाको दुरुपयोग गर्न कोही कसैले पनि पाउँदैन ।’ यसबारेमा स्थानीय प्रशासनले यसको सोधखोज गरी कारबाही भने गर्नसकेको छैन ।

पछिल्लो समयमा अझ भनौँ लोकतन्त्र आएपछि भने राष्ट्रिय झण्डाको दुरुपयोग बढ्न थालेको हो । नेपालको झण्डा पछिल्लो समयमा आफुखुशी प्रयोग गरी दुरुपयोग गर्ने कार्य बढेको छ । राष्ट्रिय चिन्हहरूको प्रयोग कहाँ कस्ले गर्ने र गर्न पाउने भन्ने प्रष्ट उल्लेख भए पनि आफुखुशी प्रयोग गरिँदा स्थानीय प्रशासन मौन छ । ती चिन्हहरुमध्ये राष्ट्रिय झण्डा पनि एक हो । विश्वमा अनौठो र अरु देशको भन्दा फरक खालको झण्डा नेपालकै रहेको कुरा सर्वविदितै छ ।

के छ कार्यविधिमा ?

कार्यविधिमा व्यापारिक प्रयोजनको लागि र विज्ञापनको उद्देश्यले राष्ट्रिय झण्डाको प्रयोग गर्न पाइने छैन भनेर उल्लेख गरे पनि व्यवहारमा त्यो लागु हुनसकेको छैन । राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कार्यविधि २०६९ ले विभिन्न सातवटा शर्तहरु राखी राष्ट्रिय झण्डाको दुरुपयोग गर्न पाइने छैन भनेको छ । तर दुरुपयोग गरे नगरेको कसले हेर्ने र दुरुपयोग गर्नेलाइ के कस्तो कारवाही गर्न सकिने भन्ने कुरो चाहि ठ्याक्कै तोकेको छैन ।

कार्यविधिको परिच्छेद ४ मा कुनै पनि जिल्लाको हकमा आफ्नो कार्यक्षेत्र भित्र राष्ट्रिय झण्डाको दुरुपयोग भए नभएको अनुगमन गर्ने भनेर प्रमुख जिल्ला अधिकारीलाई तोकेको छ । गृहमन्त्रालयले बनाएको कार्यविधिको दफा ११ मा राष्ट्रिय भण्डाको दुरुपयोगमा निषेध गरिएको छ । राष्ट्रिय झण्डाको अपमान हुने गरी कुनै कार्य गर्न नहुने, झण्डा च्यात्न वा फ्याँक्न नहुने र फहराउने प्रकृतिको कार्यमा बाहेक अरु काममा प्रयोग गर्न नहुने कार्यविधिमा उल्लेख छ ।

पछिल्ला वर्षहरुमा मानिसहरू मनलाग्दी ढंगले राष्ट्रिय झण्डाको प्रयोग गरी देशकै इज्जतमाथि खेलबाड गरिँदासमेत सरकार मौन बसेकै कारण दुरुपयोग बढेको छ । नेपालको राष्ट्रिय झण्डाको धेरै दुरुपयोग हुनथालेपछि सरकारले ‘राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कार्यविधि २०६९’ बनाए पनि त्यो सरकारी पक्षबाटै कार्यान्वयन नहुँदा राष्ट्रिय झण्डाको दुरुपयोगमा वृद्धि हुँदै गएको हो । यसको ज्वलन्त उदाहरण नेपालगन्जको त्रिभुवन चोकमा नेपालगन्ज उद्योग वाणिज्य संघले गरेको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार १४:५९