सूचनाको शक्ति - The Power Of Information

        

सरकारद्वारा आज राष्ट्रिय शोकको घोषणा, देशभर सार्वजनिक बिदा

काठमाडौँ । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । सरकारले एक दिने राष्ट्रिय शोकको घोषणा गर्दै बिहीबार सार्वजनिक बिदा दिएको हो । बुधबार भएको हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सबै सातजनाको निधन भएको छ ।

मन्त्री अधिकारीसहित चारजनाको शव बुधबार बेलुका सेनाको नाइटभिजन हेलिकप्टरले घटनास्थलबाट लिफ्ट गरेर सुकेटार विमानस्थल ल्याएको थियो । बाँकी तीनजनाको शव बिहीबार बिहान सुकेटार विमानस्थल ल्याउने तयारी छ । दुर्घटनापछि बुधबार बसेको मन्त्रीपरिषदको आकस्मिक बैठकले मन्त्री अधिकारीको निधनमा शोक व्यक्त गर्दै एक दिने राष्ट्रिय शोकको घोषणा गरेको हो ।

निर्णयअनुसार स्वदेशका सरकारी एवं सार्वजनिक कार्यालयहरु, शैक्षिक संस्थाहरु र विदेशस्थित नेपाली दूतावास तथा नियोगहरुलाई एक सार्वजनिक बिदा दिनुका साथै सबै सरकारी कार्यालयहरुमा बिहीबार राष्ट्रिय झन्डा आधा झुकाइनेछ । यसका साथै मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने भएको छ ।

मन्त्रीपरिषदको निर्णयमा भनिएको छ, ‘उक्त अकल्पनीय, अप्रत्यासित र दुस्खद घटनाबाट राष्ट्रलाई अपुरणय क्षति पुगेको ठहर गरिएको छ । यस घडीमा गहिरो दुस्ख र शोक व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै सरकारले शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना र सहानुभूति प्रकट गर्दछ ।’

यो सँगै सरकारले हेलीकप्टर दुर्घटनाबारे छानविन र त्यसको सत्यतथ्य पत्ता लगाउन एक चार सदस्यीय समिति गठन गरेको छ । स्रोतका अनुसार पूर्वपर्यटन सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरिएको हो । बुधबार उनीसहित अन्य ६ जना सवार एयर डायनेष्टीको हेलीकप्टर ताप्लेजुङमा दुर्घटनाग्रस्त हुँदै सबै यात्रुको निधन भएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार ०७:२८