सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तहमा चन्दा आतंक, जनप्रतिनिधिले ५० हजारसम्म दिएको खुलासा

बाँके । नेत्रविक्रम चन्द ‘विप्लप’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकर्ता बाँकेमा समूहगत रूपमा उपस्थित हुँदै ‘पार्टीको एकीकृत जनक्रान्ति’ का नाममा सहयोग माग्ने गरेका छन् । नेकपा (विप्लप) ले बाँकेका स्थानीय तह, सरकारी कार्यालय, विद्यालय, गैरसरकारी संस्थामा चन्दाको दबाब दिएको छ । स्थानीय तहमा विकास बजेटको दुई प्रतिशत रकम अनिवार्य चन्दा दिन दबाब दिँदै जिल्ला जनपरिषदका नाममा पत्र पठाएको छ ।

‘विप्लप’ नेतृत्वको नेकपाले जिल्ला जनपरिषदका नामबाट बाँकेका सबै नगर र गाउँपालिकालाई पत्र पठाउँदै विकास बजेटको दुई प्रतिशत रकम उपलब्ध गराउन दबाब दिएको हो । पार्टीको सर्कुलरअनुसार भन्दै सबै स्थानीय तह प्रमुखलाई पत्र पठाइएको खुलेको छ । पत्रबाहेक मौखिकरूपमा धम्कीपूर्ण भाषाको प्रयोग गर्दै रकम छिटो उपलब्ध गराउन दबाब दिने गरिएको छ । पत्रअनुसार धेरै स्थानीय तहका जनप्रतिनिधिले ‘बार्गेनिङ’ गरेर रकम बुझाएका छन् ।

केहीले विकास बजेटबाटै र कतिपयले व्यक्तिगत रूपमा रकम दिइसकेको जनाएका छन् । चन्दा दबाबमा वडाध्यक्षसमेत परेका छन् । यहाँका धेरै गाउँपालिका वडाध्यक्षले आम्दानीको स्रोतअनुसार पाँच हजारदेखि १० हजार रुपैयाँसम्म उपलब्ध गराएको खुल्न आएको छ । त्यस्तै गाउँपालिका अध्यक्षले रु.५० हजारसम्म उपलब्ध गराएको विप्लप निकट स्रोत बताउँछ । उक्त पार्टीका नाममा नगर र गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षलाई पत्राचार गरी रकम माग गरिएको छ ।

कतिपय जनप्रतिनिधिले चन्दा दिएको स्वीकार गरेका छन् । आर्थिक सहयोग सम्बन्धमा विप्लप माओवादीका नाममा लिखित पत्र आएको थियो एक जनप्रतिनिधीले भने ‘हामीले रु.५हजारदेखि १० हजार सहयोग ग¥यौं ।’ बाँकेका उद्योगी व्यवसायीसँग पनि चन्दा माग गरिएको छ । एक–दुई महिनाअघि आर्थिक सहयोग गर्नु भनेर पत्र आएको एक व्यवसायीले भने, ‘व्यवसायी चन्दा आतंकमा परेका छन् । चन्दा मागेका थिए, त्यो सत्य हो, तर, मिलाएर पठाइयो, चन्दा दिएको होइन ।’

नेपालगन्ज उपमहानगरपालिकाका एक वडाध्यक्षका अनुसार नगरपालिकामा पनि रकम माग गर्दै पत्र आएको छ । अहिले उपमहानगरपालिकाका प्रतिनिधी र विप्लपका प्रतिनिधीबीच गोप्यरूपमा ‘वान टु वान’ वार्ता भइरहेको एक जनप्रतिनिधि बताउँछन् । विप्लपका कार्यकर्ताले तीनथरी रकम माग्दै दबाब दिने गरेका छन् । बाँकेका विभिन्न स्थानीय तहमा अहिले यो समस्याले जारे गाडेको छ । दबाब बढेपछि धेरै अध्यक्षले प्रशासकीय अधिकृतसँग मिलेर रकम उपलब्ध गराएका छन् ।

नगरपालिका र गाउँपालिकाको बजेट दुर्गम गाउँ, गरिब बस्ती र सुकुम्बासी बस्तीमा पुग्न नसक्ने र नेता कार्यकर्ताको पहुँचका भरमा केन्द्रित हुने भएकाले त्यस्तो रोक्न र पार्टीको नीतिअनुसार विकासका योजनामा खर्च गर्न रकम माग गरिएको विप्लप स्रोतले बताएको छ । निर्माण व्यवसायीबाट पनि ठेक्काबापतको रकमबाट दुई प्रतिशत चन्दा माग गरिएको छ । शिक्षक, कर्मचारीबाट दुई दिनको तलब माग गरिएको पार्टी स्रोतले बताएको छ । कार्यकर्तादेखि पार्टीका हरेक क्षेत्रमा काम गर्ने कार्यकर्ताका लागि रकमको आवश्यकता बढेकाले पार्टीको निर्देशनअनुसार चन्दा उठाउन लागेको विप्लपले बताएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार २१:२७