सूचनाको शक्ति - The Power Of Information

        

हेलिकप्टर दुर्घटना अपडेट : जिवित कोही रहेनन्, मन्त्री र पिएसओबाहेक अरु चिनिएनन्

काठमाडौं । हेलिकप्टर दुर्घटनामा सबै सात जनाको निधन भएको दुखद् खबर प्राप्त भएको छ । पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ६ यात्रु र एक पाइलटको मृत्यु भएको विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले जानकारी दिए । चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना स्थलमा सातै जनाको शव फेला परेको हो । शवको पहिचान हुन सकेको छैन ।

आज बिहान करिब साढे ११ बजे मन्त्री अधिकारीसहित ६ जना यात्रुसहित ७ जना चढेको हेलिकप्टर पाथीभार जाँदै गर्दा दुर्घटना परेको थियो । गृह प्रवक्ता रामकृष्ण सुवेदीले सातै जनाको निधन भएको र शब ल्याउन लागिएको जानकारी दिए । ’मन्त्री अधिकारी र उहाँका पिएसओको शव पहिचान गर्ने अवस्थामा रहेको र अन्यको भने सनाखत हुन सकेको छैन,’ सुवेदीले भने । एयर डाइनेस्टीको नाइन एन एएमआइ कल साइनको हेलिकप्टर दुर्घटना भएको थियो ।

मन्त्री रवीन्द्र अधिकारीसँगै चर्चित व्यवसायी आङ छिरिङ शेर्पा पनि हेलिकप्टरमा थिए । उनी निजी क्षेत्रको हवाई सेवा यति एयरलाइन्सका मालिक हुन् । हेलिकप्टरमा युवराज दाहाल पनि थिए । उनी प्रधानमन्त्री कार्यालयमा कार्यरत छन् । उनी उपसचिव हुन् । त्यस्तै नागरिक उड्ययन प्राधिकरणका निर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै एरोड्रम इन्जिनियरिङ विभागका प्रमुख ध्रुवदाश बजिमय, अर्जुन घिमिरे पनि थिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार १६:५८