सूचनाको शक्ति - The Power Of Information

        

अपडेट : उडेको १० मिनेटमै पड्किएको थियो पर्यटनमन्त्री अधिकारी सवार हेलिकोप्टर

एयर डाइनेस्टीको हेलिकप्टर

एयर डाइनेस्टीको हेलिकप्टर


काठमाडौं । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको छ । तेह्रथुमको अठराई चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएको टोली फर्किने क्रममा दुर्घटनामा परेको हो ।

एयर डाइनेस्टीको सो हेलिकप्टर पाँचथरको पाथिभराबाट उडेको १० मिनेटमै कडा आवाजसाथ पड्किएको प्रदेश १ का प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले बताए । न्यौपानेले ताप्लेजुङको पाथिभराबाट उडेको केहीबेरमै पड्किएको आवाज सुनिएको र त्यसपछि हेलिकोप्टर सम्पर्कबिहीन भएको थियो ।

हेलिकप्टर सम्पर्कविहीन भएपछि घटनास्थलमा प्रहरी गरिएको छ । सूचना पाउनासाथ ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयका डीएसपी सञ्जयसिंह थापाको नेतृत्वमा ११ जनाको टोली दुर्घटनास्थलमा पठाइएको थियो । तेह्रथुमकी प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईंका अनुसार मन्त्रीसहितको टोली अठराई चुहानडाँडाको अवलोकनपछि ताप्लेजुंगतर्फ लागेको थियो ।

‘जिल्लाको आठराईस्थित चुहान डाँडामा निर्माण गर्ने भनिएको विमानस्थलको अवलोकन गरेर फर्की सक्नु भएको हो । यहाँको काम सकेर तेह्रथुमसँगै जोडिएको ताप्लेजुङतर्फ लाग्नुभएछ,’ तेह्रथुमकी प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईंले भनिन्, ‘पाथिभराको दर्शन गर्न जाने क्रममा हेलिकोप्टर दुर्घटनामा परेको हो ।’

काठमाडौँबाट बिहान आठ बजे उडेको कल साइन एएमआई (अल्फा माइक इन्डिया) सो हेलिकप्टर दुर्घटनामा परेको गृहसचिव प्रेमकुमार राईले राज्य व्यवस्था समितिको बैठकमै जानकारी गराएका थिए । दुर्घटना भएको भनिएको हेलिकप्टरमा प्रभाकर केसी क्याप्टन थिए । मन्त्री अधिकारसँगै हेलिकोप्टरमा यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरेसहित सात जना रहेका थिए । उनीहरु सबैको मृत्यु भएको पुष्टि भइसकेको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार १६:२४