सूचनाको शक्ति - The Power Of Information

        

अपडेट : हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित ६ जनाको मृत्यु

काठमाडौं । ताप्लेजुङमा दुर्घटनामा परेको हेलिकोप्टरमा पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित ६ जना सवार रहेको बताइएको छ । हेलिकोप्टरमा पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, विरेन्द्र प्रसाद श्रेष्ठ, युवराज दाहाल, र अर्जुनकुमार घिमिरे सवार रहेको बताइएको छ । हेलिकप्टरमा सवार सबैको शव फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले पुष्टि गरेको छ ।

ताप्लेजुङस्थित पाथीभरा मन्दिर नजिकैको भिरमा मन्त्री अधिकारीसहित ६ जना सवार हेलिकप्टर दुर्घटनामा परेको हो । एयर डाइनेस्टीका अनुसार पाइलट प्रभाकर केसीले चलाएका थिए । यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद शेरचन, प्रधानमन्त्री केपी शर्मा ओलीका सरकारी स्वकीय सचिव युवराज दाहालसहित ६ जना सवार थिए ।

स्थानीयबासीले हेलिकप्टर भिरमा दुर्घटनाग्रस्त भएको प्रहरीलाई जानकारी दिएका थिए । खबर आएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी र नेपाली सेनाको टोली दुर्घटनास्थलतर्फ प्रस्थान गरेको थियो । पर्यटनमन्त्रीसहितको टोली चढेको ताप्लेजुङको फुङलिङस्थित विकट तारेढुंगा भिरमा ठोक्किएको थियो । हेलिकप्टर बिहान ११ बजेर ३० मिनेटमा तेह्रथुमको चुहानडाँडा विमानस्थलबाट काठमाडौंका लागि उडेको थियो । काठमाडौंका लागि उड्नुअघि मन्त्रीले करिब एक घन्टा ४० मिनेट चुहानडाँडा विमानस्थलको अनुगमन गरेका थिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार १५:४०