बाँके । हात्तीपाइलेविरुद्धको औषधि निशुल्करुपमा खुवाउन आजदेखि बाँकेमा नवौं चरणको हात्तीपाइले रोग नियन्त्रण अभियान आजदेखि सुरु भएको छ । जिल्लाका विभिन्न स्थानमा औषधि खुवाउने व्यवस्था गरिएको छ । तर बुथमा सामान्य नागरिकमात्रै होइन, शिक्षित नागरिकले नै औषधि खान मानिरहेका छैनन् ।
विगतमा स्वयंसेविकामार्फत औषधि खुवाउँदै आए पनि अभियान प्रभावकारी नदेखिएको भन्दै यस पटकदेखि स्वास्थ्यकर्मीलाई नै बुथमा खटाइएको छ । सबै स्थानमा जनचेतना दिँदै औषधि खुवाउने व्यवस्था गरिए पनि शिक्षितहरुले नै औषधि खान नमान्दा अभियान प्रभावकारी नहुने आंशका गर्न थालिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा अधिकृत केशबराज गौतमका अनुसार सहरमा बस्ने र शिक्षितहरुबाटै औषधि सेवन नभएका रोग नियन्त्रणमा चुनौती देखिएको छ । हात्तीपाइले रोगको उच्च जोखिममा रहेको बाँकेमा यसको न्यूनीकरणका लागि आमऔषधि सेवन अभियान नवौं चरणसम्म पुग्दा पनि शिक्षितले नै औषधि खान नमान्दा समस्या भएको छ ।
हात्तीपाइले रोग निर्मुल हुने भइसक्नुपर्ने बाँकेमा यसको अवस्था झन् डरलाग्दोरुपमा देखिएको गौतमले बताए । उनले भने, ‘यो समस्या शिक्षितहरुले औषधी नखादा आएको हो । गामिण क्षेत्रका प्राय सबैले औषधि सेवन गरे पनि शहरी क्षेत्रमा न्यून मात्रामा औषधि खाने गरिएकाले समस्या यथावत रहेको छ ।’ शहरमा बसोबास गर्ने शिक्षित समुदाय नै औषधि सेवन गर्न नमान्ने गरेको पाइएको छ ।
शिक्षित समुदाय नै आम औषधि सेवन गर्न नमान्ने भएपछि सरकारले हात्तीपाइले रोगको निवारणमा अपेक्षाकृत सफलता हासिल गर्न सकेको छैन । प्रत्येक व्यक्तिसम्म औषधि नपुग्नु र बिभिन्न डरत्रासका कारण सवैले औषधी प्रयोग नगर्नुले उपलब्धी हासिल गर्न नसकिएको स्वास्थ्यकर्मी बताउँछन् । नेपाललाई सन् २०२० सम्म हात्तीपाइले रोग निवारण गर्ने उद्देश्य अनुरुप आजदेखि बाँकेमा हात्तीपाइले रोगविरूद्ध औषधि खुवाउन अयिभान सञ्चालन गरिरहेको छ ।
हात्तीपाइले निवारणका लागि सञ्चालित कार्यक्रमबाट अघिल्ला बर्षको भन्दा केही कम भएको जनस्वास्थ्य कार्यालयले दाबी गरेको छ । तर, जुनरुपमा कार्यक्रम सञ्चालन गरिएको छ, त्यस अनुरुप सन्तोष भएको देखिदैन । गतबर्ष जन स्वास्थ्य कार्यालय बाँकेले हात्तीपाइले रोगबिरुद्धको औषधि खुवाउने अभियानमा नेपालगन्ज नगरपालिकामा ४२ र जयसपुरमा ४९ प्रतिशतले मात्र औषधि सेवन गरेको तथ्याङ्क सार्वजनिक भएको थियो ।
नेपालगन्ज नगर क्षेत्र र जयसपुर स्वास्थ्य चौकीको कार्यक्षेत्रमा हात्तीपाइले रोगबिरुद्धको औषधि अत्यन्तै न्यूनले मात्र खाने गरेका छन् । विशेषगरि हात्तीपाइले रोगको औषधिको प्रयोग सम्बन्धि फैलिएको गलत सूचना प्रमुख चुनौती भएको जनस्वास्थ्यका कर्मचारी रामबहादुर चन्दले बताए । यो औषधि खाँदा विरामी हुने वाकवाकी लाग्ने भन्ने गलत सूचना फैलिएका कारण मानिसहरुले औषधी खान नमानेको उहाँको भनाई छ । विगतमा औषधि सेवनले केही व्यक्ति बिरामी र केहीको मृत्यु भएको हल्लाका कारण औषधि सेवन गर्नेहरुमा फैलिएको त्रास अहिलेसम्म कायमै छ ।
२०६७ सालदेखि बाँकेमा हात्तीपाइले रोगविरुद्धको अभियान चलिरहेको छ । सुरुवातमा बाँकेमा ९१ प्रतिशतले औषधि खाएको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांक छ । तर सो क्रममा केही व्यक्तिको मृत्यु भएको हल्ला फिजाइँएपछि त्यसपछिका अभियानमा औषधि सेवन गर्नेको संख्या घट्दै गएको छ । जसका कारण सरकारी लक्ष्य पुरा हुन सकेको छैन । सोचे अनुसारको नतिजा नआएपछि सरकारले बाँकेमा लगातार हात्तीपाइले रोगविरुद्धको अभियान चलाइरहेको छ ।
छैठौ पटकसम्म अभियान चलेपछि बिरामीको संख्या एक प्रतिशतभन्दा कम हुनुपर्ने भए पनि बाँकेमा पाँच लाख ८८ हजार २७८ जनसंङख्या रहेकोमा करिब १३ प्रतिशतमा हात्तीपाइलेको संक्रमण रहेको देखिएपछि अभियान निरन्तर चलिरहेको छ । अभियान शुरु भएको ६ वर्षपछि २०७२ मा सर्वे गर्दा बाँकेमा हात्तीपाइलेका रोगी १६ प्रतिशतमा झरेको थियो । त्यसपछि २०७४ कात्तिकमा सर्वे गर्दा हात्तीपाइलेको रोगी १३ प्रतिशत देखियो ।
सो समयमा कोहलपुरको रझेना, नेपालगन्जको वडा नं.४ र बैजापुरमा सर्वेक्षण गरिएको थियो । रझेनामा ३२४ जनाको नमुना परीक्षण गर्दा ७२ जनामा हात्तीपाइले भेटिएको थियो । नेपालगन्जमा ३०० जनाको नमुना जाँच गर्दा २५ जनामा हात्तीपाइले भेटिएको थियो । बैजापुरमा ३१६ जनाको नमुना जाँच्दा १७ जनामा हात्तीपाइले भेटिएको थियो । बाँकेमा आजदेखि शुरु भएको अभियानको पहिलो दिन बर्षातका कारण केही प्रभावितसमेत भएको छ ।
त्यसो त हात्तीपाइलेको जोखिममा रहेको नेपालगन्जमा नै यसको प्रभावकारिता अत्यन्त कमजोर हुने गरेको छ । उपमहानगरमै औषधि खाने ब्यक्तिहरु नै रोगप्रति सचेत हुन सकेका छैनन् । नेपालगन्ज नगरपालिकाको पुराना वडा १ देखि १७ सम्ममा मधेशी मुस्लिम बस्ती र उपमहानगर हुँदा गाभिएका गाविसमध्ये जयसपुरमा प्राय सबैजसो खोपका कार्यक्रमहरु प्रभावित हुने गरेका छन् । विभिन्न खोप अभियान अत्यन्तै कमजोर हुँदै आएका छन् ।
जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तव, नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवलशम्शेर राणा, उपमेयर उमा थापा मगर, प्रमूख प्रशासकीय अधिकृत हरि प्याकुरेल लगायतले नेपालगन्ज–१६ को जयसपुर स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा औषधि खाएर अभियानको शुरूवात गरे । हात्तीपाइले जुनसुकै उमेरमा हुन सक्ने भएकाले आम औषधि सेवन अभियानमा सहभागी हुन स्थानीय तहहरुले नागरिकहरुलाई आग्रह गरिरहेका छन् ।
सत्यपाटी - ।