सूचनाको शक्ति - The Power Of Information

        

गलकोटमा इलाका प्रशासन कार्यालयको माग

जिल्लाको गलकोटमा इलाका प्रशासन कार्यालय राख्नुपर्ने माग गरिएको छ । नागरिकता, राहदानी, मालपोत र नापीसम्बन्धी सेवा प्रवाहका लागि कार्यालयको माग गरिएको हो ।

जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक अगुवालगायतले कार्यालय स्थापना गर्न पहल थालेका छन् । दबाब र समन्वयका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता फमलाल न्यूरेको संयोजकत्वमा सात सदस्यीय सर्वदलीय समिति बनेको छ ।

समितिले गृहमन्त्रालयलगायतका निकायमा कार्यालय स्थापनाका लागि माग अघि बढाउने संयोजक न्यूरेले बताउनुभयो । “सर्वपक्षीय छलफल र निर्णयपछि माग लिएर केन्द्रमा जान्छौँ”, उहाँले भन्नुभयो, “सबै पक्षबाट पहल र सहयोग आवश्यक छ ।”

गलकोट नगरपालिका र ताराखोला गाउँपालिकालाई कार्यक्षेत्र तोकेर कार्यालय स्थापना गर्नुपर्नेमा समितिको जोड छ । स्थानीय तहमा नागरिकता, राहदानी, मालपोत र नापीसम्बन्धी सेवा उपलब्ध छैन ।

गलकोट क्षेत्रका सर्वसाधारण नागरिकता बनाउन अहिले पनि सदरमुकाम धाउनुपर्ने बाध्यता छ । प्रशासनिक सेवाको सहजताका लागि इलाका प्रशासन कार्यालय जरुरी रहेको गलकोट नगरपालिका–३ का अध्यक्ष वीरजङ्ग भण्डारीले बताउनुभयो ।

कार्यालय स्थापना भए सदरमुकामदेखि ४५ किमीको दूरीमा रहेको गलकोट र आसपासको क्षेत्रका बासिन्दा लाभान्वित हुनेछन् । जिल्लाको पश्चिम बुर्तिवाङमा एकीकृत सेवा केन्द्रमार्फत नागरिकता, राहदानीजस्ता सेवा उपलब्ध भइरहेका छन् ।
(रासस)

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार १२:१३