सूचनाको शक्ति - The Power Of Information

        

रामपुर अस्पताललाई सामग्री हस्तान्तरण

रामपुर अस्पताललाई उपचारका लागि आवश्यक पर्ने सामग्री सहयोग प्राप्त भएको छ । इस्लामिक सक्रिय युवा समाज रामपुर पाल्पा र ह्युमन डेभेलपमेण्ट एकेडेमी पाल्पा एकाइद्वारा अस्पताललाई हेल्पिङ हेण्ड फर रिलाइफ एण्ड डेभेलपमेण्टको आर्थिक सहयोगमा उपचारका लागि आवश्यक सामग्री प्रदान गरिएको हो ।

रामपुर नगरपालिका र अस्पताल प्रशासनलाई रु पाँच लाख ३० हजार ६८० मूल्य बराबरको सामग्री प्रदान गरिएको छ । मङ्गलबार नगरपालिका प्रमुख रमणबहादुर थापा, उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य र अस्पताल प्रशासनलाई एक कार्यक्रम गरी सामग्री हस्तान्तरण गरिएको हो ।

सामग्री बुझ्दै नगरप्रमुख थापाले बिरामीको उपचारमा ठूलो सहयोग पुग्ने भएकाले सामानको सही सदुपयोग गर्न अस्पताल प्रशासनलाई अनुरोध गर्नुभयो । स्ट्यान बेसिन, सिरिन्ज, सर्जिकल सामग्री तथा वैशाखी, बेडकभर, सिरानीलगायतका ३२ प्रकारका सामग्री प्रदान गरिएको छ । अस्पतालको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन सो सामग्री प्रदान गरिएको इस्लामिक सक्रिय युवा समाजका अध्यक्ष महम्मद इब्राहिमले बताउनुभयो ।

समाजले केही वर्ष अगाडि पनि अस्पताललाई शय्या प्रदान गरेको थियो । संस्थाले यसअघि नगरपालिका वडा नं ४, ५, ६ र ८ का ११ विपन्न, दलित र गरीब घरपरिवारलाई प्रतिघरपरिवार चार माऊबाख्रा, एक बोका उपलब्ध गराएको थियो ।  (रासस)

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार १०:५१