सूचनाको शक्ति - The Power Of Information

        

आजदेखि हात्तीपाइलेबिरुद्धको अभियान, ढुक्क भएर औषधि खान स्वास्थ्यकर्मीको आग्रह

बाँके । हात्तीपाइले रोग निवारण अभियान अन्तरगत आजदेखि बाँके लगायतका जिल्लामा हात्तीपाइलेविरुद्धको आमऔषधि सेवन अभियान सुरु हुँदैछ । देशभरका ६१ जिल्लामा थालिएको अभियानमा अझै १५ जिल्लामा जारी नै रहेको छ । प्रदेश ५ का बाँके र दाङमा नवौं, बर्दियामा आठौं र कपिलबस्तुमा ११ औंको चरणको अभियान आजबाट शुरु हुन लागेको हो ।

आजदेखि २६ गतेसम्म औषधि खुवाउने कार्यक्रम तय गरिएको छ । आज स्थानीय तहका सबै वडामा तोकिएका बुथमा औषधि सेवन गराइनेछ भने १६ गतेदेखि २६ गतेसम्म घरदैलो अभियान गरेर औषधि खुवाइने छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार यो समयावधिमा छुटेकालाई २८ गतेसम्म पनि खुवाउन सकिनेछ ।

नवौं चरणको हात्तीपाइलेविरुद्धको आमऔषधि सेवन अभियान अन्तरगत यस बर्षदेखि जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा स्थानीय तहहरुबाट औषधि खुवाउन लागिएको हो । यसअघि जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत औषधि खुवाउने व्यवस्था थियो । आज १५ गते स्थानीय तहका हरेक वडामा तोकिएका बुथमा औषधि खुवाइने छ ।

आज पहिलो दिन बुथमै औषधि खुवाइने र भोलीदेखि २६ गतेसम्म घरदैलो अभियान गरेर औषधि खुवाइने जनस्वास्थ्य कार्यालयले जनाएको छ । हात्तीपाइलेविरुद्धको आमऔषधि सेवन अभियान अन्तरगत बाँकेमा ३६८ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ भने स्वास्थ्यकर्मीहरुलाई सघाउन जिल्लाभर ७८९ महिला स्वयंसेविका खटाइएको छ ।

यसअघि महिला स्वास्थ्य स्वयंसेविकाले औषधि खुवाउँदै आएकोमा यस बर्षदेखि सरकारी मान्यताप्राप्त स्वास्थ्यकर्मीबाट मात्र औषधि सेवन गराउन लागिएको हो । ‘यसअघि महिला स्वास्थ्य स्वयम् सेविकाबाट औषधि खुवाउने गरिएकोमा अभियानलाई थप प्रभावकारी बनाउन यसपटक स्वास्थ्यकर्मीबाटै औषधि खुवाउने रणनीति बनाइएको हो,’ नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशवराज गौतमले भने ।

बाँकेमा ५ लाख ८८ हजार २७८ जनालाई औषधि खुवाउन लागिएको छ । रोग निवारणका लागि डिइसी र अल्बेन्डाजोल नामक औषधि खुवाइँदै आएको छ । हात्तीपाइले निवारणका लागि गरिएको अभियानमा आमऔषधि सेवनबारे गलत धारणा, शहरी क्षेत्रमा औषधि सेवन प्रगति न्यून हुने लगायतका चुनौतिहरुको सामना गर्नुपरेको शाखा प्रमुख गौतमले बताए ।

स्वास्थ्य कार्यालयकी दुर्गा गौतमले आठौं चरणसम्म औषधि खुवाउँदा अपेक्षित उपलब्धी हासिल नभएका कारण यो पटक स्वास्थ्यकर्मीबाटै औषधि खुवाउँदा स्थानीयहरु विश्वस्त हुने अवस्था देखेर नयाँ रणनीति अपनाइएको बताइन् । औषधि खाँदा हुने समस्या औषधिका कारण नभई मानिसको शरीरमा हुने किटाणुका कारण भएको उनले बताइन् ।

बाँकेमा पाँच लाख ८८ हजार २७८ जनसंङख्या रहेकोमा करिब १३ प्रतिशतमा हात्तीपाइलेको संक्रमण रहेको जनस्वास्थ्यको तथ्यांकमा छ । अभियान शुरु भएको ६ वर्षपछि २०७२ मा सर्वे गर्दा बाँकेमा हात्तीपाइलेका रोगी १६ प्रतिशतमा झरेको थियो । त्यसपछि २०७४ कात्तिकमा सर्वे गर्दा हात्तीपाइलेको रोगी १३ प्रतिशत देखियो ।

त्यसबेला कोहलपुरको रझेना, नेपालगन्जको वडा नं. ४ र बैजापुरमा सर्वे गरिएको थियो । रझेनामा ३२४ जनाको परीक्षण गर्दा ७२ जनामा हात्तीपाइले भेटिएको थियो । नेपालगन्जमा ३०० जनाको नमुना जाँच गर्दा २५ जनामा हात्तीपाइले भेटिएको थियो । बैजापुरमा ३१६ जनाको नमुना जाँच्दा १७ जनामा हात्तीपाइले भेटिएको थियो ।

क्युलेक्स क्याकिफेसिएटस नामक लामखुट्टेले यो रोग सार्ने गर्छ । दीर्घरोगी, गर्भवती तथा ७ दिनको सुत्केरी महिला र २ वर्षमूनिका बालबालिकाबाहेक अरुले यो औषधि सेवन गर्न सक्ने र यसले नकारात्मक असर नगर्ने स्वास्थ्यकर्मीहरुको भनाई छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार ०७:०४