जमुना वर्षा शर्मा । चिप्लेढुंगा (पोखरा) । गायक प्रकाश श्रेष्ठको एउटा कालजयी गीत छ, ‘फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छाया, जीवन मेरो सेती बगर विना तिम्रो माया’ । ‘पोखरा त साँच्चिकैको पोखरा नै रै’छ, माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रै’छ’ भन्ने अर्को लोकप्रिय गीत छ गायक प्रेमप्रकाश मल्लको । यी कर्णप्रिय गीतहरु सुन्ने जो कोहीलाई पोखरा पुगिहालौं जस्तो लाग्छ ।
पत्रकार मोहन मैनालीले एक प्रसंगमा भनेका थिए, ‘प्रकृतिले भएभरको सुन्दरता पोखरालाई खन्याइदिएको छ ।’ केही समयअघि मात्रै पोखरा घुम्न आएका फिलिपिनो राजकुमारी मारिया अमोरले पोखराको सुन्दरताको खुलेरै प्रशंसा गरे । अधिकांश सर्वसाधारण, कलाकार, नेता, व्यापारी, कर्मचारी, विद्यार्थी सबैको प्रमुख रोजाइको शहर पनि हो पोखरा । पोखरा घुम्न आउने जो कोहीलाई यहाँको प्राकृतिक छटाले मन्त्रमुग्ध बनाइदिन्छ ।
अमेरिकी नागरिक फिल हुलवर्क वर्षको तीन महिना पोखरामा बिताउने गर्छन् । ‘पोखराको सुन्दरताले म जहिल्यै मोहित हुन्छु, जति घुमे पनि जति डुले पनि लोभ्याइरहन्छ पोखराले,’ हुलवर्क भन्छन्, ‘हिमाल र तालहरु मलाई असाध्यै मन पर्छ । होटलका झ्यालबाट देखिने हिमाल कम लोभलाग्दा छैनन् ।’ मुलुकको प्रमुख पर्यटकीय गन्तव्यमा दरिएको यो शहरमा नेपाल आउने ६० प्रतिशत पर्यटक भित्रिने गरेकोे अनुमान गरिन्छ ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६ देखि हवाइ मार्ग र स्थल मार्गबाट आउने पर्यटकको अभिलेख राख्न शुरु गरेको छ । मन्त्रालयको तथ्याङ्क अनुसार स्याङ्जाको गल्याङ्, आँबुखैरेनी र नागरिक उड्डयन कार्यालय पोखराबाट प्राप्त तथ्याङ्क अनुसार भारतीय र अन्य देशबाट आउने पर्यटकको संख्या चालु आवको साउनदेखि पुससम्म १ लाख ७६ हजार ५६१ पुगेको छ । पोखराको सौन्दर्यसँग जोडिएको विशेष पक्ष भनेकै हिमाल र ताल हुन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष आनन्दराज मुल्मी भन्छन्, ‘फेवातालमा छर्लंग हिमाल देखिने दुर्लभ दृश्य सम्भवतः विश्वमा कहीँ कतै छैन । पोखराको अर्को सुन्दर पक्ष हो यो । भू–गर्भबाट कलकल गर्दै बग्ने सेती, उत्तरतर्फ देखिने माछापुच्छ्रे, अन्नपूर्ण र धौलागिरि हिमशृंखला, नौ तालले सिंगारिएको उपत्यका, शान्ति स्तूप, डेभिज फल्स, गुप्तेश्वर गुफा, महेन्द्र गुफा, धार्मिक मठमन्दिर यो शहरका आर्कषण हुन् ।’
साहसिक खेल रुचाउनेहरु प्याराग्लाइडिङ् गर्छन् र आकाशमा चरा झै उडेर मज्जा लिने गर्छन् । हिम शृखङ्लाहरुलाई नजीकैबाट छुन खोज्नेहरु अल्ट्रालाइट चढेर रमाउने गर्छन् । क्यानोनिङ, जिप फ्ल्यायर, हट बेलुनको मज्जा लिन चाहनेहरुलाई पनि पोखराले सधैं स्वागत गर्ने गर्छ । हिमालदेखि बग्दैआएको पानीलाई केआइसिंह पुलमा स्पर्श गर्न पाइन्छ । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा हिमाल आरोहणदेखिका रोमाञ्चकारी दृश्य र सामग्रीको संग्रह हेर्न पाइन्छ ।
न धेरै जाडो न धेरै गर्मी । उस्तै मिलेका घर, उस्तै मिलेको वस्ती, उस्तै मिलेको मनले पनि सिंगारिएको छ पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा बृहत् योजनासहित पूर्वाधारहरु बनिरहेका छन् । पञ्चासे केबुलकार र पुम्दिकोटमा विशाल महादेवको मूर्ति बन्दैछ । त्यसैगरी, काँहुडाँडामा आधुनिक धरहरा र भगवान् बुद्धको विशाल मूर्तिसहितको यशोधरा पार्क निर्माणका लागि तयारी थालिएको छ । सराङकोट, काँहु, घान्द्रुक, सिक्लेस, धम्पुस, पञ्चासे, ताङतिङ जस्ता सुन्दर ग्रामीण वस्तीले ग्रामीण पर्यटन प्रर्वद्धन गरिरहेको छ ।
कपुचे तालले पनि पछिल्लो समय पर्यटकलाई लोभ्याइरहेको छ । प्रकृतिको अनुपम बरदान पाएको पोखराका बासिन्दा यी सुन्दरता बेचेर नै बाँचेका छन् । शहरीकरणको प्रक्रियाबीच अब पोखराको सुन्दरता जोगाउने चुनौती पनि थपिँदै गएको मुल्मी बताउँछन् । उनले भने, ‘आँखामा राखे पनि नबिझाउने पोखराको सुन्दरता क्रमशः मासिँदै छ । बढ्दो प्रदूषण, अव्यवस्थित संरचना, तालतलैया र सिमसारमाथिको अतिक्रमण, सडक विस्तार, अव्यवस्थित होर्डिङ बोर्ड, जेलिएर यत्रतत्र छरिएका तारहरुले पोखरालाई कुरुप बनाइरहेको छ ।’
पोखराको सुन्दरता जोगाउन विकल्पहरु अघि सार्नुपर्ने मुल्मीको सुझाव छ । उनले भने, ‘हामी भाग्यमानी हौं । पोखरा जस्तो शहर पाएका छौं । हामीले थप केही गर्न नसके पनि यसको प्राकृतिक सुन्दरतालाई जोगाउन सक्नुपर्छ । यसको संरक्षण र व्यवस्थित वस्तीका लागि अब दीर्घकालीन लक्ष्यसहित दिगो विकासको अवधारणा अगाडि सार्नुपर्छ ।’ प्रदेश सरकारले सन् २०१९ लाई ‘आन्तरिक पर्यटन वर्ष’ २०२० लाई ‘छिमेकी देश पर्यटन वर्ष’ र सन् २०२२ लाई ‘पोखरा पर्यटन वर्ष’ मनाउने भएको छ ।
पर्यटन व्यवसायी एवं नेपाल पर्यटन बोर्डका पूर्व सञ्चालक समिति सदस्य वासु त्रिपाठी भन्छन्, ‘पोखराको प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक क्षेत्रको संरक्षण गदै नयाँ सम्भावना भएका स्थानको खोजी महत्वपूर्ण हुन्छ । प्राकृतिक सुन्दरता जोगाउँदै पर्यटक जाने स्थलसम्म सडक, हवाई तथा आवास सुविधामा विशेष ध्यान दिनुपर्छ ।’ पर्यटकको बसाइ लम्बाउन पदयात्रा मार्गहरुलाई संरक्षण गर्नुपर्ने र एक्यापले दिँदै आएको अनुमतिपत्रलाई बहु–प्रवेशीपत्र बनाउनुपर्ने उनको सुझाव छ ।
पोखरा बृहत् सरसफाइ अभियानका अभियन्ता एवं राष्ट्रिय संरक्षण समिति नेपालका अध्यक्ष रामबहादुर पौडेलले सफा र हरियाली शहरको रुपमा पोखराको पहिचानलाई जोगाइराख्नु पर्ने बताउँछन् । ‘हामीलाई प्रकृतिले नै सबै दिएको छ, यसको संरक्षणमा जुटौंं,’ निरन्तर १४२ औँ हप्तासम्मको सफाइ अभियानबाट पोखराको सुन्दरता जोगाउन सक्रिय पौडेलले भने, ‘सार्वजनिक हित भन्दा व्यक्तिगत हितलाई केन्द्रमा राखेर अघि बढ्दा पोखराले आफ्नो परिचय गुमाउँदै गएको छ ।’
स्थानीय सरकारले आफ्नो अधिकारको प्रयोग गर्न नसक्दा मापदण्ड विपरीत बनिरहेका संरचनाले पोखरालाई कङ्क्रिटको शहरमा परिणत गर्दैगएको उनको ठहर छ । अंग्रेजी नव वर्षको स्वागतार्थ गरिने आतशबाजी १९ वर्ष पछि अदालतमार्फत रोक्न सकेको र वरपिपल चौतारो संरक्षण विधेयक २०७५ ल्याउन सफल भएको पनि उनले स्मरण गराए । पोखराको फेवा किनारमा मात्रै डेढ दर्जन भन्दा बढी पर्यटनसम्बद्ध सङ्घ सस्थाहरु छन् । तर पनि पोखराका सौन्दर्य दिन प्रतिदिन बिग्रँदै गएको छ । उनीहरुको संरक्षणतर्फ तदारुकता देखिँदैन ।
अव्यवस्थित शहरीकरण र मानवीय अतिक्रमणले तालतलैया र सिमसारहरु साङ्घुरिँदै गएका छन् । कृषि जैविक विविधता लोप हुँदैछ । जिम्मेवार निकायको उदासीनता र नाफा मात्रै हेर्ने व्यवसायीका कारण पोखरातालाई कुरुप बनाउँदै लगेको बताउँछन् अधिवक्ता भगवती पहारी । उनका अनुसार प्रकृति र संस्कृतिलाई जोगाउन प्रदेश र स्थानीय सरकारले स्थानीय बासिन्दासँगकै सहकार्यमा सार्वजनिक–निजी साझेदारी ढाँचाबाट अघि बढ्नु अबको एक मात्र विकल्प हो । विसं २०३१ मा ‘पोखरा टाउन प्लान’ बन्यो, त्यसलाई सर्वोच्च अदालतले लागू गर्न आदेश पनि दियो ।
त्यसैगरी, फेवाताल अतिक्रमणको विषयमा पनि सर्वोच्चले फैसला गरिसकेको छ तर, कार्यान्वयन प्रभावकारी हुन सकेन । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका महाशाखा प्रमुख दिवाकर पौडेलले वन तथा जलाधार व्यवस्थापन नीति प्रदेश सरकारबाट स्विकृत भएको र वातावरण तथा जलवायु परिवर्तन नीति मन्त्रिपरिषद्मा पेश भएको बताए । वरपिपल चौतारो संरक्षण र व्यवस्थापन गर्न बनेको विधेयक २०७५ प्रदेश सभाबाट पारित भइसकेको र प्रदेशस्तरीय ताल संरक्षण तथा विकास प्राधिकरण स्थापना गर्न मन्त्रिपरिषद्बाट स्वीकृत भई्र प्रदेश सभामा छलफलका लागि पठाइएको छ । उनका अनुसार पोखरालाई पर्यटकीय राजधानी बनाउने प्रस्ताव प्रदेश सरकारबाट स्विकृति भएर सङ्घीय सरकारसामु पुर्याइसकिएको छ । रासस
जमुना वर्षा शर्मा - ।