सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री ओलीले आफ्नै नेतृत्वको सरकारलाई कलाकारहरुको सरकार भनेपछि…

काठमाडौं । आफुले दिने अभिव्यक्तिका कारण प्रधानमन्त्री केपी शर्मा ओली बेलाबेलामा चर्चामा रहन्छन् । उनले आफ्नो नेतृत्वको सरकार कलाकारहरूको भएको बताएका छन् । सोमबार राजधानीमा आयोजित नेपाल नाट्य महोत्सव २०७५ को उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘यो सरकार कलाकारहरूको सरकार हो । हामी तपाईंहरूकै साथमा छौं ।’

प्रधानमन्त्री ओलीले आफू कलाप्रेमी भएको भन्दैं उद्घाटन मन्तव्यका क्रममा प्राइममिनिस्टर इज आर्ट लभर भने । नाटक फाल्तु समयमा गरिने काम नभएको विचार व्यक्त गर्दै कला ठुलो संघर्ष र मेहनतको कार्य भएको जनाए । आफू कलाकार नभएर पनि कार्यक्रममा बोलाइएको भन्दै उनले यसले आफूलाई गर्व लागेको प्रतिकृया दिए । उनले भने, ‘यस्तो मायालाई खेर जान दिन्न ।’

‘सरकार यहाँहरूसँगै छ, नाटक गर्नु चलचित्रमा अभिनय गरेको भन्दा गाह्रो हुन्छ,’ यस बारेमा आफ्नो विचार राख्दैं प्रधानमन्त्रीले भने, ‘फिल्ममा चारपटक हल्लाएको हात चारपटक खिच्न मिल्छ तर नाटकमा त्यो सुविधा छैन, फिल्ममा खिचेर ल्याएको छाँगो, हिमाल जोड्न सकिन्छ तर नाटकमा यतिखेरै कहाँबाट ल्याउनु छाँगो, कहाँबाट ल्याउनु हिमाल ?’

प्रधानमन्त्रीले नाटक जीवन्त हुनुपर्ने, अगाडि नै उभिएर मान्छेलाई अर्को संसारमा लान सक्नुपर्ने सुझाव दिए । कला क्षेत्रलाई अगाडि बढाउन सरकारले सक्दो सहयोग गर्ने उनले वचन दिए । आगामी बजेटमा नाट्य विधाकै लागि भनेर केही रकम व्यवस्था हुने उनले जिकिर गरे । कला, संस्कृति र साहित्यको विकास नभई राष्ट्रको विकास नहुने उनको बुझाई छ । आज देखि सुरू भएको नाट्य महोत्सवमा नेपालसहित ९ देशका नाटक सहभागी छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलवार ०७:४४