सूचनाको शक्ति - The Power Of Information

        

मुगालीको मन जितेका प्रजिअ उमाकान्त

असल प्रशासकको कथा

शुरबहादुर सिंह । सुर्खेत । केन्द्रबाट कार्यालय प्रमुख भएर कर्णाली आउने राष्ट्रसेवक कर्मचारीहरु यहाँ पुगेर सेवा दिनुलाई ‘पेलिएर आउनुपरेको’ ठान्छन् । कर्णाली आउने राष्ट्रसेवक कर्मचारी शक्ति र पहुँच नभएका कमजोर हुन् भन्ने धेरैको बुझाइ छ । यो भ्रम आज पनि छ । एकथरीले कर्णालीमा आउने कर्मचारीहरु सजाय काट्न आएका होलान् भनी अड्कल काट्छन् त अर्कोथरीले हिमाली जिल्लामा सेवा गरे नम्बर बढ्छ र अन्ततः वृति विकासमा सहयोग पुग्छ भन्ने ठान्छन् । कर्णाली जाने निर्देशन पाउने बित्तिकै धेरै राष्ट्रसेवक कर्मचारी हरेश खान्छन् ।

सकेसम्म कर्णाली जानु नपरोस् भन्ने उनीहरुको मनोकाङ्क्षा हुन्छ जुन तथ्यलाई सङ्घीय संरचनासम्म मुलुक आइपु्ग्दा पनि कर्णाली प्रदेशको अभावग्रस्त जनशक्तिको तथ्याङ्कले दर्शाइरहेको छ । कर्णाली प्रदेशको मन्त्रालयगत जनशक्तिमाथि नियाल्दा उपलब्ध दरबन्दीमा ५० प्रतिशत भन्दा बढी कर्मचारीको अहिले अभाव देखापर्छ । झनै समायोजनमा स्थानीय तहका कर्मचारीले पनि पहिलो सङ्घ, दोस्रो ३ नं प्रदेश र तेस्रोमा सङ्घ अन्तर्गतकै प्रदेश र जिल्ला रोज्ने मनोवृतिले कर्णाली प्राथमिकतामा नपरेको प्रष्ट हुन्छ । यसले के बुझाउँछ भने यहाँ काम गर्ने हरेकका लागि कर्णाली सजाय भुक्तान गर्ने थलो हो, जहाँ न दाम छ न नाम छ ।

यद्यपि यही हेराइ र सोच विपरीत गृह मन्त्रालयबाट सरुवा भई मुगु जिल्लाको प्रमुख जिल्ला अधिकारीको भूमिका निर्वाह गरेका राष्ट्रसेवक कर्मचारी उमाकान्त अधिकारी भने यस विकट जिल्लामा उदाहरणीय बनेका छन् । प्रजिअ अधिकारीको १८ महीने कार्यकाल मुगाली जनताका लागि निकै उपलब्धिमूलक रह्यो । इच्छाशक्तिका अघि विकट भूगोल र चुनौतीका पहाड गौण हुन् भन्ने छाप उनले छोडेका छन् । जिल्लामा सरुवा भई जेनतेन कार्यकाल कटाएर फर्किने अधिकाँश कार्यालय प्रमुखहरुलाई ‘गरे के हुँदो रहनेछ र ?’ भन्ने सन्देश दिएका छन्, उनले । उनी आफ्नै कार्यालयको कामकाज र सुशासनमा मात्र सीमित रहेनन् ।

दुर्गम र विकट गाउँ वस्तीमा सामाजिक काममा पनि उनी अघि सरे । जिल्लाको शान्ति सुरक्षा, दैवी प्रकोप उद्धार, राहत वितरण, विकास निर्माणमा सहजीकरण तथा योजना अनुगमन लगायतका नियमित र क्षेत्राधिकारभित्रको कार्यको प्रभावकारी सम्पादन सँगसँगै त्यहाँको शैक्षिक र सामाजिक विकासमा पनि उनको त्यत्तिकै योगदान रह्यो । गत वैशाख २० गते मुगुम कार्मारोङ्ग गाउँपालिकाको किम्रीमा आगलागी हुँदा केन्द्र, प्रदेश र जिल्लास्तरका सरकारी तथा गैसरकारी संस्था, स्थानीय तहसँगको प्रभावकारी समन्वयबाट आगलागी पीडित १९ परिवारलाई शीघ्र राहत उपलब्ध गराउँदा किम्री गाउँवासीले प्रजिअ अधिकारीलाई कुशल र जिम्मेवार अभिभावकका रुपमा स्मरण गरे ।

छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले भने, ‘सामाजिक विकृति र शान्तिको बाधकका रुपमा रहेको मदिरा उत्पादन, बिक्री वितरण कार्यलाई रोक्ने मात्र काम त गर्नुभयो नै ।’ साथै उनले सामाजिक अभियन्ता र जिम्मेवार नागरिकका हैसियतबाट छायाँनाथ रारा नगरपालिकालाई मदिरामुक्त बनाउने अभियानको समन्वयमा उल्लेख्य योगदान गरे । ‘यसअघिका प्रजिअहरु छोटो समयमै विवादित भएर जान्थे,’ प्रमुख शाहीले भने, ‘प्रजिअ अधिकारीबारे सबैले सकारात्मक टिप्पणी गरेका छन् ।’ तटस्थ भएर काम गर्ने र समन्वय गर्नसक्ने क्षमता भएका प्रजिअ अधिकारी सम्मानयोग्य व्यक्तित्व भएको उनको भनाइ थियो । मदिरा निषेधका निम्ति सोरु, खत्याड, मुगुम कार्मारोङ्ग गाउँपालिकामा उनी पैदल हिँडे ।

त्यहाँका जनप्रतिनिधि, स्थानीयवासी, महिला, युुवा समूह, सुरक्षाकर्मीसँग अन्तरक्रिया गरेर शान्ति र सुरक्षा विना समृद्धिको अनुभूति गर्न नसकिने सन्देश उनले दिए । उनको कार्यशैली र शालीन व्यवहारबाट प्रभावित भएर मदिरा बेचविखन गर्ने अनुमति लिएका ४० जना व्यवसायीले एकैपटक मदिरा निषेध अभियानका खातिर अनुमतिपत्र फिर्ता गरेको स्वयं व्यापारीहरू बताउँछन् । मदिरा नियन्त्रण अभियानबाट परिवार र समाजमा ठूलो परिवर्तन आएको देखियो । परिवारहरु पुनर्मिलन भए । महिला र बालबालिकामाथि हुँदैआएका हिंसापूर्ण घटना धेरै हदसम्म नियन्त्रणमा आयो । त्यस्तै, खत्याड गाउँपालिकाको गम्था माझचौरमा पुगेर अहिलेसम्म नागरिकता प्रमाणपत्र पाउन नसकेका करीब ६०० महिला पुरुषलाई हातमै उहाँले नागरिकता उपलब्ध गराए ।

प्रजिअ अधिकारी शान्ति सुरक्षादेखि जनप्रिय काममा खटिने गरेको जिल्ला नागरिक संञ्जालका संयोजक चित्रबहादुर मल्लले बताए । ‘नागरिक सञ्जालको तर्फबाट उहाँको राम्रो मूल्याङ्कन गरेका छौं,’ उनले भने । त्यसैगरी, मानव सूचकाङ्कमा निकै पछि परेको कर्णाली प्रदेश र त्यसमा पनि मुगुको अति विकट मानिने मुगुम कार्मारोङ्ग गाउँपालिकाको शिक्षा र स्वास्थ्यको अवस्थामा सुधार ल्याउन गत मङ्सिरमा तीन दिन पैदल यात्रामा लौरो टेकेर त्यहाँ पुग्ने उनी पहिलो प्रजिअ भए । त्यहाँ पुगेर उनले स्थानीय तहले सञ्चालन गरेका कामकाजको सघन अनुगमन तथा मूल्याङ्कन गरेका थिए ।

लौरोकै सहारामा प्रत्येक गाउँवस्तीमा पुगेका उनले त्यहाँको वस्तुस्थिति बुझेर गाउँपालिकालाई सुझाव प्रतिवेदन मात्र बुझाएनन्, पालिकाका प्रत्येक विद्यालयका प्रधानाध्यापकलाई डाकेर गुणस्तरीय शिक्षा दिन र आफ्नो काममा दत्तचित्त भएर लाग्न निर्देशन समेत दिए । स्वयं खटिएर समाज बदल्न उहाँले सबैलाई हौस्याउनुभएको पत्रकार श्याम बुढाक्षेत्रीले बताए । ऐतिहासिक प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई अत्यन्त व्यवस्थित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नेदेखि आफ्नै कार्यालयमा जाडोले प्रभावित करीब १०० गरीब, असहाय र अपाङ्गता भएका बूढापाकालाई बाक्लो कम्बल र तन्नासहित न्यानो कपडा उपलब्ध गराएका थिए ।

सदरमुकाम क्षेत्रमा चौबिसै घण्टा विद्युुतको आपूर्ति, कर्णाली–रारा पर्यटन वर्षको व्यवस्थित उद्घाटन कार्यक्रम, शान्ति सुरक्षार्थ जिल्लामा शसस्त्र प्रहरी बलको गुल्म स्थापना, वर्षाैदेखिको हिलाम्मे र अस्तव्यस्त गमगढीको न्यूरोड सडक पुनःनिर्माणमा पहल, झरी, हिमपातका कारण अवरुद्ध नाग्म–गमगढी सडकमार्गको सञ्चालनमा प्रजिअ अधिकारीले देखाएका तदारुकतालाई मुगाली जनताले मुक्तकण्ठले प्रशंसा गरेका छन् । स्थानीय तहका जनप्रतिनिधि, दल, नागरिक समाज, पत्रकार, युवा वर्ग र स्थानीयवासीसँग समन्वय र सहकार्यमा सधैंं अग्रसर देखिएका प्रजिअ अधिकारीले जिल्लास्तरमा आफूलाई सबैले सहयोग र साथ दिएको राससलाई बताए ।

‘राष्ट्रसेवकको भूमिकामा रहेर हरेक महीनाको ५ गते प्रशासन कार्यालयमा कार्यालय प्रमुखको बैठक बसाल्ने थिति बसालियो,’ उनले भने, ‘सबै कार्यालय प्रमुखहरुलाई सेवाग्राहीको काम छरितो र उत्तरदायी भएर सम्पन्न गर्न निरन्तर सुझाव र निर्देशन दिइरहें ।’ प्रजिअको बानी, व्यवहार र काम गर्ने शैली सद्भावयुक्त र जनप्रिय देखिएको युवक खगेन्द्र बोहोराले बताए । प्रजिअले गरेका काम र देखाएका पथ पछ्याएर यो पुस्ता जिल्लाको विकासमा अग्रसर हुनुपर्ने नत्र जिल्लामा विकास कहिल्यै नआउने उनको ठहर थियो । प्रजिअ अधिकारीको कार्यकाल अवधिभर दशैं, तिहार जस्ता चाडपर्व शान्तिपूर्ण रहे । कुनै पनि आपराधिक घटना भएनन् ।

उनको कार्यकालमा जिल्लाका कुनै पनि महिला सुत्केरी व्यथा र बिरामी हवाईजहाजको टिकट नपाएर विमानस्थलमा अकाल मृत्यु भएको सुनिएन । सामाजिक अपराध, गुण्डागर्दी र उच्छृङखलता पूर्णरूपमा नियन्त्रण भएको देखियो । राजनीतिक दलहरूबीच उहाँको सम्बन्ध सौहार्द देखियो । सुरक्षा अङ्गहरू अत्यन्त कर्तव्यनिष्ठ देखिए । कर्मचारीहरूले आफ्नो पेशागत मर्यादामा खरो उत्रिन राम्रो अभिभावक पाएको अनुभूति गरेको नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) का कर्णाली प्रदेश अध्यक्ष देवेश्वर गिरीले बताए । प्रजिअको सरूवापछि भने जिल्लामा एक प्रकारको रिक्तता अनुभव गरिँदै छ । यद्यपि, उनका सुधारात्मक र परिवर्तनकारी दर्जनौं कामलाई मुगाली जनताले स्मरण गरिरहेका छन् । अधिकारी यही साता गृह मन्त्रालयमा सरुवा भएका छन् । रासस

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार १६:३९

सिफारिस