सूचनाको शक्ति - The Power Of Information

        

कर्णाली प्रदेशस्तरीय खेलकूद प्रतियोगिता जारी

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रथम कर्णाली प्रदेशस्तरीय खेलकूद प्रतियोगिता जारी रहेको छ । प्रदेश खेलकूद परिषद् कर्णाली प्रदेशले राजधानी वीरेन्द्रनगर सुर्खेतमा फागुन ११ गतेदेखि सञ्चालन गरेको ‘प्रथम कर्णाली प्रदेशस्तरीय खेलकूद प्रतियोगिता २०७५’ अन्तर्गत सुर्खेतमा आठ खेलमा प्रतिस्पर्धा भइरहेको छ ।

प्रदेश खेलकूद परिषद् कर्णाली प्रदेशका प्रचारप्रसार समिति संयोजक अर्जुनजङ्ग शाहीले भने, ‘सुर्खेतमा फुटबल, क्रिकेट, एथ्लेटिक्स, खोखो, बास्केटबल, ब्याडमिन्टन, ह्याण्डबल र तेक्वान्दो खेलको प्रतिस्पर्धा भइरहेको छ । ती खेल यही १७ गतेसम्म सञ्चालन हुनेछन् ।’

त्यस्तै, कबडी र तेक्वान्दो महिला तथा पुरुष खेल दैलेखमा, टेबलटेनिस, पुरुष भलिबल र बुद्धिचाल सल्यानमा, महिला भलिबल जाजरकोटमा, बक्सिङ कञ्चनपुरमा र उसु दाङ जिल्लामा सञ्चालन भई यही फागुन २५ गतेसम्म सम्पन्न गरिने उनले बताए । सुर्खेतमा भएको खेलमा महिला फुटबलमा जुम्ला विजेता र सुर्खेत उपविजेता भएको छ ।

एथ्लेटिक्स एक हजार ५०० दौडमा महिलातर्फ जुम्लाका राममाया बुढा प्रथम, सीता न्यौपाने द्वितीय र कालीकोटका ममिता बुढा तृतीय भएको संयोजक शाहीले जनाए । त्यस्तै, एथ्लेटिक्स एक हजार ५०० दौडमा पुरुषतर्फ जुम्लाका नरेश बुढा प्रथम, कालीकोटका सन्तोषनाथ योगी द्वितीय र सुर्खेतका सुशील रम्जाली तृतीय भएको उनले जानकारी दिए ।

उनका अनुसार एथ्लेटिक्स १०० मिटर दौडमा महिलातर्फ सु्र्खेतका सेरना सिरपाली प्रथम, कालीकोटका रसुदा शाही द्वितीय र सल्यानका खिमा आचार्य तृतीय भएका छन् । एथ्लेटिक्स एकसय मिटर दौडमा पुरुषतर्फ जाजरकोटका यामसाजन सुनार प्रथम, सल्यानका सुशील केसी द्वितीय र सुर्खेतका पवनकुमार बिसी तृतीय भएका थिए ।

त्यसैगरी, सटफुटमा पुरुषतर्फ सुर्खेतका तिलक विक प्रथम, सुर्खेतकै पदम परियार द्वितीय र रुकुम पश्चिमका हर्क विश्वकर्मा तृतीय भएका छन् भने सटफुट महिलातर्फ कालीकोटका निरुताकुमारी शाही प्रथम, सुर्खेतका प्रतिमा थापा द्वितीय र कालीकोटका रसुदा शाही तृतीय भएका थिए ।

लङजम्प पुरुषतर्फ सल्यानका सुशील केसी प्रथम, जाजरकोटका यामसाजन सुनार द्वितीय र रुकुम पश्चिमका हेमन्त विक तृतीय भएका छन् भने लङजम्प महिलातर्फ सुर्खेतका आशा विक प्रथम, हुम्लाका जयलक्ष्मी हमाल द्वितीय र सल्यानका सुशीला राना तृतीय भएका थिए ।

‘प्रथम कर्णाली प्रदेशस्तरीय खेलकूद’ प्रतियोगितामा १० वटा जिल्लाका एक हजार २४१ खेलाडीले २१ खेल तथा २६४ स्वर्ण, २६४ रजत र ४०२ काँस्य पदकमा प्रतिस्पर्धा गर्ने बताइएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार १३:३५