सूचनाको शक्ति - The Power Of Information

        

सुदूरपश्चिम प्रदेशमा ३०० नयाँ कुष्ठरोगी

धनगढी । कुष्ठरोग निवारण भइसकेको मानिएको सुदूरपश्चिम प्रदेशमा पछिल्लो समयमा कुष्ठरोगीको संख्या बढ्न थालेको छ । रोगीको संख्या बढ्दै जाँदा कुष्ठरोग निवारणमा चुनौती देखिन थालेको स्वास्थ्यकर्मीले बताएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्ड अनुसारप्रति १० हजार जनसंख्यामा एक जनाभन्दा कम कुष्ठरोगी फेला परेको अवस्थामा यो रोग निवारण भएको मानिन्छ । तर सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र अछाम जिल्लामा यो मापदण्डभन्दा बढी संख्याका बिरामी फेला परेका छन् ।

यी तीन जिल्लामा गएको वर्ष गरिएको खोजपड्तालका क्रममा लुकेर रहेका कुष्ठरोगी फेला परेका हुन् । नौ लाख एक हजार १७७ जनसंख्या रहेको कैलालीमा १७४ जना, पाँच लाख आठ हजार १५० जनसंख्या रहेको कञ्चनपुरमा ७४ जना र दुई लाख ७९ हजार ७५२ जनसंख्या रहेको अछाममा २८ जना नयाँ रोगी खोजपड्तालका क्रममा फेला परेको स्वास्थ्य सेवा निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रदेशका सबै नौ जिल्लामा भने गएको वर्ष जम्मा २९८ जना नयाँ कुष्ठरोगी फेला परेकामा यीमध्ये कम सर्नेभन्दा बढी सर्ने कुष्ठरोगी १०३ जना रहेको जनाइएको छ । आव ०७२÷७३ मा कैलालीमा, आव ०७३÷७४ मा कञ्चनपुर र अछाम जिल्लामा प्रतिदश हजारमा एकभन्दा कम कुष्ठरोगी फेला परेपछि यी जिल्लामा रोग निवारण भएको मानिएको थियो ।

तर आव २०७४÷७५ मा भने प्रति १० हजार जनसंख्यामा कैलालीमा एक दशमलब ७८, कञ्चनपुरमा एक दशमलब ४४ र अछाममा एक दशमलब १८, रोगी फेला पर्दा समग्र सुदूरपश्चिम प्रदेशको कूल जनसंख्या २८ लाख २५ हजार ६७६ को एक दशमलब शून्य पाँच प्रतिशत कुष्ठरोगी भेटिएको तथ्याङ्कमा उल्लेख छ ।

‘खोजपड्ताल गरेपछि मात्र रोगी फेला पर्न थालेका छन्,’ स्वास्थ्य सेवा निर्देशनालयका क्षय कुष्ठ सहायक मनोज ओझाले भने, ‘रोगको लक्षण देखापरेपछि आफैँ उपचारका लागि आउनुपर्नेमा नआउने वा आए पनि निकै ढिलो गरी आउने समस्याले रोग निवारणमा चुनौती बढेको छ ।’

विसं २०६६ मा नेपाललाई कुष्ठरोग निवारण भएको देश घोषणा गरिएको थियो । निवारणको घोषणापछि हालसम्म पनि राष्ट्रियस्तरमा निवारणको अवस्था कायम रहेको छ । यद्यपि नेपाल कुष्ठरोग निवारण देश घोषणा हुँदै गर्दाको समयमा देशका १२ जिल्लामा यो रोग निवारण भएको अवस्था भने थिएन ।

चालू वर्षमा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाका सबै १३ स्थानीय तह र कञ्चनपुर चार तथा अछामका चार स्थानीय तहमा रोगको खोजपड्ताल अभियान सञ्चालन गर्न लागिएको छ । यसबाहेक विभिन्न ठाउँमा स्वास्थ्य शिविर गर्ने योजना पनि रहेको क्षय कुष्ठ सहायक ओझाले बताए । यो रोगको नियमितरुपमा उपचार गराएमा निको हुन्छ । तर उपचार नगरी लुकाएमा मानिस अपाङ्गता हुने गर्दछ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार १३:२५