सूचनाको शक्ति - The Power Of Information

        

सरकारी कार्यालयमा निजी दलाल !

बाँके । सरकारी कार्यालयमा सेवाग्राहीको सेवाका लागि सरकारले सरकारी कर्मचारी खटाएको हुन्छ । विहान १० बजेदेखि साँझ पाँच बजेसम्म नागरिकको सेवामा समर्पित हुने हुँदा सरकारले हरेक कर्मचारीलाई दर्जा अनुसारको सेवा सुविधा पनि दिदैं आएको छ । तर, बाँकेका केही सरकारी कार्यालयमा नीजि कर्मचारीको हालीमुहाली बढी देखिन्छ ।

सवारी साधन सम्बन्धी कामले यातायात र जग्गा सम्बन्धी कामले मालपोत तथा नापी जाँदा बिचौलियाहरुले अपहरणको शैलीमा कार्यालयभित्र पुर्याउँछन् । सेवाग्राहीमात्र हैन, अन्य कामले सडकमा हिँडेकाहरूलाई समेत दिक्कै लगाउने गरि अनेकथरि प्रश्न सोध्छन् । काम नै नभएकालाई पनि तानेर लैजान्छन् उनीहरूको यस्तो प्रवृतिले सेवाग्राही दिक्क भएका छन् ।

मालपोत र यातायात व्यवस्था बिभाग त एउटा उदाहरणमात्र हुन् । बाँकेका अधिकांश सरकारी अड्डाको पारा लगभग उस्तै हो ।राजश्व, मालपोत, नापी, कार्यालयदेखी प्रहरी रिपोर्ट बनाउने ठाउँसम्मै यस्ता बिचौलिया पाइलैपिच्छे भेटिन थालेका छन् । काम गरिदिन्छन् र त्यसवापत मिलेसम्म धेरै पैसा लिन्छन् । सरकारी अड्डामा बिचौलियाको बर्चस्व छ ।

यी अधिकांश अड्डामा प्राय १७–१८ देखि २५–२६ बर्ष आसपासका युवा पुस्ता सेवाग्राहीसँग बार्गेनिङ गरिरहेका भेटिन्छन् । स्कुल, कलेज धाउनुपर्ने उमेर समूहका मान्छे दैनिकजसो सरकारी अड्डा धाइरहेका छन् । बिहानै अड्डातिर जाने, दिनभरि दलाली गर्ने, बेलुका फर्कने उनीहरूको दिनचर्या बनेको छ । सृजनात्मक काम गर्नुपर्ने, समाजोपयोगी श्रममा ध्यान दिनुपर्ने युवा पुस्ताका झरझराउँदा तन्नेरीको ठूलो सँख्या यस्तो दलालीमा मग्न रहेको देखिन्छ ।

बेरोजगारी, सरकारी अड्डाको अव्यवस्थापन र सस्तो पैसाको आकर्षणले यसरी विचौलियाको संख्या बढिरहेको जानकार प्रकाश उपाध्याय बताउँछन् । केही दिनअघि मालपोत कार्यालयमा एक बिचौलियाले गुनासो पोखेका थिए, ‘पढे गुनेको छैन । पहिलेदेखी नै यहीकाम गरियो, अरु गर्न सिप छैन ।’ यो प्रतिनिधि गुनासो मात्र हो । रोजगारीको समस्याले युवापुस्ता आक्रान्त भएको उनी बताउँछन् ।

बिचौलियाले पहिल्यै सेवाग्राहीबाट पैसा लिएको हुन्छ र कर्मचारीसँग सेटिङ मिलाएको हुन्छ । त्यसैकारण, बिचौलियालाई काम सुम्पेका ग्राहकले लाइन बस्ने, किचकिच गर्ने र घन्टौँ बिताउनुपर्ने झन्झट गर्नुपर्ने मालपोतमा भेटिएका सेवाग्राही बसन्त अधिकारी बताउँछन् । सरकारी अड्डामा अक्सर ‘फाष्ट ट्रयाक’ अहिले गजबै सुनिने शब्द बनेको उनले बताए ।

कडा नियमन गरेर हरेक कार्यालयले आफ्नो व्यवस्थापन चुस्त बनाए बिचौलिया विस्थापित हुने मालपोत कार्यालयका प्रमुख प्रेम दौत्याल बताउँछन् । पहिले बिचौलिया प्रथा निर्मुल पार्न सरकारले ईच्छा शक्ति देखाउनुपर्ने उनी बताउँछन् । सरकारी अडडामा बिचौलियाको काम गरिरहेका युवालाई रोजगारी दिने योजना बनाउनु आबश्यक रहेको उनको सुझाव छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार १२:०६