बाँके । प्रदेशको नामाकरण र यसको स्थायी राजधानी तोक्ने विषयमा वहस भइरहँदा बाँकेबासीले बुटवलबाहेक पायक पर्ने ठाउँमा राजधानी हुनुपर्ने एजेण्डा अघि सारेका छन् । यदि त्यसो नभए बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिलाउनुपर्ने उनीहरू बताउँछन् ।
प्रदेशको राजधानी र नामाकरणसहित थप राय सुझाव लिन प्रदेश नम्बर ५ को संसदीय समितिले आज बाँकेमा उनीहरूले बुटवलबाहेक पश्चिम राजापुरदेखि नवलपरासीलाई पायक पर्ने ठाउँमा राजधानी तोकिनुपर्ने बताएका छन् । अहिले प्रदेश संरचनाप्रति बाँके र बर्दियाका बहुसंख्यक सर्वसाधरण असन्तुष्ट छन् ।
अझ त्यसमा पनि प्रदेशको नामाकरण के हुने र राजधानी कहाँ हुने भन्ने विषयलाई यहाँ निकै चासोपूर्वक हेरिएको छ । पश्चिम नेपालकै ब्यापारिक तथा औद्योगिक क्षेत्र बाँके र बर्दियालाई प्रदेश पाँचमा राख्नु वैज्ञानिक दृष्टिकोणले उपयुक्त नभएको उनीहरूको भनाई छ । नेपालगन्ज–१ का समाजसेवी तर्कबहादुर क्षेत्रीले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउनुपर्ने माग गरे ।
प्रदेश पाँचको स्थायी राजधानी र यसको नामाकरणका लागि यहाँ आएको प्रदेश संसदीय टोलीसँग उनले भने, ‘हामीलाई प्रदेश पाँचमा राखिँदा उल्टो भयो ।’ बुटवल राजधानी भए हरेक दृष्टिकोणले अप्ठेरो र असहज हुने हुँदा कर्णाली प्रदेशमा राख्नुपर्ने उनको तर्क छ ।
पत्रकार कमल न्यौपानेले भने, ‘बाँके र बर्दिया प्राकृतिक, साँस्कृतिक, धार्मिक, सामाजिक र भौगोलिक हिसाबले कर्णाली प्रदेशसँग नजिक छ ।’ यो जिल्ला दुई कर्णाली र प्रदेश ७ को नाका भएकाले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउँदा यसक्षेत्रको समृद्धि सम्भव भएको न्यौपानेले बताए ।
प्रदेशको संरचना निर्माणका क्रममा देखिएको त्रुटिले बाँके र बर्दियालाई प्रदेश पाँचमा राख्दा यी जिल्ला ओझेलमा पर्नुका साथै अस्तित्व संकटमा पर्ने पत्रकार न्यौपानेको भनाई छ । बर्दियाका युवा विद्यार्थी नेता नारायण गौतमले भने, ‘हामी प्रशासनिक सेवा लिन जाँदा बुटवल धाउँदा यहाँका जनतका लागि सहज हुँदैन ।’
सबै कुरामा सम्पन्न बाँकेमै प्रदेश राजधानी तोक्दै यसको नामाकरण गर्नुपर्छ यदि त्यसो हुन नसके बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउनुको विकल्प नभएको उनको भनाई छ । कर्णाली तथा सुदूरपश्चिम प्रदेशका नागरिकका लागि आधारभूत आवश्यकता पुरा गर्न उनीहरू बाँके र बर्दिया नै धाउने हुँदा यी दुई जिल्लालाई कर्णाली प्रदेशमा समाहित गर्न बाँकेबासीको माग छ ।
‘हामीलाई सरकारले विभेद गरेको छ । प्रदेश संरचनाको डिजाईन नै गलत छ । यसरी बाँके र बर्दियाले प्रदेश पाँचबाट लाभ लिनै सक्दैन,’ नेपालगन्जका ब्यापारी कैयुम खानले भने, ‘हाम्रा सवै ब्यापारहरू सुर्खेत, दैलेख, अछाम, कालिकोट लगायतका जिल्लामा छ । त्यसक्षेत्रका जनतासँग हामी प्रत्यक्ष जोडिएका छौं । सबै कुराले कर्णाली प्रदेशमै गाभिनु उपयुक्त हुन्छ ।’
संसदीय समितिलाई विकासका लागि नागरिक सरकोकार समिति बाँकेले नेपालगन्जलाई राजधानी बनाउनुपर्ने आधारसहित आफ्नो सुझाव दिँदै सो समितिका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले पश्चिम नेपालकै ब्यापारिक, औद्योगिक नगर नेपालगन्जलाई भौगोलिक, वैज्ञानिक, सामाजिक तथा आर्थिक हिसाबले उपयुक्त भएकाले बाँकेलाई नै राजधानी तोकिनुपर्ने बताए ।
सत्यपाटी - ।