मालपोत कार्यालय रसुवाले विद्युतीय प्रविधिमा नागरिक बडापत्र जारी गरेको छ । कार्यालयका सूचना अधिकारी एलना थापाका अनुसार कार्यालयको कार्यशैली, सेवाग्राहीले सेवा लिन आउँदा टोकनअनुसार पर्खनुपर्ने समय, सेवा लिनका लागि चाहिने प्रमाण कागजात, जग्गाको स्वामित्व अदलबदल, रजिष्ट्रेशन पारित र नामसारी, जग्गा दर्तासमेतका विषयमा नियमानुसार लाग्ने शुल्कसमेतका विविध पक्षमा सेवाग्राहीलाई विद्युतीय प्रणालीमार्फत नागरिक बडापत्रबाट पारदर्शिता गराइएको हो ।
विद्युतीय प्रणालीको नागरिक बडापत्र अवलोकनका लागि प्रतीक्षालयमा टेबल, कुर्सी तथा सोफा राख्ने कार्यसमेत पूरा भइसकेको सूचना अधिकारी थापाले जानकारी दिनुभयो । नागरिकलाई आफ्ना सेवा प्रवाहको सुसूचित गराउन मालपोत कार्यालयले गरेको प्रयासप्रति सेवाग्राहीले स्वागत गर्दै सङ्घीताको भावनानुरूप सुशासनको दिशाबोध वढ्दै गएको बताएका छन् ।
मालपोत गतिविधिका साथसाथै नागरिकले सेवा लिने निकायमा रसुवा जिल्लाका पाँच वटै गाउँपालिकाका गतिविधि, विकासनिर्माणका जानकारी एवं लाङटाङ राष्ट्रिय निकुञ्जको जैविक विविधता संरक्षणमूलक वृत्तचित्रसमेत देखाउन सकेमा संरक्षणमा समेत चेतनाको विकास हुने नागरिक समाजले जनाएको छ ।
यस्तै सबै बालबालिलाई पठनपाठनमा बढी सरीक गराउने, सूर्तीजन्य पदार्थ र मदिरा सेवन नगर्ने, रोगको लक्षण देख्नासाथ स्वास्थ केन्द्र जाने जस्ता विषयसमेत एकीकृत रूपमा समावेश गर्न सकिए थप प्रभावकारी हुने सेवाग्राहीले बताएका छन् ।
(रासस)
।