सूचनाको शक्ति - The Power Of Information

        

अन्यौलमा राष्ट्रिय खेलकूद, चिन्तित खेलाडी

बाँके । बाँकेको नेपालगन्जलाई केन्द्रमा राखेर आयोजना हुन लागेको आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताले बाँकेबासीलाई खुसी तुल्याएको छ । बाँकेबासीसँगै खेलाडी र खेलप्रेमीहरु प्रतियोगिताको व्यग्र प्रतिक्षामा छन् । खेलक्षेत्रमै क्रियाशिल खेलाडीका लागि यो महाकुम्भ हो । जसले आफ्नो नामसँगै दाम पनि कमाउन चाहेका छन् ।

प्रतियोगिताको मिति पटकपटक सारिँदा खेलप्रेमी र खेलाडीहरु भने यतिबेला निराश बनेका छन् । ‘हामीहरुको यो उत्साह र जाँगरमा अंकुश लगाउने काम भएको छ । पटक–पटक मिति सार्दा खेल क्षेत्रमा आफ्नो क्षमता प्रस्फुटन गर्नबाट बन्देज गराएको जस्तो आभास हामीलाई भइरहेको छ । हामी खेलक्षेत्रमै आफ्नो भविष्य बनाउन चाहन्छौं,’ एक जना खेलाडीले भने ।

पटकपटक मिति सारिरहँदा निराश भएका खेलाडीहरुको एउटै आग्रह छ, समयमै प्रतियोगिता सञ्चालन होस् । लामो समयदेखि प्रतियोगिताका लागि तयारी गरिरहेका खेलाडीहरु प्रतियोगिताको मिति अन्यौल हुँदा मेहनत खेर गइरहेको बताउँछन् । तोकिएको मितिमा प्रतियोगिता नहुनु, पटकपटक मिति सारेर अन्यौल हुँदा खेलाडी र खेलक्षेत्रप्रति आयोजकले वेवास्ता गरेको खेलप्रेमी दिपक हमाल बताउँछन् ।

उनी भन्छन्, ‘खेलाडीलाई अवसर चाहिएको छ, त्यसतर्फ सम्वद्धले चासो नदिँदा समस्या भएको छ ।’ पटकपटक मिति सारेर आयोजकले खेलाडीलाई दुख दिन नहुने उनको तर्क छ । प्रतियोगिता सञ्चालन गर्ने खेल मैदान र अन्य भौतिक संरचनाहरु समयमै निर्माण सम्पन्न नहुँदा खेलाडीहरु त्यसको मार परेका छन् । तोकिएको समयमा भौतिक पूर्वाधारहरु नबन्नु र प्रतियोगिताको मिति नतोकिनुले खेलाडीहरु अन्यौलमा छन् ।

यसअघि मंसिर २५ गतेदेखि आयोजना हुने भनिएको प्रतियोगिता भौतिक संरचना र बजेट निकासा नभएको भन्दै परिषद्को बोर्ड बैठकले आगामी माघ २५ देखि फागुन ३ गतेसम्म गर्ने निर्णय गरेको थियो । सो मितिमा पनि प्रतियोगिता हुन नसक्दा अन्यौलता सिर्जना भएको छ । सचिवालय नै स्थापना गरेर काम सुरु गरेको राष्ट्रिय खेलकूद परिषदले यस बर्ष प्रतियोगिता हुनेमा आशंका बढेर गएको छ । राष्ट्रिय गौरवको प्रतियोगिताको मिति नै अन्यौलमा राखेर खेलाडीलाई हौसला प्रदान गर्नुपर्नेमा मनोबल कमजोर बनाउन नहुने खेलप्रेमी श्याम गिरीको तर्क छ ।

प्रदेश ५ खेलकूद विकास समितिका अध्यक्ष भीम वलीले भने यसैबर्ष प्रतियोगिता सञ्चालन हुने दावी गरे । उनले भने, ‘पूर्वाधारको काम अन्तिम चरणमा छ । यसै बर्ष प्रतियोगिता सम्पन्न हुन्छ ।’ रंगशाला परिसरमै पौडी पोखरी, भारोत्तोलन, सुटिङ रेञ्ज निर्माण, कभर्डहल मर्मत अन्तिम चरणमा रहेको उनले बताए । खजुरामा भलिबल र कोहलपुरमा क्रिकेट मैदानको काम पनि अन्तिम चरणमा पुगेको छ ।

अभ्यास गर्न मैदान अभाव

विभिन्न खेलहरुको संगमस्थल नेपालगन्ज रंगशालामा यतिवेला पुनःनिर्माणको कार्य भइरहेको छ । प्रतियोगितालाई लक्षित गरी रंगशाला पुनःनिर्माणसँगै यसको क्षमतामा विकास गरिँदैछ । तर प्रतियोगिताको मिति नतोकिँदा यहाँका खेलाडी तथा प्रशिक्षकहरु चिन्तित बन्नेका छन् भने दैनिक हुने खेल अभ्यासमा खेलाडीहरुलाई मैदान अभाव भएको छ ।

रंगशाला पुनःनिर्माण भइरहेकाले खेलाडीहरुलाई अभ्यासका लागि ठाँउ छैन । लामो समयदेखि निर्माण कार्य भइरहेकाले जुडो, तेक्वान्दो, कुस्ती, दौड लगायत खेलका खेलाडीलाई खेल मैदान अभाव भएको छ । प्रतियोगिता भइहाले अभ्यासविनै खेल खेल्नुपर्दा भनेअनुरुप नतिजा प्राप्त गर्न नसकिने खेलप्रेमीहरुको ठहर छ । प्रतियोगितामा समावेश हुने ३७ वटा खेलमध्ये १७ वटा खेल बाँकेमा हुनेछन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतवार १५:३६