सूचनाको शक्ति - The Power Of Information

        

‘सभागृह र प्रदर्शनी स्थल’लाई ठगी खाने भाँडो बनाउँदै नेपालगन्ज उद्योग वाणिज्य संघ

नेपालगन्जमा प्रादेशिक महोत्सव

बाँके । नेपालगन्ज उद्योग वाणिज्य संघले अन्तर्राष्ट्रिय स्तरको सभागृह र प्रदर्शनी स्थल बनाउने भन्दै हरेक बर्ष महोत्सव आयोजना गरिरहेको छ । सभागृह बनाउने नाममा अहिलेसम्म चार वटा महोत्सव सम्पन्न भइसके, अहिलेसम्म कति रकम जम्मा भएको छ भन्नेबारे उद्योग वाणिज्य संघले हिसाबकिताब सार्वजनीक गर्न सकेको छैन । नत सभागृह बनाउने जग्गाको टुंगो नै लगाउन सकेको छ ।

हरेक बर्ष नागरिकलाई झुक्याउँदै महोत्सव आयोजना गरिरहेको संघले यसबर्ष पनि सभागृह र प्रदर्शनीस्थल सहयोगार्थ भन्दै प्रादेशिक महोत्सव–२०७५ आयोजना गर्दैछ । संघले सभागृह र प्रदर्शनीस्थल बनाउने योजनालाई ठगीखाने भाँडो बनाएको भन्दै व्यवसायीहरुले नै अन्तुष्टि व्यक्त गरेका छन् । सफल नै नहुने प्रोजेक्ट अघि सारेर त्यसैको नाममा जनताबाट पैसा उठाउने कार्य वैधानिक ठगीको अस्त्र भएको आम नागरिकको बुझाई छ ।

नेपालगन्ज–१, धम्बोझी निवासी कृष्णबहादुर खड्काले भने, ‘सभागृह भन्दै रकम उठाउने र हिनामिना गर्दा स्थानीय प्रशासन मुकदर्शक बन्नु हाँस्यास्पद हो । संघको आर्थिक हिनामिनामाथि स्थानीय प्रशासनले तत्काल चासो देखाउनुपर्छ ।’ सधैं महोत्सव आयोजा गर्ने र त्यसको हिसाबकिताब सार्वजनीक नगर्नु ठगी गरेको ठहरिने व्यवसायीहरुको टिप्पणी छ ।

संघका पूर्वअध्यक्ष दामोदर आचार्यको पालामा सभागृह र प्रदर्शनीस्थल बनाउनका लागि सरकारबाट १० विघा जमिन नेपालगन्ज उद्योग वाणिज्य संघले प्राप्त गरेको थियो । सरकारसँग भएको सम्झौता अनुरुप सभागृह र प्रर्दशनीस्थल निर्माण कार्य व्यवसायीक प्रयोजनका लागि नहुने उल्लेख भएकाले पनि यो प्रोजेक्ट सफल नहुने व्यवसायीहरुको दाबी छ ।

सभागृह र प्रदर्शनीस्थलका नाममा मेला लगाउँदै जनताबाट पैसा उठाएर संघले आफूखुसी गर्दा त्यसले भोलि कानुनी झमेला निम्त्याउन सक्ने हुँदाहुँदै पनि संघको वर्तमान नेतृत्वले गत बर्षको महोत्सवमा उठेको रकमको हिसाबकिताब अहिलेसम्म सार्वजनीक गर्न सकेको छैन । ‘एक बर्षअघि भएको महोत्सवको आयव्यय सार्वजनिक गरिएको छैन,’ नेपालगन्जका एक व्यवसायीले भने, ‘सभागृह भन्दै हरेक बर्ष मेला लगाउने र कमाउने धन्दा भइरहेको छ ।’

अघिल्लो बर्षको आयव्यय नै सार्वजनीक नगरेर फेरि महोत्सव आयोजना गरेपछि नेपालगन्जका उद्योगी व्यवसायीसमेत उद्योग वाणिज्य संघको नेतृत्वप्रति सन्तुष्ट देखिएका छैनन् । महोत्सव अवधिमा जिम्मा लिएका पदाधिकारीले नै अपारदर्शी तरिकाले खर्च गरेका कारण खर्च विवरण सार्वजनीक गर्न समस्या भइरहेको उद्योग वाणिज्य संघ स्रोतले भन्यो ।

नारा सभागृहको दिएर कमाउधन्दामा लागेको वर्तमान नेतृत्वले यसपटक पनि उही शैलीमा महोत्सव आयोजना गरेको छ । संघका वर्तमान अध्यक्ष नन्दलाल बैश्यले गतवर्ष सञ्चालन गरिएको महोत्सवको हिसाबकिताब सार्वजनीक गर्न नमानेपछि ठूलै रकम हिनामिना भएको आशंका उद्योगी, व्यवसायीहरुले गरेका छन् । वर्तमान कार्यसमितिभित्रै पनि हिसाबकिताब सार्वजनीक नभएपछि असन्तुष्टि देखिएको छ । यति हुँदाहुँदै पनि यसपटक पनि सभागृहकै नारा दिएर पुनः महोत्सव गर्न लागिएको छ ।

बहुउद्देश्यीय सभागृह बनाउने नारा दिएर नेपालगन्ज उद्योग वाणिज्य संघले गतवर्ष महोत्सव सञ्चालन गर्यो । महोत्सव सुरु हुनुअघि वर्तमान अध्यक्ष वैश्यले महोत्सव सकिएलगत्तै पत्रकार सम्मेलन गरी आम्दानी खर्च सार्वजनीक गर्ने प्रतिवद्धतासमेत गरेका थिए । तर उनले आफैले गरेको प्रतिवद्धता पुरा नगरेर हालसम्म पनि हिसाबकिताब सार्वजनीक गर्न नसक्नुले गत वर्षको महोत्सवमा संघको नेतृत्वले नागरिकबाट उठेको रकमको हिनामिना गरेको व्यवसायीहरुको ठहर छ ।

तत्कालिन समयमा करिब ३५ करोड रुपैयाँमा सभागृह र प्रदर्शनीस्थल निर्माण हुने अनुमान गरिएको थियो । अहिलेसम्म संघले सभागृह र प्रदर्शनीस्थल सहयोगार्थ भन्दै उद्योग वाणिज्य संघले आम नागरिकबाट रकम उठाइरहेको छ । तर कति रकम उठ्यो भन्नेबारे हिसाबकिताब सार्वजनीक गर्न सकेको छैन । ‘सहयोगार्थ भनेर नागरिकबाट पैसा उठाएपछि संघ जनताप्रति पनि जवाफदेही हुनुपर्छ । जुनसुकै नेतृत्व आए पनि संघलाई ठगी खाने भाँडो बनाउन मिल्दैन,’ नेपालगन्जका एक व्यवसायीले भने ।

अहिले पनि सभागृह र प्रदर्शनी स्थलको नाममा उठेको केही रकम संघको खातामा रहेको संघ स्रोतले जनाएको छ । तर यो रकम कहाँ–के भइरहेको छ अनि कस्तो अवस्थामा छ भन्ने आम नागरिकलाई भने जानकारी दिन उद्योग वाणिज्य संघ तयार छैन । सभागृह र प्रदर्शनीस्थल निर्माणका लागि भन्दै नागरिकसँग उठाएको रकम संघको नेतृत्वले हिनामिना गर्न नहुने नेपालगन्जबासीको भनाई छ ।

सभागृह र प्रदर्शनीस्थलका नाममा मेला लगाउँदै जनताबाट पैसा उठाएर संघले आफूखुसी गर्दा त्यसले भोलि कानुनी झमेला निम्त्याउन सक्ने हुँदाहुँदै पनि संघको वर्तमान नेतृत्वले गत बर्षको महोत्सवमा उठेको रकमको हिसाबकिताब अहिलेसम्म सार्वजनीक गर्न सकेको छैन ।

‘सहयोगबापत उठाइएको रकम सार्वजनीक सम्पत्ति भएकाले लेखा परिक्षण गरी सार्वजनीक गर्नुपर्छ,’ नेपालगन्ज–१८ का दिपक शाहीले भने, ‘उद्योग वाणिज्य संघ उद्योगी व्यापारीको मात्रै संस्था नभई सामाजिक संस्था पनि भएकाले आफ्नो हिसाबकिताब पारदर्शी गर्नै पर्छ । अहिलेसम्म उठेको रकम कहाँ र कुन अवस्थामा छ त्यसबारे सार्वजनिक गर्नुपर्ने दायित्व संघले बिर्सिनु हुँदैन ।’

त्यसो त महोत्सवको आयव्ययलाई ‘अपारदर्शी र आर्थिक नियमावली विपरित’ रहेको भन्दै कार्यसमिति भित्रै मतभेद छ । अरु नेतृत्वमा हुँदा पारदर्शीताको चर्को नारा लगाउने वर्तमान अध्यक्ष बैश्यले आफ्नो कार्यकालमा खर्च विवरण सार्वजनीक नगर्दा लाखौं रकम हिनामिना भएको उद्योगी, व्यवसायीहरुको आशंका छ । अध्यक्ष वैश्यले गत बर्ष सञ्चालित महोत्सवको नाफा ‘गाई मारेर गधा पोस्ने’ उपलब्धिका रुपमा प्रयोजन गरेको कार्यसमितिकै एक सदस्यहरुले बताउँदै आएका छन् ।

महोत्सवमार्फत ठुलै धनराशी संकलन हुने गरेको भन्दै व्यवसायीहरुले आर्थिक दुरुपयोग भएकोले हिसाबकिताब सार्वजनिक नगरेको आशंका गरेका छन् । आर्थिक चलखेल गर्नकै लागि लामो समयसम्म आयव्यय सार्वजनिक नगरिएको हो कि भन्ने शंका व्यवसायीमा बढदै गएको एक व्यवसायीले बताए । ‘लामो समयसम्म आयव्यय सार्वजनिक नहुनु तथा कारणबारे पनि जानकारी नदिइनुलाई सामान्यरूपमा लिन सकिन्न,’ उनले भने ।

महोत्सव प्रयोजनका लागि समितिले गरेको खर्च अपारदर्शी भएकै कारण नेतृत्वबाटै यसलाई गुमनाम पार्ने प्रपन्च भइरहेको व्यवसायीहरुको भनाई छ । स्रोतका अनुसार राम्रो कामका लागि भनेर गरिएको महोत्सवको आयव्यय लामो समयसम्म सार्वजनिक नगर्नुले आम नेपालगन्जबासी तथा यहाँका व्यवसायीमा आशंका जन्माएको छ । आयव्यय सार्वजनीक गर्न संघको नेतृत्वले ध्यान दिन सकेको छैन । बरु उल्टै यसलाई गुमनाम बनाउने प्रपन्च गरिरहेको छ ।

‘उद्योग वाणिज्य संघको नेतृत्वप्रति प्रायोजक तथा सहयोगी असन्तुष्ट बनेका छन्,’ नाम नबताउने शर्तमा एक व्यवसायीले भने, ‘सभागृहलाई भजाएर अहिले पनि उद्योग वाणिज्य संघले महोत्सव आयोजना गरेको छ । तर सभागृह बन्ने सम्भावना देखिँदैन ।’ संघले आयव्यव सार्वजनीक गर्न वास्ता नगरेरै पुनः महोत्सव आयोजना गरेपछि संघभित्रकै केही सदस्यका साथै यहाँका व्यवसायीहरु आक्रोशित छन् ।

बहुउद्देश्यीय सभागृह निर्माणका लागि अघिल्लो वर्ष आयोजना गरिएको महोत्सवको आम्दानी सार्वजनिक नगरेर संघले त्यही नाममा प्रदेशस्तरीय अर्को महोत्सव फागुन १६ देखि २६ गतेसम्म महोत्सव आयोजना गर्दैछ । एक अर्ब खर्च लाग्ने अनुमान गरिएको सभागृह निर्माणको काम भने अहिलेसम्म टुंगो लागेको छैन । काँरकादोस्थित सडक डिभिजन कार्यालय परिसरमा निर्माण गर्ने भनिएको थियो ।

संघका अध्यक्ष नन्दलाल वैश्यले अघिल्लो बर्ष भएको महोत्सवबाट संघको बैंक खातामा झन्डै ३ करोड मौज्दात रहेको जानकारी दिए पनि महोत्सवको आम्दानी र खर्च विवरण भने सार्वजनीक गर्न सकेनन् । यस पटकको महोत्सवबाट करिब ५० लाख मुनाफा गर्ने लक्ष्य प्रस्तुत गरेका अध्यक्ष वैश्यले अघिल्लो वर्षको हिसाब भने एकीनरुपमा थाहा नभएको भन्दै टार्ने प्रयासस्वरुप गतवर्षको हिसाबकिताब एक–दुई पत्रकारलाई मात्र जानकारी दिएर सार्वजनिक गरेको बताउँदै आएका छन् ।

मेलाबाट संकलित रकम संघले विभिन्न डेलिगेशनका नाममा लाखौं रकम खर्च गरेको छ । तर उपलब्धी शून्य छ । गत वर्षको महोत्सव सुरु गर्नुअघि नै संघले आयोजना गरेको पत्रकार सम्मेलनमा महोत्सव सकिएपछि आयव्यय सर्वाजनिक गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म महोत्सवको हिसाबकिताब सार्वजनिक नगर्दा थप शंका उब्जिरहेका बेला अपारदर्शी देखिएको संघलाई स्थानीय प्रशासनले भने काखी च्यापी रहेको छ ।

सभागृह निर्माणको निहुँमा यसअघि लगाइएका महोत्सवको आर्थिक आयव्यय समेत सार्वजनिक गर्न नसक्दा चौतर्फी बदनाम कमाइरहेको संघलाई आगामी महोत्सवमा कडा सुरक्षा उपलब्ध गराउने भन्दै बाँके प्रशासनले काखी च्यापेको हो । तत्कालिन प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालादेखि अन्य मन्त्रीहरुलाई विभिन्न माग लिएर टोली नै भेट्न जाँदा यही सभागृह निमार्ण गर्ने भनि उठाइएको रकम नै डेलिगेशनका नाममा खर्च भएको संघका पदाधिकारीले जानकारी दिए ।

हरेक मेला महोत्सवबाट पारदर्शी तरिकाले रकम उठेको समेत हिसाबकिताब नराखिने गरेको र मेलामा खानपान, भोजभतेर, काठमाडौं बस्दा विभिन्न रमाइलो लगायतका विवरणमा हिसाब मिलान गर्दै बचेको रकम देखाइने गरेको संघका एक जना पूर्व पदाधिकारीले जानकारी दिए । आर्थिकरूपमा अपारदर्शी रहेको संघलाई बाँके प्रहरीको पनि उत्तिकै साथ रहेको देखिएको छ ।

त्यसो त यसअघि लगाइएका मेला, महोत्सवमा संकलित रकम कहाँ, कति र कसरी खर्च भयो र कसरी राखिएको छ भन्नेबारे अहिले पनि रकम प्रदान गर्ने दाताहरू समेतलाई जानकारी छैन । विगतको हरहिरसाब अस्तव्यस्त भएकै बेला संघले पुनः महोत्सव लगाउँदैछ । सभागृह निर्माणकै नाम भजाउँदै संघले आगामी महोत्सव गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतवार १४:२७