सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा हात्तीपाइले रोगको जोखिम उच्च, अझै १३ प्रतिशत बिरामी

बाँके । हात्तीपाइले रोग निवारणका लागि बाँकेमा नवौं चरणमा हात्तीपाइलेविरुद्वको आमऔषधि सेवन अभियानको तयारी थालिएको छ । यही १५ गतेदेखि नवौं चरणको अभियान अन्तरगत हात्तीपाइलेविरुद्व औषधि खुवाइने भएको छ । अभियान सञ्चालनको तयारी गरिरहँदा बाँकेमा अझै १३ प्रतिशत हात्तीपाइले रोगका विरामी रहेका छन् ।

यो अवस्थालाई हेर्दा बाँके जिल्ला अझै पनि हात्तीपाइले रोगको उच्च जोखिममा रहेको छ । हात्तीपाइले रोग निवारणका लागि बर्षेनि ठूलो रकम खर्च हुने गर्छ । तर बाँके जिल्ला अझै जोखिममै रहनुले अभियान प्रभावकारी नभएको देखिन्छ । २०६७ देखि सुरु गरिएको अभियानको पहिलो वर्ष ९१ प्रतिशतले हात्तीपाइलेको औषधि सेवन गरेकोमा पछिल्ला बर्षहरुमा यो संख्या घटेको जनस्वास्थ्यको तथ्यांक छ ।

तथ्यांकअनुसार औषधि खानेको प्रतिशत क्रमशः ५३, ६६, ७३, ७५, ६७, ७३ प्रतिशतमा खुम्चिएको छ । जनस्वास्थ्य कार्यालयले यसवर्ष सतप्रतिशतलाई औषधि खुवाउने तयारी गरेको छ । अभियान सुरु गर्दा ‘सावधानी’ अपनाउन नसकेकाले बाँकेवासीले हात्तीपाइलेको औषधि नै खान मान्दैनन् । अभियानको सुरुवातमा महिला स्वयंसेविकाले घर परिवार संख्या गनेर दिएको औषधि जथाभावी खाँदा धेरै जना बिरामी परेकाले औषधिले उल्टो असर गरेको बुझेर औषधि खानेको संख्या कम हुँदै गएको छ ।

देशभरका ६१ जिल्लामा थालिएको अभियानमा अझै १५ जिल्लामा जारी नै रहेको छ । प्रदेश नं. ५ को बाँके र दाङमा नवौं, बर्दियामा आठौं र कपिलबस्तुमा ११ औं चरणको अभियान शुरु हुँदैछ । अभियान शुरु भएको ६ वर्षपछि २०७२ मा सर्वे गर्दा हात्तीपाइलेका रोगी १६ प्रतिशतमा झरेको थियो । त्यसपछि २०७४ कात्तिकमा सर्वे गर्दा हात्तीपाइलेको रोगी १३ प्रतिशत देखियो । त्यसबेला कोहलपुरको रझेना, नेपालगन्जको वडा नं. ४ र बैजापुरमा सर्वे गरिएको थियो । रझेनामा ३२४ जनाको परीक्षण गर्दा ७२ जनामा हात्तीपाइले भेटिएको थियो ।

नेपालगन्जमा ३०० जनाको नमुना जाँच गर्दा २५ जनामा हात्तीपाइले भेटिएको थियो । बैजापुरमा ३१६ जनाको नमुना जाँच्दा १७ जनामा हात्तीपाइले भेटिएको थियो । हात्तीपाइलेका जिवाणु प्रवेश गरेपछि मानिसमा अण्डकोष सुन्निने, हात, स्तन, गुप्ताङ् सुन्निने हात्तीको जस्ता पाइला हुन्छन् । लामखुट्टे हुने स्थानमा हात्तीपाइले रोगको संक्रमण हुने भन्दै स्वास्थ्य स्वास्थ्य अधिकृत सरोज शाहले भने, ‘हात्तीपाइले रोगविरुद्धको औषधि सेवनले कसैको पनि मृत्यु नहुने बिषयमा ब्यापक प्रचार गर्नु आवश्यक छ ।’

मानिसहरुलाई नडराइ औषधि सेवन गर्न जनस्वास्थ्यले आग्रह गरेको छ । स्वस्थ रहनका लागि निर्धक्क भएर औषधि सेवन गर्न उनले आग्रह गर्दै भने, ‘हरेक दिन कोही न कोही मानिसको मृत्यु भइरहेको हुन्छ, यस्ता घटनालाई अभियानसँग जोडेर भ्रामक प्रचार गर्नुहुँदैन ।’ उनले अभियान सञ्चालनका क्रममा सभ्य र शिक्षित व्यक्तिले औषधि खान नमानेको स्मरण गर्दै अभियानलाई कडाइका साथ सञ्चालन गरिने बताए । सोचे अनुसारको नतिजा नआएपछि सरकारले बाँकेमा लगातार हात्तीपाइले रोगविरुद्धको अभियान चलाइरहेको छ ।

छैठौ पटकसम्म अभियान चलेपछि बिरामीको संख्या एक प्रतिशतभन्दा कम हुनुपर्ने भए पनि हात्तीपाइले अभियानमा बाँके ‘फेल’ भएको स्वास्थ्यकर्मीहरु बताउँछन् । सरकारले सन् २०२० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिए पनि हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्नेको संख्या कम हुँदै गएको छ । जसका कारण सरकारको लक्ष्य पुरा हुनेमा आशंका देखिएको छ । जनस्वास्थ्य कार्यालयले दुइबर्ष नपुगेका बालबालिका, गर्भवती, सातदिनसम्मकी सुत्केरी, दीर्घरोगी, ७० वर्ष भन्दा बढि उमेरका र २४ घण्टाभित्र ज्वरो आएका, कडा कुपोषण भएका ५ बर्ष मूनिका बालबालिकाहरुलाई औषधि सेवन नगर्न अनुरोध गरेको छ ।

३६८ स्वास्थ्यकर्मी परिचालन गरिँदै

यसअघि महिला स्वयंसेविकाले हात्तीपाइलेको औषधि खुवाउँदै आएकोमा रोगीको संख्या नघटेपछि यसबर्ष स्वास्थ्यकर्मीले औषधि खुवाउने भएका छन् । अभियान अन्तरगत बाँकेमा ३६८ जना स्वास्थ्यकर्मी परिचालन गरिने जनस्वास्थ्य कार्यालयले जनाएको छ । औषधि खुवाउन अहेव र अनमीहरुलाई परिचालन गर्ने र ७८९ जना महिला स्वयंसेविकाले उनीहरुलाई सहयोग गर्ने भएका छन् । यसअघि तीन दिनसम्म चल्दै आएको अभियान यसपटक १५ दिनसम्म सञ्चालन गरिने स्वास्थ्य अधिकृत शाहले बताए । स्वास्थ्य अधिकृत शाहका अनुसार स्थानीय तहले पाँचदेखि १५ दिनसम्म घरघरमा गएर औषधि खुवाउने रणनीति बनाइएको छ । पहिलो दिन १५ गते बुथमा औषधि खुवाउने र बाँकी १४ दिनसम्म घरघरमा गएर औषधि खुवाउने गरी तयारी भइरहेको शाहले जानकारी दिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतवार ११:५६