सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज महोत्सव : नाफा ‘गाई मारेर गधा पोस्ने !’

बाँके । बहुउद्देश्यीय सभागृह बनाउने नारा दिएर नेपालगन्ज उद्योग वाणिज्य संघले गतवर्ष महोत्सव सञ्चालन गर्यो । महोत्सव सुरु हुनुअघि पटकपटक पत्रकार सम्मेलनको आयोजना गरेको उद्योग वाणिव्य संघले महोत्सव सकिएपछि पत्रकार सम्मेलन गर्ने आँटसम्म गरेन । नारा सभागृहको दिएर कमाउधन्दामा लागेको वर्तमान नेतृत्वले यसपटक पनि उही शैलीमा महोत्सव आयोजना गरेको छ ।

संघका वर्तमान अध्यक्ष नन्दलाल बैश्यले गतवर्ष सञ्चालन गरिएको महोत्सवको हिसाबकिताब सार्वजनीक गर्न नमानेपछि ठूलै रकम हिनामिना भएको आशंका उद्योगी, व्यवसायीहरुले गरेका छन् । वर्तमान कार्यसमितिभित्रै पनि हिसाबकिताब सार्वजनीक नभएपछि असन्तुष्टि देखिएको छ । यति हुँदाहुँदै पनि यसपटक पनि सभागृहकै नारा दिएर पुनः महोत्सव गर्न लागिएको छ ।

महोत्सवको आयव्ययलाई ‘अपारदर्शी र आर्थिक नियमावली विपरित’ रहेको भन्दै कार्यसमितिमै मतभेद रहेको छ । आफु उपाध्यक्ष रहेका बैश्यले तत्कालिन अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले आर्थिक नियमावली विपरित महोत्सवमा खर्च गरेको लगायतका विभिन्न १२ बुँदे अभियोगपत्र सार्वजनिक गरेका थिए । उनै बैश्यले आफ्नो कार्यकालमा खर्च विवरण सार्वजनीक नगर्दा लाखौं रकम हिनामिना भएको उद्योगी, व्यवसायीहरुको आशंका छ ।

अध्यक्ष वैश्यले गत बर्ष सञ्चालित महोत्सवको नाफा ‘गाई मारेर गधा पोस्ने’ उपलब्धिका रुपमा प्रयोजन गरेको कार्यसमितिकै एक सदस्यले बताए । आर्थिक दुरुपयोग भएकोले हिसाबकिताब सार्वजनिक नगरिएको आशंकासमेत व्यक्त भइरहेको छ । महोत्सवमार्फत ठुलै धनराशी संकलन हुने गरेको भन्दै व्यवसायीहरुले हिसाबकिताब सार्वजनिक नगरेर भ्रष्टाचार भएको हुनसक्ने आशंका व्यक्त गरे ।

आर्थिक चलखेल गर्नकै लागि लामो समयसम्म आयव्यय सार्वजनिक नगरिएको हो कि भन्ने शंका व्यवसायीमा बढदै गएको एक व्यवसायीले बताए । ‘लामो समयसम्म आयव्यय सार्वजनिक नहुनु तथा कारणबारे पनि जानकारी नदिइनुलाई सामान्यरूपमा लिन सकिन्न,’ उनले भने । महोत्सव प्रयोजनका लागि समितिले गरेको खर्च अपारदर्शी भएकै कारण नेतृत्वबाटै यसलाई गुमनाम पार्ने प्रपन्च भइरहेको व्यवसायीहरुको भनाई छ ।

अध्यक्ष नन्दलाल वैश्यले गत बर्ष सञ्चालित महोत्सवको नाफा ‘गाई मारेर गधा पोस्ने’ उपलब्धिका रुपमा प्रयोजन गरेको कार्यसमितिकै एक सदस्यले बताए । आर्थिक दुरुपयोग भएकोले हिसाबकिताब सार्वजनिक नगरिएको आशंकासमेत व्यक्त भइरहेको छ ।

‘एक बर्षअघि भएको महोत्सवको आयव्यय सार्वजनिक गरिएको छैन,’ नेपालगन्जका एक व्यवसायीले भने, ‘सभागृह भन्दै हरेक बर्ष मेला लगाउने र कमाउने धन्दा भइरहेको छ ।’ अघिल्लो बर्षको आयव्यय नै सार्वजनीक नगरेर फेरि महोत्सव आयोजना गरेपछि नेपालगन्जका उद्योगी व्यवसायीसमेत उद्योग वाणिज्य संघको नेतृत्वप्रति सन्तुष्ट देखिएका छैनन् । महोत्सव अवधिमा जिम्मा लिएका पदाधिकारीले नै अपारदर्शी तरिकाले खर्च गरेका कारण खर्च विवरण सार्वजनीक गर्न समस्या भइरहेको उद्योग वाणिज्य संघ स्रोतले भन्यो ।

स्रोतका अनुसार राम्रो कामका लागि भनेर गरिएको महोत्सवको आयव्यय लामो समयसम्म सार्वजनिक नगर्नुले आम नेपालगन्जबासी तथा यहाँका व्यवसायीमा आशंका जन्माएको छ । आयव्यय सार्वजनीक गर्न संघको नेतृत्वले ध्यान दिन सकेको छैन । बरु उल्टै यसलाई गुमनाम बनाउने प्रपन्च गरिरहेको छ । ‘उद्योग वाणिज्य संघको नेतृत्वप्रति प्रायोजक तथा सहयोगी असन्तुष्ट बनेका छन्,’ नाम नबताउने शर्तमा एक व्यवसायीले भने, ‘सभागृहलाई भजाएर अहिले पनि उद्योग वाणिज्य संघले महोत्सव आयोजना गरेको छ । तर सभागृह बन्ने सम्भावना देखिँदैन ।’

संघले आयव्यव सार्वजनीक गर्न वास्ता नगरेरै पुनः महोत्सव आयोजना गरेपछि संघभित्रकै केही सदस्यका साथै यहाँका व्यवसायीहरु आक्रोशित छन् । बहुउद्देश्यीय सभागृह निर्माणका लागि अघिल्लो वर्ष आयोजना गरिएको महोत्सवको आम्दानी सार्वजनिक नगरेर संघले त्यही नाममा प्रदेशस्तरीय अर्को महोत्सव फागुन १६ देखि २६ गतेसम्म महोत्सव आयोजना गर्ने घोषणा गरेर तयारी थालिसकेको छ । अघिल्लो मेलाको मुख्य उद्देश्य पनि बहुउद्देश्यीय सभागृह निर्माण गर्ने थियो तर अहिलेसम्म आम्दानी र खर्च सार्वजनिक गरिएको छैन ।

सभागृह निर्माण गर्न एक अर्ब खर्च लाग्ने अनुमान गरिएको छ । सभागृहकै नाममा करिब पाँच वटा महोत्सव सम्पन्न भइसकेका छन् । काँरकादोस्थित सडक डिभिजन कार्यालय परिसरमा निर्माण गर्ने भनिएको बहुउद्देश्यीय सभागृह निर्माणको काम भने अहिलेसम्म टुंगो लागेको छैन । संघका अध्यक्ष नन्दलाल वैश्यले अघिल्लो बर्ष भएको महोत्सवबाट संघको बैंक खातामा झन्डै ३ करोड मौज्दात रहेको जानकारी दिए पनि महोत्सवको आम्दानी र खर्च विवरण भने सार्वजनीक गर्न सकेनन् ।

यस पटकको महोत्सवबाट हामी करिब ५० लाख मुनाफा गर्ने लक्ष्य प्रस्तुत गरेका अध्यक्ष वैश्यले अघिल्लो वर्षको हिसाब भने एकीनरुपमा थाहा नभएको भन्दै टार्ने प्रयास गरेका थिए । अध्यक्ष वैश्यले भने, ‘गत वर्षको आयव्यय कार्यसमितिले निर्णय गरी एक–दुई पत्रकारलाई मात्र जानकारी दिएर सार्वजनिक गरेको हो । सबैलाई बोलाएर जानकारी दिन सकिएन । एक–दुई जना आएर हिसाब लिएर समाचार लेख्नुभयो ।’

उनले यस बर्षको महोत्सवको मुख्य उद्देश्य पनि बहुउद्देश्यीय सभाहल निर्माण गर्ने नै भएको बताए । उनले भने, ‘महोत्सव व्यवसायिक जमघट बढाउनका लागि पनि आयोजना गर्न लागिएको हो ।’ सभागृह निर्माणको क्षेत्रमा देखिने गरी कुनै पनि काम हुन सकेको छैन । ‘हरेक वर्ष बहुउद्देश्यीय सभागहको नाममा मेला लगाउने र आयव्यय सार्वजनिक नगर्ने वर्तमान कार्यसमितिमै मत बाझिँएको छ । यस्तो प्रादेशिक महोत्सव गर्नु नेतृत्वको लाचारी हो,’ एक व्यावसायीले भने ।

मेलाबाट संकलित रकम संघले विभिन्न डेलिगेशनका नाममा लाखौं रकम खर्च गरेको छ । तर उपलब्धी शून्य छ । गत वर्षको महोत्सव सुरु गर्नुअघि नै संघले आयोजना गरेको पत्रकार सम्मेलनमा महोत्सव सकिएपछि आयव्यय सर्वाजनिक गर्ने प्रतिबद्धता जनाए पनि अहिलेसम्म महोत्सवको हिसाबकिताब सार्वजनिक नगर्दा थप शंका उब्जिरहेका बेला अपारदर्शी देखिएको संघलाई स्थानीय प्रशासनले भने काखी च्यापी रहेको छ ।

सभागृह निर्माणको निहुँमा यसअघि लगाइएका महोत्सवको आर्थिक आयव्यय समेत सार्वजनिक गर्न नसक्दा चौतर्फी बदनाम कमाइरहेको संघलाई आगामी महोत्सवमा कडा सुरक्षा उपलब्ध गराउने भन्दै बाँके प्रशासनले काखी च्यापेको हो । तत्कालिन प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालादेखि अन्य मन्त्रीहरुलाई विभिन्न माग लिएर टोली नै भेट्न जाँदा यही सभागृह निमार्ण गर्ने भनि उठाइएको रकम नै डेलिगेशनका नाममा खर्च भएको संघका पदाधिकारीले जानकारी दिए । सभागृहको मुद्दा तत्कालिन संघका अध्यक्ष दामोदर आचार्यले उठाएका हुन् ।

यही मुद्दामा टेकेर सुनील शर्मा, कृष्णप्रसाद श्रेष्ठ र नन्दलाल वैश्यले पटक–पटक मेला महोत्सव लगाउने र रकम संकलन गर्ने गरेका छन् । हरेक मेला महोत्सवबाट पारदर्शी तरिकाले रकम उठेको समेत हिसाबकिताब नराखिने गरेको र मेलामा खानपान, भोजभतेर, काठमाडौं बस्दा विभिन्न रमाइलो लगायतका विवरणमा हिसाब मिलान गर्दै बचेको रकम देखाइने गरेको संघका पूर्व पदाधिकारीले जानकारी दिए । आर्थिकरूपमा अपारदर्शी रहेको संघलाई बाँके प्रहरीको पनि उत्तिकै साथ रहेको देखिएको छ ।

संघले आर्थिक पारदर्शीता नदेखाएको समाचार बाहिरिएपछि उक्त समस्याको समाधान खोजीपछि मात्रै महोत्सव गर्न सुझाव दिनुपर्ने ठाउँमा उल्टै सुरक्षा प्रबन्ध कडा मिलाएर महोत्सव गर्न प्रेरित गरेको व्यवसायी नै बताउँछन् । संघ अपारदर्शी भएको र सभागृहको नाममा संकलित रकम दुरूपयोग भएको हुन सक्ने भन्दै सूचना सार्वजनिक हुँदाहुँदै पनि बाँके प्रशासनले संघमाथि छानबीन गर्न चासो देखाएको छैन,’ एक व्यवसायीले भने ‘यस्तो उदासीपनले त धेरै प्रश्नहरु जन्माउँछ ।’ स्मरणीय छ, सभागृहका लागि संकलन गरेको रकम अझै सार्वजनिक गर्न चासो देखाइएको छैन ।

यसअघि लगाइएका मेला, महोत्सवमा संकलित रकम कहाँ, कति र कसरी खर्च भयो र कसरी राखिएको छ भन्नेबारे अहिले पनि रकम प्रदान गर्ने दाताहरू समेतलाई जानकारी छैन । विगतको हरहिरसाब अस्तव्यस्त भएका बेला संघले पुनः महोत्सव लगाउँदैछ । सभागृह निर्माणकै नाम भजाउँदै संघले आगामी महोत्सव गर्ने तयारी गरेको छ । संघले यसअघि सञ्चालन गरेको मेला महोत्सवमा संकलित रकम पारदर्शी गर्ने विषयमा संघका अध्यक्ष वैश्यले हरहिसाब आफूहरुसँग तयार रहेको दावी गरे तर सार्वजनिक गर्न बाँकी रहेको बताए ।

सरकारले अपारदर्शी, अमितव्ययी निकायका कार्यक्रममा सरकारी निकायलाई सहभागीतामा रोक लगाएको छ । तर, बाँके जिल्ला प्रशासन र प्रहरी प्रशासनले अपारदर्शी संघको आगामी महोत्सवमा कडा सुरक्षाको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताएका छन् । यता, बाँके प्रशासन र प्रहरीले महोत्सवका समयमा देखिने असुरक्षालाई महसुस गरी आयोजकले सुरक्षा माग गरेअनुसार सो माग भएको अवधीमा सुरक्षाको व्यवस्था गर्ने बताएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार १७:५६