रमेश लम्साल । काठमाडौं । सन् २०१७ को डिसेम्बरसम्म राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति मात्रै २६ प्रतिशत थियो । आयोजनामा चिनियाँ ठेकेदार ‘नर्थवेष्ट सिभिल एभिएसन’ र स्थानीय सहायक ठेकेदारको बीचमा समन्वय थिएन । कामको गति कछुवाको जस्तै थियो । समस्या समाधानका लागि भएका पहलसमेत सकारात्मक हुनसकेको थिएन । निर्माण सामग्री उपलब्ध हुनसकेको थिएन । नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत प्रभावकारी समन्वय गर्न सकेको थिएन । आयोजना करीब करीब रुग्ण अवस्थामा पुगेको थियो ।
आयोजनालाई अगाडि बढाउने जिम्मेवार निकाय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पनि बेखबर अवस्थामा थियो । समन्वय गर्ने निकायको चासो थिएन । लगानीकर्ता एशियाली विकास बैंकलाई समेत आयोजनाको दुरवस्थाले पिरोलेको थियो । ठेकेदारको बेमेल परामर्शदाताको परामर्शको समेत सुनुवाइ नभएको अवस्थामा आयोजना सकिनसकी घस्रिरहेको अवस्थामा थियो । सन् २०१५ को जनवरीदेखि शुरु भएको आयोजना सन् २०१७ मा सक्ने लक्ष्य भए पनि तोकिएको समयमा काम भएन ।
चौध महीनापछि आयोजनाको अवस्था अर्कै भएको छ । कूल २६ प्रतिशत भौतिक प्रगतिमा रहेको आयोजना आज करीब ७० प्रतिशतको हाराहारीमा पुगेको छ । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा पारेर निर्माण भइरहेको विमानस्थलको दुखद अतित सुखद् वर्तमानमा परिणत भएको छ । आगामी भदौ महिनादेखि व्यावसायिक उडान गर्ने लक्ष्यका साथ निर्माणकार्य भइरहेको आयोजना प्रमुख प्रवेश अधिकारी सगौरव बताउँछन् । एकवर्ष भयो अधिकारीले आयोजनाको नेतृत्व सम्हालेको । त्यसअघि आयोजना प्रमुखका रुपमा ओम शर्मा थिए ।
शर्मालाई प्राधिकरणले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरेपछि अधिकारीलाई उक्त आयोजनाको जिम्मा दिइएको थियो । उमेरले ३३ वर्षीय अधिकारीले भने, ‘एक वर्षको बीचमा ठूलो प्रगति भएको छ । विमानस्थल बन्छ कि बन्दैन भनेर मडारिएको कालो बादल हटेको छ । जस्तो प्रगति भएको छ, यसमा म र मेरो समूह असाध्यै खुशी छ ।’ देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै समस्या आउने बित्तिकै हवाईजहाजलाई थाइल्याण्ड, कोलकत्ता, लखनऊ र नयाँदिल्ली ‘डाइभर्ट’ गर्नुपर्ने बाध्यता एकातिर थियो भने अर्कोतिर विमानस्थलको प्रगति नहुँदा सरोकारवाला निकायमा निराशा फैलिइरहेको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्रीको रुपमा रवीन्द्र अधिकारीले पदभार ग्रहण गरेपछि गौतमबुद्ध विमानस्थलाई जसरी भए पनि अगाडि बढाउने सोच बनाइयोे । ठेकेदारका समस्या समाधान गरियो, पैसाको उचित प्रबन्ध र व्यवस्थापन गरियो । प्राविधिक तथा अन्य समस्यासमेत निरुपण गरियो । फलस्वरुप यतिखेर विमानस्थल युद्धस्तरमा निर्माण भइरहेको हो । आयोजना प्रमुख अधिकारीका अनुसार आजका दिनसम्मको मूल्याङ्कन गर्ने हो भने ६७ प्रतिशत निर्माण सकिएको छ । विमानस्थलको धावनमार्गको तेस्रो चरणको कालोपत्र सकिएको छ । चौथो तहको कालोपत्र दुई दिनपछि शुरु हुँदैछ ।
कूल सात दशमलव पाँच इन्च मोटाइको चार तहको कालोपत्र सकिएपछि विमानस्थलको निर्माण करीब सकिन्छ । बढीमा २० दिनभित्र चौथो चरणको कालोपत्र सकेर बत्ती व्यवस्थापनलगायत काम गर्ने सोचमा आयोजना लागेको छ । ट्याक्सी पार्किङस्थल पिच गर्न ठिक्क पारिएको छ । टर्मिनल भवन निर्माण अन्तिम चरणमा पुगेको छ । यस्तै ‘कन्ट्रोल टावर’को कामसमेत अन्तिम चरणमा पुग्न लागेको छ । आयोजना प्रमुख अधिकारी बिहानदेखि साँझसम्म निरन्तर काममा खटिएका छन् । ठेकेदार, परामर्शदाता, प्राधिकरण सबैसँग समन्वयका साथ काम भएको छ । दैनिक चार सयभन्दा बढी मजदुरले नियमित रूपमा काम गरिरहेका छन् ।
समस्यामा फसेको आयोजना यो रुपमा यसरी अगाडि बढ्ला भन्ने धेरैलाई लागेको थिएन तर यतिखेर आयोजनाको प्रगति देखेर धेरैले भन्न थालेका छन्, इमान्दार भएर काम ग¥यो भने प्रगति देख्न जुगौं कुर्नुपर्दैन । हालैमात्र उपराष्ट्रपति नन्दबहादुर पुन, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालगायतले आयोजना निरीक्षण गरी समयमै काम सक्न आयोजना प्रमुख अधिकारीलाई हौँस्याएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीले त दैनिकजसो नै आयोजनाको प्रगतिका बारेमा जानकारी लिँदै आएका छन् ।
ठेकेदारले तोकिएअनुसार काम गरेका छन् । निकट भविष्यमै एउटा मात्रै विमानस्थल हुनाको पीडाबाट नेपालले मुक्ति पाउँदैछ । गौतमबुद्धको जन्मस्थल लुम्बिनीको काखमा अन्तर्राष्ट्रिय विमानस्थल तयार हुँदैछ । आयोजना प्रमुख अधिकारी भन्छन्, ‘अबको चार महीनामा अर्थात् आगामी असारमा विमानस्थल पूर्णरूपमा तयार हुन्छ । उडानका लागि केही प्राविधिक कामका लागि मात्रै थप समय लाग्न सक्ने देखिन्छ ।’ विद्युतीय उपकरण जडान तथा अन्य प्राविधि तयारीको मात्रा १८ प्रतिशत पुगेको छ । यस्तै नियन्त्रणकक्ष तथा अन्य उपकरणको मात्रा १४ प्रतिशतको हाराहारीमा पुगेको छ । यी सबै काम तोकिएको समयमा पूरा हुने क्रममा छ ।
सरकारले पछिल्लो पटक थप रु चार अर्ब रकम आयोजनाका लागि उपलब्ध गराएको थियो । आयोजना विस्तारका लागि भन्दै अर्थ मन्त्रालयले रकमान्तर गरेर उक्त परिमाणको रकम मुआब्जाका लागि उपलब्ध गराएको हो । जनशक्तिको कमी, समन्वयको अभाव तथा ठेकेदार र परामर्शदाताबीचको बेमेल अन्त्य गरेर विमानस्थल निर्माणमा खटिएका अधिकारीले भने, ‘हामी नियमित काममा छाँै, निर्माण नस्क्दासम्म सकियो भन्ने अवस्था त छैन तर जुन स्तरमा काम भइरहेको छ त्यसले एउटा सन्तोष भने प्रदान गरेको छ ।’ अधिकांश ठूला आयोजना समस्यामा परेकोे बेला सरकारको सकारात्मक प्रयासले उक्त विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेको छ ।
कूल ४५ मिटर चौडाइ र ३ हजार मिटर लामो धावनमार्ग पनि निर्माण भएको छ । हालैमात्र प्राधिकरणले नेपाल आयल निगमलाई साढे सात बिघा जग्गा हवाई इन्धन भण्डारणका लागि उपलब्ध गराएको छ । निगम प्रवक्ता वीरेन्द्र गोइतका अनुसार विमानस्थल सञ्चालनमा आउने तयारी भएपछि हवाई इन्धनका लागि उक्त जग्गा उपलब्ध गराइएको हो । आयोजनाको कूल लागत मूल्यअभिवृद्धि करसहित रु छ अर्ब २२ करोड ५१ लाख २० हजार ११८ छ । रासस
रमेश लम्साल - ।