सूचनाको शक्ति - The Power Of Information

        

भौतिक पूर्वाधार निर्माणमा तीव्रता

आठौँ राष्ट्रिय खेलकूद

नेपालगन्ज । नेपालगन्ज रङ्गशालामा खेलकूदका भौतिक पूर्वाधार निर्माणको कामलाई अहिले तीव्रता दिइएको छ । आगामी चैतको पहिलो सातादेखि हुने भनिएको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई दृष्टिगत गरी भौतिक पूर्वाधार निर्माणमा राष्ट्रिय खेलकूद परिषद् (राखेप) र क्षेत्रीय खेलकूद विकास समितिका पदाधिकारी रातदिन खटिएका छन् ।

रङ्गशालामा भइरहेको भौतिक पूर्वाधार निर्माणका कामको अवस्थाको मूल्याङ्कन गरेर मात्र राखेपले मिति तोक्ने जनाएको छ । त्यसैले चैतको पहिलो साता भनिए पनि ठ्याक्कै मिति भने नतोकिएको क्षेत्रीय खेलकूद विकास समिति प्रदेश नं ५ का अध्यक्ष भीम ओलीले बताए ।

मङ्सिरमै गर्ने भनिएको आठौँ राष्ट्रिय खेलकूद यसअघि बजेट निकासा समयमै नहुँदा, ठेकेदारद्वारा निर्माणमा भएको ढिलाइ, तेस्रो मुलुकबाट समयमा निर्माण सामग्री आइनपुग्नु र प्रतिकूल मौसमका कारण पर धकेलिएको हो । अहिले रङ्गशालास्थित कवर्डहलको स्तरोन्नतिको काम सकिएको छ ।

रङ्गशाला क्षेत्रको बाहिर रहेको कवर्डहलको छाना आधुनिक बनाइएको छ भने फ्लोरिङ गर्ने काम पनि सकिएको छ । रङ्गशालाको मुख्य खेलमैदानमा बङ्गलादेशबाट खरीद गरेर ल्याइएको बर्मुडा घाँस (दुबो) रोप्ने काम पनि सकिएको छ । गत माघको अन्तिम सातादेखि झण्डै एक सातासम्म पटकपटक पानी परेकाले निर्माणको काम केही प्रभावित भएको बताइएको छ ।

अध्यक्ष ओलीका अनुसार रङ्गशालामा झण्डै रु १८ करोडको लागतमा पौडीपोखरी र रु २४ करोडको लागतमा प्याराफिटसहितको अत्याधुनिक रङ्गशाला निर्माणको काम अहिले अन्तिम चरणमा पुगेको छ । रङ्गशाला क्षेत्रभित्रै भारोत्तोलन एकेडमी, सुटिङ रेन्ज निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

सुटिङका लागि आवश्यक एअरपेस्तोल र एअरगन खरीदको प्रक्रियासमेत अगाडि बढिसकेको क्षेत्रीय खेलकूद विकास समितिका उपाध्यक्ष नरेन्द्र थापाले बताए । यसैगरी, बाँकेको कोहलपुर क्रिकेट मैदान वरिपरि पर्खाल, दाङको बेलझुण्डीमा रु २५ करोडको लागतमा रङ्गशाला र बर्दियाको गुलरिया तथा ठाकुरद्वारामा खेलमैदान र कवर्डहल मर्मत तथा निर्माणको काम पनि धमाधम भइरहेको बताइएको छ ।

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि बर्दिया राष्ट्रिय निकुञ्जको पहिचान झल्किने गरी हात्तीको छावालाई मष्कटका रुपमा पारित गरिएको छ । केही समयअघि खेलकूदमन्त्री एवं प्रतियोगिता मूल आयोजक समितिका अध्यक्ष जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बसेको समितिको बैठकले अहिलेसम्म पूर्वाधार निर्माणको कामको समीक्षासमेत गरेको थियो ।

प्रतियोगिता समयमै आयोजना गर्न सङ्घीय, प्रदेश नं ५ र त्यसअन्तर्गतका स्थानीय सरकारसँग क्षेत्रीय खेलकूद विकास समितिले सबैखाले सहयोग, सहकार्य र अपनत्व ग्रहण गर्न पटकपटक आग्रह गर्दै आएको छ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा ३५ खेलमा करीब पाँच हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने क्षेत्रीय अध्यक्ष ओलीले जानकारी दिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार १६:०५