दमौली । गण्डकी प्रदेश सरकारले शुरु गरेको ‘मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ’का लागि तनहुँका चार गाउँ छनोट गरेको छ । प्रत्येक निर्वाचन क्षेत्रमा एउटा नमूना कृषि गाउँ निर्माण गर्ने उद्देश्यबमोजिम तनहुँको भानु, भिमाद, शुक्लागण्डकी नगरपालिका र आँबुखैरेनी गाउँपालिकाका चार गाउँलाई नमूना कृषिगाउँका रुपमा छनोट गरिएको गण्डकी प्रदेश भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठका अनुसार जिल्लास्तरमा गठित नमूना कृषिगाउँ छनोट समितिको सिफारिश बमोजिम भानु–११ स्थित बाँसखर्क, आँबुखैरेनी–४ स्थित भाँगे, शुक्लागण्डकी–९ र १२ स्थित भाटडाँडा तथा भिमाद–९ स्थित भानुमती गाउँलाई छनोट गरिएको हो । मन्त्रालयले तय गरेको कार्यविधि तथा मापदण्डका आधारमा सम्बन्धित प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुखसँगको परामर्शबाट छनोट गरी पठाइएका गाउँलाई मन्त्रालयको निर्देशक समितिको बैठकले अन्तिम रूप दिएको उनले जानकारी दिए ।
गाउँ छनोट गर्दा पर्यटकीय क्षेत्र भएका र कृषि पर्यटनको सम्भाव्यता भएका ठाउँलाई प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ । छनोट भएका गाउँको ५० घरधुरीबाट एक–एक सदस्य रहने गरी कृषि सहकारी वा समूहमार्फत त्यहाँको मौसम तथा हावापानी सुहाउने गरी पशुपालन, तरकारी खेती, कुखुरा, माछा तथा अन्य खाद्य तथा नगदेबाली उत्पादन गर्न सक्नेछन् । मन्त्रालयले गण्डकी प्रदेशका १८ निर्वाचन क्षेत्रका ३६ गाउँलाई नमूना कृषिगाउँका रुपमा छनोट गरेको छ ।
कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालयले चालू आर्थिक वर्षमा रु १० करोड ८० लाख बजेट विनियोजन गरेको छ । छनोट भएका प्रत्येक गाउँलाई पहिलो वर्ष रु ३० लाखका दरले अनुदान उपलब्ध गराउने र चौथो वर्षसम्म प्रत्येक वर्ष ५० प्रतिशत रकम घटाउँदै लगेर त्यसपछि स्थानीय तहलाई हस्तान्तरण गरिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
कार्यक्रम सञ्चालन गर्दा सहकारीले ज्ञान केन्द्र वा विज्ञ केन्द्र र एकाइको सहयोग लिई वातावरणमैत्री नमूना कृषिगाउँ स्थापनाका लागि जलवायु समानुकूलित प्रविधि, असल कृषि अभ्यास, पर्यावरणीय खेती, कृषि पर्यटन, दिगो कृषि यान्त्रीकीकरण, लैङ्गिक तथा सामाजिक समावेशीकरण, क्षमता विकास र सहसिकाइ कार्यक्रमको वार्षिक कार्ययोजना बनाउनुपर्ने शर्त राखिएको छ ।
।