सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश सांसद वलीको अन्तिम दाहसंस्कार

लमही । दाङ क्षेत्र नं ३ (ख)बाट निर्वा्चित प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको आज दाहसंस्कार गरिएको छ । सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका सांसद ओलीको हिजो शुक्रबार काठमाडौँको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

उनको दाङ दङ्गीशरण गाउँपालिका–६ बागरखोलामा अन्तिम दाहसंस्कार गरिएको हो । सांसद वलीको पार्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, प्रदेश नं–५ का मुख्यमन्त्री शङ्कर पोखरेल, प्रदेश नं–५ का सभामुख पूर्णबहादुर घर्तीलगायतका नेता, कार्यकर्ताले नेपालको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

त्यस अवसरमा शोक मन्तव्य व्यक्त गर्दै प्रदेश नं–५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले वलीको निधनले प्रदेश सरकारलाई ठूलो क्षति भएको बताए । उनले दाङको पश्चिम क्षेत्रको विकासका लागि खेलेको योगदान महत्वपूर्ण रहेको भन्दै वलीको निधनले प्रदेशको विकासमा समेत नोक्सान पुर्याउने बताए । प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले वलीको निधनले प्रदेशसभालाई ठूलो क्षति पुगेको बताए ।

गत माघ २४ गते घोराही–३ चिसापानी नजिकै सांसद वली सवार कार र बस ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका वलीको काठमाडौँको मेडिसिटी अस्पतालमा लगिएको थियो । दुर्घटनामा परी टाउको, खुट्टा र मुटुमा समेत गम्भीर चोट लागेको थियो । बुटवलबाट गृह जिल्ला दाङ आउँदै गरेको अवस्थामा घोराहीबाट लमहीतर्फ आउँदै गरेको ना ख ५५२९ नं को यात्रुबहाक बस र सांसद वली चढेको बा १८ च ६८३६ नं को कार एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

उनकी श्रीमती र दुई छोरा छन् । २०४१ सालमा जन्मिएका सांसद वलीको ३४ वर्षको उमेरमा निधन भएको हो । उनको पार्थिव शरीरलाई प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीलगायत मन्त्री तथा विभिन्न नेता तथा कार्यकर्ताले शुक्रबार केन्द्रीय कार्यालय काठमाडौँमा श्रद्धाञ्जली व्यक्त गरेका थिए । शुक्रबार नै हेलिकप्टरमार्फत उनको पार्थिव शरीरलाई गृह जिल्ला दाङ ल्याइएको हो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार १२:३४