सूचनाको शक्ति - The Power Of Information

        

राउटे किशोरकिशोरीलाई विहेको चिन्ता

बाँके । २५ बर्षिया विमला शाही राउटे समुदायकी सुन्दर युवतीमा पर्छिन् । राउटे बस्तीमा गएका अधिकांश गैरराउटेको नजर तिनै राउटे सुन्दरीमा पर्ने गर्छ । नयाँ मान्छेले नियाल्यो भने मन्द मुस्कुराउँछिन् । चिनजान नभएको व्यक्तिसँग हत्तपत्त नबोल्ने उनीहरुको संस्कार छ । नुहाईधुवाई गर्ने, कपाल कोर्ने सफाचट्ट पहिरनले गर्दा उनी सबैको नजरमा परेकी हुन् ।

नाडीभरि गिल्टीका चुरा र कानमा गिल्टीका बालीको पहिरहन छ । यो समुदायका महिला सुन, चाँदी गरगहना प्रयोग गर्दैनन् । यसो हेर्दा ति युवतीलाई कुनै चिजको अभाव छैन । अभाव छ त दुलाहाको । हँसिलो देखिने विमलालाई बेलाबेलामा निराशा छाउने गर्छ । विहेका लागि विमला अझै ८ वर्ष पर्खिनुपर्ने छ । तर, लगन कहिल्यै जुर्ने निश्चित छैन ।

उनीसँग जात मिल्ने र चल्ने रास्कोटी जातीका केटाहरुको कम उमेरका छ । विमला कल्याल जातकी युवती हुन् । कल्याल जातका राउटे युवामा विहे गर्नका लागि केटीका तछाडमछाड छ । रास्कोट जातका सानै उमेरका केटीलाई उनीहरुले अन्य केटा विहे नगरुन भनेर यो केटीलाई मैले मन पराएको छु भन्ने गर्छन् ।

एक जना मन पराएको केटी अन्यले मन पराउन यो समुदायमा बन्देज छ । कल्याल जातका १२ जना युवक चार जना युवती अझै अविवाहित छन् । केटी अभावले ३२ वर्षीय राउटे युवा प्रकाश शाही सात वर्षअघि लौकी शाहीसँग विवाह वन्धनमा बाँधिए । दाङमा मन पराएका प्रकाशले सल्यानको सल्लीपाखामा विवाह गरे ।

उनले भने, ‘कोही अरु केटा मनपराई हाल्छ की भनेर मैले मन पराएको छु भनेपछि विहे भयो । राउटेको गैरराउटेसँग विहेवारी हुँदैन । राउटे समुदायमा तीन जाती रहेका छन् । कल्याल, रास्कोटी र समाल । समाल जातीका राउटेको संख्या न्यून छ । राउटे बस्तीमा कल्याल जातीको संख्या सबैभन्दा बढी छ । रास्कोटी जातीमा केटा र केटीको संख्या न्यून रहेकाले कल्याल जातीमा युवा र युवतीले अविवाहित बस्नु परेको हो ।

राउटे युवती विमला र वापिलामात्र होइन । महामुखिया महिनबहादुर शाहीका छोरा शिवराज शाही, विरबहादुर शाहीका छोरा कपील शाही, दिपक शाही, कलम शाही र प्रेमबहादुर शाहीलाई पनि विहेको चिन्ताले सताउने गरेको छ । ‘हामीले आफ्नो जातीमा विहे गदैनौं । रास्कोटी जातीमा विहे गर्ने केटी सानो छ, अनि विहे कसरी गर्नु ?’ शिवराज शाहीले दुखेसो पोखे ।

‘३५ वर्षमा मेरो दाई नारायणले ११ वर्षीय मिहिन शाहीलाई विहे गर्नुभयो,’ उनले भने । छोराको विहे कहिले हुने भन्ने चिन्ता शिवराज शाही मात्र होइन उनका बाबु महिनबहादुर शाहीलाई पनि लाग्ने गरेको छ । ‘रास्कोटीमा कम उमेरका केटी छन्, छोराको उमेर छिपिसक्यो, विहेको टुङ्गो छैन,’ उनले दुखेसो पोखे । आफ्नै जातीमा विहे गर्ने हुँदा राउटे समुदायमा एउटा उखान खुबै चर्चा पाउने गरेको छ, ‘पानी खानी मुल विहे गर्नु कुलको ।’

रास्कोटी जातीमा केटा र केटीको अभावमा कल्याल जातीका उमेर पुगेका केटाकेटीले अविवाहित बस्नुपर्ने बाध्यता छ । उमेरले ३४ काटिसकेका शिवराजलाई बेलाबेलामा विवाह नहुने चिन्ताले पिरोल्ने गर्छ । ‘मलाई हरेक महोत्सव जाँदा विहे भयो कि नाई भनेर सोध्छन् । मेरो मन दुख्ने भएकाले सबैलाई भयो दुई छोराछोरी छन् भनेर उत्तर दिने गरेको छु,’ उनले भने । सुर्खेतको लेकवेशी नगरपालिका–१ रातेखोलामा बसोबास गरिरहेका राउटे समुदायको जनसंख्या १४९ रहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार १२:०५