सूचनाको शक्ति - The Power Of Information

        

हात्तीपाइलेविरुद्धको अभियान बाँकेमा ‘फेल’

बाँके । बाँकेमा नवौं चरणमा हात्तीपाइलेविरुद्वको आमऔषधि सेवन अभियानको तयारी थालिएको छ । यही १५ गतेदेखि नवौ चरणको अभियान अन्तरगत हात्तीपाइलेविरुद्व औषधि खुवाइने भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार आठौं पटकको अभियानसम्म करिब ८ प्रतिशतमात्रै हात्तीपाइलेका रोगी घटेका छन् ।

अभियान सञ्चालनअघि बाँकेमा हात्तीपाइलेका रोगी २०.८ प्रतिशत थिए । २०६७ सालदेखि बाँकेमा हात्तीपाइले रोगविरुद्धको अभियान चलिरहेको छ । सोचे अनुसारको नतिजा नआएपछि सरकारले बाँकेमा लगातार हात्तीपाइले रोगविरुद्धको अभियान चलाइरहेको छ । छैठौ पटकसम्म अभियान चलेपछि बिरामीको संख्या एक प्रतिशतभन्दा कम हुनुपर्ने भए पनि हात्तीपाइले अभियानमा बाँके ‘फेल’ भएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

सरकारले सन् २०२० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिए पनि हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्नेको संख्या कम हुँदै गएको छ । जसका कारण सरकारको लक्ष्य पुरा हुनेमा आशंका देखिएको छ । शुरुवातमा बाँकेका ९१ प्रतिशतले औषधि खाएको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांक छ ।

कार्यालयमा अनुसार औषधि खानेको प्रतिशत ५३, ६६, ७३, ७५, ६७, ७३ मा खुम्चिएको छ । अभियान सुरु गर्दा ‘सावधानी’ अपनाउन नसकेकाले बाँकेवासीले हात्तीपाइलेको औषधि नै खान मान्दैनन् । अभियानको सुरुवातमा महिला स्वयंसेविकाले घर परिवार संख्या गनेर दिएको औषधि जथाभावी खाँदा धेरै जना बिरामी परेकाले औषधिले उल्टो असर गरेको बुझेर औषधि खानेको संख्या कम हुँदै गएको छ ।

देशभरका ६१ जिल्लामा थालिएको अभियानमा अझै १५ जिल्लामा जारी नै रहेको छ । ५ नम्बर प्रदेशको बाँके र दाङमा नवौं, बर्दियामा आठौं र कपिलबस्तुमा ११ औंको चरणको अभियान शुरु हुँदैछ । अभियान शुरु भएको ६ वर्षपछि २०७२ मा सर्वे गर्दा हात्तीपाइलेका रोगी १६ प्रतिशतमा झरेको थियो । त्यसपछि २०७४ कात्तिकमा सर्वे गर्दा हात्तीपाइलेको रोगी १३ प्रतिशत देखियो ।

त्यसबेला कोहलपुरको रझेना, नेपालगन्जको वडा नं. ४ र बैजापुरमा सर्वे गरिएको थियो । रझेनामा ३२४ जनाको परीक्षण गर्दा ७२ जनामा हात्तीपाइले भेटिएको थियो । नेपालगन्जमा ३०० जनाको नमुना जाँच गर्दा २५ जनामा हात्तीपाइले भेटिएको थियो । बैजापुरमा ३१६ जनाको नमुना जाँच्दा१७ जनामा हात्तीपाइले भेटिएको थियो ।

यसअघि महिला स्वयंसेविकाले हात्तीपाइलेको औषधि खुवाउँदै आएकोमा रोगीको संख्या नघटेपछि यसबर्ष स्वास्थ्यकर्मीले औषधि खुवाउने भएका छन् । अभियान अन्तरगत बाँकेमा ३६८ जना स्वास्थ्यकर्मी परिचालन गरिने जनस्वास्थ्य कार्यालयले जनाएको छ । औषधि खुवाउन अहेव र अनमीहरुलाई परिचालन गर्ने र ७८९ जना महिला स्वयंसेविकाले उनीहरुलाई सहयोग गर्ने भएका छन् ।

यसअघि तीन दिनसम्म चल्दै आएको अभियान यसपटक १५ दिनसम्म सञ्चालन गरिने स्वास्थ्य अधिकृत सरोज शाहले बताए । स्वास्थ्य अधिकृत शाहका अनुसार स्थानीय तहले पाँचदेखि १५ दिनसम्म घरघरमा गएर औषधि खुवाउने रणनीति बनाइएको छ । पहिलो दिन १५ गते बुथमा औषधि खुवाउने र बाँकी १४ दिनसम्म घरघरमा गएर औषधि खुवाउने गरी तयारी भइरहेको शाहले जानकारी दिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार ११:२५